0 COMMENTS

jokh-bahadur-maharaकाठमाण्डाै, २४ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख स्वकीयसचिव जोखबहादुर महरा बिनाकाम अमेरिका भ्रमण गरेर फर्केको खुलासा भएको छ ।

महरा संयुक्त राष्ट्रसंघको ७१ औं महासभाको बहानामा असोज ३ देखि १२ गतेसम्म अमेरिका घुमेर फर्केका हुन् । मुलुकमा असहज राजनीतिक वातावरण कायम रहेका बेला लामो विदेश यात्रा उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले अन्तिम समयमा आएर अमेरिका यात्रा स्थगन गरेका थिए ।

प्रधानमन्त्रीसँगै जान महराको पनि भिसा लागेको थियो । प्रधानमन्त्री प्रचण्डसँगै पत्नि सीता, महरा, प्रधानमन्त्री पुत्रसमेत रहेका स्वकीयसचिव प्रकाश दाहाल तथा अगंरक्षकहरु नेपाली सेनाका कर्णेल पवन र नेपाल प्रहरीका डिएसपी दानबहादुर मल्ल अमेरिका जाने तयारी थियो ।

प्रधानमन्त्रीको भ्रमण रद्द भएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महत नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क गए । तर, प्रधानमन्त्रीको भ्रमण रोकिएपछि कुनै भूमिका नभएका महरा परराष्ट्रमन्त्रीसँगै अमेरिका हानिए । प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले महरालाई नजान भनेका थिए । यद्यपि घुम्न जाने भन्दै महरा अमेरिका उडेको बताइएको छ ।

के गरे अमेरिकामा महराले ?
महराको कुनै औपचारिक कार्यक्रम थिएन । परराष्ट्रमन्त्री प्रकाशशरण महत नै थिए मञ्चहरुमा नेपालका तर्फबाट भाग लिने । प्रधानमन्त्रीका पिए महरा परराष्ट्रमन्त्रीका पछिपछि दौडिए मात्र ।

भ्रमण टोलीका सदस्यमध्ये केहीले उनी प्रधानमन्त्रीका पिए कि, परराष्ट्रमन्त्रीका ? भन्ने समेत प्रश्न उठाए । महराको काम भ्रमण टोलीसँग हिंड्नु र साँझ पर्नासाथ मदिरामा जम्नुबाहेक थिएन । उनको मदिरा मोहबारे अमेरिकामा अझै पनि राम्रै चर्चा छ ।

बोल्न आग्रह गर्दा अस्वीकार
न्यूयोर्कस्थित नेपाली नियोगका अधिकारीले प्रधानमन्त्रीका स्वकीय सचिवका हैसियतमा यूएनका केही फोरममा बोल्न महरालाई आग्रह गरेका थिए । तर, उनले मानेनन् । स्रोतका अनुसार मुख्यसचिव सोमलाल सुवेदीले समेत स्पिचको कार्यक्रम राखिदिने प्रस्ताव गरेका थिए । महराले त्यसलाई पनि इन्कार गरे ।

‘म बोल्दिन, मेरो केही कुरा छैन, परराष्ट्रमन्त्रीले नै सबै बोल्नुहुन्छ’, दसैं मान्न नेपाल आएका नियोगका एक अधिकारीले उनको भनाइ उद्धृत गर्दै भने । मुख्यसचिवले महराको बिगोज देखेर एक दुईवटा भाषण गर्ने कार्यक्रम राखिदिन्छु भनेका थिए । पर्दैन भनेर टकटकिए ।

तर, सँगै गएका सिन्धुपाल्चोकका काँग्रेस सांसद मोहनबहादुर बस्नेतले भने कार्यक्रमहरुमा भाग लिए । नेपालको प्रतिनिधिका रुपमा अन्तर्राष्ट्रिय समुदायमाझ आफ्ना धारणा राखे ।

म प्रधानमन्त्रीको प्रतिनिधिमा रुपमा आएको हुँः महरा
महराको नेपाली टोलीको नेतृत्व गरेर गएका परराष्ट्रमन्त्री महतसँग पनि खासै कुराकानी भएन । परराष्ट्रमन्त्रीसँग उनले खासै छलफल, संवाद गरेको नदेखिएको भ्रमण टोलीमा सहभागी एक सांसदले बताए । ‘मुढ प्रेस गर्न अमेरिका घुम्न गएको मात्र गएको जस्तो देखियो’, ती सांसदले भने ।

तर, टोलीका सदस्यसामु भने उनले ठूलै गफ लडाए । आफू इच्छुक नभए पनि प्रधानमन्त्रीको विशेष आग्रहमा आएको दाबी गर्थे । उनले मदिरामा जमेका बेला आफूलाई प्रधानमन्त्रीको प्रतिनिधिसमेत भन्न भ्याए । जबकि प्रधानमन्त्रीको प्रतिनिधि पीए होइन, परराष्ट्रमन्त्री हुन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अन्तर्राष्ट्रिय फोरममा परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले खटाएको व्यक्ति मुलुकको प्रतिनिधि हुन्छ । ‘मलाई खासै आउन पनि थिएन, प्रधानमन्त्रीले धेरैपटक आग्रह गरेकाले आएको हुँ’, उनले भन्ने गरेका थिए । यता प्रधानमन्त्रीको सचिवालयकै धेरैले महराको अमेरिका मोहबारे आलोचना गर्ने गरेका छन् ।काठमाण्डाै टु डे,

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।