राष्ट्रिय विभूति, किरात धर्मदर्शनका प्रथप्रदर्शक, अहिंसाका पूजारी, प्रवद्र्धक, मानव कल्याण र विश्व शान्तिका पक्षधर, सन्त, साधक तथा दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म बि.स. १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू, लिङदेन र आमा हंसमती लिम्बूको कोखबाट साइँलो छोरोका रुपमा भएको थियो । फाल्गुनन्दको न्वारान तथा जन्मदा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन हो । बाल्यकालमा बिरामी भएर थलिएपछि उहाँको हातमा फलामका चुरा लगाइए । यसो गर्नुको रुढीवादी तर्क फलामका चुरा लगाइदिए बिरामी बालक निको हुन्छ भन्ने थियो । दुवै हातमा फलामका चुरा लगाइदिएकै कारण उहाँको नाम फलामसिंह रहन गएको थियो । यहि नाम उहाँ बेलायती फौजमा भर्ती गएपछि फलामसिंबाट अपभ्रंश भएर फाल्गुनन्द बन्न पुग्यो ।
गुरुविहीन तथा स्कुल पढलेख नगरेका बालक बिमारी हुँदा एकरात गायब भए देवमाई र माईको संगम त्रिवेणी फु:ल्लुङ्गिमा परमेश्वरको दर्शन गरी आत्मसाक्षात्कार हुनुभएका बालकको आत्माबोधले आत्मा, अनात्मा, ज्ञानात्मा र परमात्माको महाज्ञान बोध भई सिद्धपुरुष भएपछि ईश्वरशक्तिका संवाहक बने ।
नाबालकमै त्रिकालज्ञ बनेका फलामसिं अदृश्य हुने, भविष्यका ज्ञान जान्ने, शान्त स्वभावका, साकाहारी, अहिंसाको नीति अवलम्बन गरी बिहान, दिउँसो, बेलुकी तीनै काल ध्यान गर्न थाले, ध्यान मन्त्र, तन्त्र, जन्त्र पाएका ध्यानीले लिम्बुवानी समाजमा अनौठो शुभ काम प्रारम्भ गरे ।
आफ्नो अवतरणको रहस्य ‘मेन्छाम्गेन नाम्याप्मीसा:’ मानव मात्रको मोक्ष गराउन किरातकुलमा जन्मावतरण भएको पूर्वजन्म नलराजा रानीको छोरा राजकुमार भएको गोप्य बताउने फलामसिं ज्ञानको प्रभावले फाल्गुनन्द कहलिए । किरात जनजातिमा शास्त्र मुन्धुम पढीवाची कर्म गर्ने चलन बसाई किरात साम्मिक वेद प्रतिपादन गर्दै जन्म, विवाह, मरण र इस्टदेवमा सेवा गर्ने विधि बसाले ।
७/७ स्थानमा मन्दिर निर्माण गरी १९८८/१/२४ गते लोब्रेकुटीमा ७ बुँदे सत्यधर्म मुचुल्का लिखित प्रथम धर्मसभा चुम्लुङ गर्दा राजद्रोही अभियोग लागि १ पटक धनकुटा गौंडा बडाहाकिममा र दोस्रोपल्ट काठमाडौं श्री ५ त्रीभुवनसामु खडा गराई नेलकडी लगाउँदा फूल र भेटी राजाको हातमा चढाउँदा नेलकडी खत्रक्क भुईंमा खसेको चर्तिकला दैवी शक्तिको परिणति थियो । देशद्रोही ठहराई फाँसीमा झुन्ड्याउने षड्यन्त्रको पर्दाफास स्वयं राजाबाट यस्तो हुकुम भयो ।
