काठमाडौं, ३० असोज/ देशका विभिन्न स्थानमा ड्रग्स पार्टी हुने गरेको पाइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
ट्रान्स पार्टीका नामले चिनिने यस्ता पार्टी विभिन्न ठाउँमा पटक–पटक हुने गरेको छ । कन्सर्ट तथा सांस्कृतिक कार्यक्रमको नाम दिएर खुलेआम यस्ता पार्टी हुने गरेका छन् । तर, प्रहरीले यस्ता पार्टीतर्फ चासो दिन सकेको छैन । पोखराआसपासका होटेल तथा सिन्धुपाल्चोकको सुकुटेमा पटक–पटक यस्ता पार्टी हुने गरेको स्रोत बताउँछ । नेपालमा हरेक वर्ष यस्ता चार–पाँच ठूला पार्टी हुने गरेका छन् । सानातिना पार्टी भने ठमेलमा समेत हुने गरेका छन् ।
होटेलहरूकै मिलेमतोमा हुने ड्रग्स पार्टीबाट आयोजकले एकै दिन ४०–५० लाखसम्म कमाउने गरेका छन् । तर, पार्टी निकै गोप्य रूपमा आयोजना हुने गरेको छ । ‘यो कर्पोरेट क्राइम हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘कतिपय पर्यटक लागुऔषध सेवनकै लागि नेपाल आउने भएकाले पनि यस्ता पार्टी बढ्दै गएका छन् ।’
भाइबर, ह्वाट्स एपबाट गोप्य समूह बनाएर यस्ता पार्टीको मार्केटिङ हुने गरेको छ । सूचना चुहिने भएकाले अन्तिम समयमा मात्र स्थानबारे जानकारी दिने गरिन्छ । यस्ता पार्टी निरन्तर १८–२० घन्टासम्म चल्ने र लागुऔषधको नशामा युवायुवती अर्धचेत अवस्थामा हुन्छन् ।
सांस्कृतिक कार्यक्रम भनेर प्रहरीलाई झुक्याएर पटक–पटक यस्ता पार्टी हुने गरेको स्रोत बताउँछ । यस्ता पार्टीको सूचना पाउन पनि कठिन हुने प्रहरी अधिकारी बताउँछन् ।