0 COMMENTS

imagesआज नेपाली हरूकाे महान चाड दशैँको नवौँ दिन शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ । घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने प्रचलन रहेको छ ।

नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । नवरात्रको अन्तिम दिन आदिशक्ति भगवतीमाता सिद्धिदातृ ,विजया वा अपराजिताको भक्तिपूर्वक पूजा गरिन्छ । गुह्यरुपमा समेत पूजा आराधना गर्न आह्वान गरिएकी देवीलाई दशैंको दशौं दिन विधिपूर्वक बिदा गरिन्छ । यस उपलक्ष्यमा दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने प्रचलन रहेको छ ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ । यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजाा र निशानपूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।
काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोल्ने गरिएको छ । त्यसैले तलेजु भवानीको दर्शन गर्न विहानैदेखि दर्शनार्थी भक्तजनहरुको घुइँचो लागेको छ ।
देवी विसर्जन गर्दा नवरात्रभर देवीपूजनमा प्रयुक्त टीका वितरण गरी निधारमा लगाउने र नौ दिनदेखि जमाइराखिएको जमरालाई सिद्धिको प्रसाद मानेर शिरमा लगाउने गरी देवी मन्दिर वा कोतघरमा बाँडिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।