‘ए, तपाईं राजा नभएर धर्मराज पो रहेछौ । मेरो भेट्ने इच्छा आज पूरा भयो’ भन्दा फाल्गुनन्दबाट पनि राजासँग भेट्ने मेरो इच्छा पूर्ण भयो भनी उल्टै फर्कने खर्च दिई सम्मानसाथ बिदा दिइयो । चौबिसै घण्टा सत्यको मात्र बखान गरिरहने, घोप्टो चेप्टो परी उत्तर मोहडा पारी २/३ घण्टा मात्र सुत्ने, कहिलेकाहीं नखाने तर प्राय: १ छाक मात्र सात्विक भोजन खाने महाज्ञानी फाल्गुनन्दको उपदेश कसैले रुचाएनन् ।
छोरा र छोरीलाई समान पढाउने, रक्तबलि पूजा बन्द गर्ने, जाँड, रक्सी, मद, मंस, धूमपान निषेध गर्ने र सकेमा ब्रम्हचार्य संन्यास ब्रत रहने, सांसारिक जीवन धारण गरी एक विवाह, १/१ छोराछोरी मात्र जन्माई सुख, शान्ति र ऐसआरामले मनुष्य चोला बदल्न धर्म, कर्म, ध्यान, दान, शिक्षा, दिक्षा, जप, तप, साकाहार उहाँका मूल दर्शनहरू हुन् ।
जीवन पानीको थोपा हो पलपलमा फुट्न सक्छ । जीवन २ दिने चोला हो छिनछिनमा छुट्न सक्छ ।
देव विद्या, राज विद्या, ब्रम्ह विद्या र योग विद्याका ज्ञाता हुनाले उहाँलाई ब्रम्हज्ञानीमुनिहरूले किरातीका ब्रम्ह भन्थे भने किरातीले चाहिं फुस्रे साधु भनी हेला गर्थे । सत्य आगोमा डढाउँदा डढ्दैन, पानी, हावा केहीले नबगाउने नउढाउने अमरतत्त्वको गाथा किरात धर्मका भगवान् महान् ईश्वर अवतारले घुमीघुमी धर्मोपदेश नसुनिदिँदा अलापविलाप भई आँसु झारी निम्न वाणी गरे ।
शास्त्रीय ज्ञान, दर्शनको सार नबुझेका जनजातिहरूलाई उठाउन लिपि, भाषा, संस्कार, इतिहास, धर्म, वेशभूषा, गरगहना औ धर्मकर्म गर्ने सम्पूर्ण विधिविधान, पाण्डुलिपि सारा मुन्धुम निर्माण गर्ने दार्शनिकले २०/६० शास्त्रमध्ये निम्न मुन्धुम प्रमुख छन् ।
१) कुसाङ्सेमा: मुन्धुम, २) ताम्भूङ तेल्ला मुन्धुम, ३) साक्मुरा वादेम्मा मुन्धुम, ४) साम्पोक चोमेन मुन्धुम ५) थेबा युमा चे:सोक मुन्धुम ६) तेन्धाम मेक्खिम मुन्धुम, ७) साम्सामा मुन्धुम, ८) खाप्पु मरङनामा मुन्धुम यो अष्ट शास्त्र प्रमुख रूपमा र अरू देहायका ५ खण्डमा विद्यमान छन् ।
१) कर्मकाण्ड, २) ज्ञानकाण्ड, ३) उपदेशकाण्ड, ४) भविष्यवाणी, ५) लिपि काण्ड मानिसको जात मानिसै हो भनी ‘विश्व शान्ति र मानव एकता’ का पथप्रदर्शक, किरात धर्मदर्शनदाता, अखण्ड धुनी तथा अखण्डवातिका शान्तिदाता, यज्ञ, होम, अग्निधुनीबाटै सिद्धिशक्ति प्राप्त हुन्छ भन्ने ज्ञानका खानी मानव हितका पक्षमा शिक्षा र चेतना फैलाउने, कर्म र सोचका कारण मानिसले विभिन्न तहको जीवन निर्वाह गर्नुपर्ने तर्क दिने तथा वेद समेत किराती मुन्धुमबाट जन्मिएको दावी गर्ने महागुरु फाल्गुनन्दको वि.सं. २००५ साल चैत्र २२ गते पाँचथरको हाङयकमा देहावशान भएको थियो । नेपाल राष्ट्रले उहाँलाई वि.सं. २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेर उहाँको योगदानको कदर गरेको छ