0 COMMENTS

Kp-oliकाठमाडौं, २८ असोज । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयनका क्रममा औचित्यपूर्ण लागे आफ्नो पार्टीले संशोधन गर्न सघाउने बताएका छन् । सरकारले संविधान संशोधनको आधिकारिक प्रस्ताव एमालेसँग नल्याएको उनले जनाएका छन् ।

ओलीले प्रमुख दलबीच वार्ता र छलफल बिना एजेन्डा नै भइरहेकाले आफूले त्यसलाई वास्ता नगरेको पनि बताए । ‘संविधान संशोधनबारे प्रधानमन्त्री पुष्पकमल दाहालले मसँग केही प्रस्ताव राख्नुभएको छैन । आयो भने छलफल गर्छौं, राम्रो कुरा भए मान्छौं, नराम्रो कुरा सुनिँदैन,’ उनले भने ।

एमाले अध्यक्ष ओलीले २०७४ माघ ७ भित्र हुनैपर्ने तीन तहको चुनाव सम्पन्न नभए संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताएका छन् । उनले वर्तमान सरकारको प्राथमिकता तीनै तहको चुनाव गराउने हुनुपर्ने भए पनि त्यसतर्फ अघि नबढेको बताए ।

‘चुनाव गराउन कुनै संवैधानिक जटिलता देखिए संविधान संशोधन हुन पनि सक्छ । तर, त्यो औचित्यपूर्ण हुनुपर्छ । कसैलाई खुसी पार्न र बक्साउनकै लागि संशोधन गर्ने होइन,’ बालकोटस्थित निवासमा ओलीले कान्तिपुरसँग भने । उनले यो सरकारले चुनाव गराउनेमा आशंका व्यक्त गरेका छन् । ‘उहाँहरू (वर्तमान सत्तासमीकरण) को उद्देश्य फरक हो कि भन्ने शंका छ,’ उनले भने ।
ओलीले आफ्नो सरकारको मूल्यांकन, छिमेकी मुलुुकसँगको सम्बन्ध, वर्तमान सरकारका गतिविधिलगायतमा खुलेर प्रतिक्रिया जनाए । कांग्रेसले पहिले आफूहरूसँग गरेको सहमति तोडेको स्मरण गर्दै उनले सोही विन्दुमा टेकेर ‘चुँडिएको धागो जोड्न सकिने’ प्रतिक्रिया समेत दिए ।

‘कांग्रेसको स्वार्थ, गलत नीति र माओवादीको त विल्कुलै सत्ता स्वार्थले सहमतिमा प्रतिकूल असर पारेको हो,’ उनले सहमतिको सूत्र राख्दै भने, ‘राजनीतिलाई सही ठाउँमा ल्याउने हो भने जहाँ धागो टुटेको थियो, त्यहींबाट संवाद सुरु गर्नुपर्छ । हामी मिलेर जान तयार छौं ।’

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको कुरा गर्ने, तर कामचाहिँ त्यसविपरीत गर्ने गरेको आक्षेप पनि ओलीको थियो । छिमेकी भारतसँगको सम्बन्ध दाहाल सरकारका पालामा झन् बिग्रिएको दाबी उनले गरे ।

‘सम्बन्ध त बरु मेरै पालामा राम्रो थियो । अहिले अलि खच्पचिएको छ । जस्तो नेपालले आफ्नो स्वाभिमान कायम राख्नुपथ्र्यो, त्यो हुन सकेको छैन,’ ओलीले भने, ‘सरकार परिवर्तन हुनेबित्तिकै बिना विषय, एजेन्डा, खास स्थिति नै नभई विशेष दूत (दाहालले) पठाउनुभयो । के थियो र समस्या ? सम्बन्ध कहाँनिर बिग्रिएको थियो र उहाँले कहाँ सपार्नुभयो ? भन्नुपर्‍यो नि ।’ कान्तिपुर दैनिक ओलीको अन्तरवार्ता प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।