0 COMMENTS

 असोज ६,भरतपुर/स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले बिहिबार भरतपुरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको दावी गरे ।

उनीहरुमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफलपछिको विभाजनले देखाउने भन्दै उनले आफू सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको बताए । आफू अहिले जिम्मेवार मन्त्री पदमा रहेको भन्दै उनले यस विषयमा अन्य सांसदले विषय उठान गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए ।

चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै मन्त्री थापाले यसको छानबिन गर्नुपर्ने बताए ।
छलफल गर्ने कुरामा नै डराउनु गलत भएको भन्दै उनले यस विषयलाई सर्वोच्च अदालतमा समेत छलफलको विषय बनेको बताए । मन्त्री थापाले सर्वोच्चले समेत सरकारलाई केही निर्देशन दिइसकेको भन्दै सरकारले त्यसको पालना गर्नुपर्ने उल्लेख गरे ।
पत्रकारको एक प्रश्नमा उनले तत्कालीन माओवादी लडाकुको शिविरको अनियमितताको विषय संवैधानिक निकायमा छलफलको विषय बनेकाले यस विषयमा छलफल हुनुपर्ने ठाउँमा छलफल हुने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा मन्त्री थापाले डा गोविन्द केसीका अधिकांश मागका सम्बन्धमा सरकार सकारात्मक रहेको बताए । उनले दिएकै समयमा माग पूरा हुन नसकेपनि चरणबद्धरुपमा माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भइसकेको, ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिइने, मनमोहन स्मृति प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय अगाडि बढेको, सातै प्रदेशमा एक–एकवटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएकाले संसद्को प्रक्रियाका कारण काममा ढिलाइ भएपनि माग पूरा हुने मन्त्री थापाको भनाई थियो ।

डा केसीले जुन विषय उठान गर्नुभएको छ त्यही सुधारका लागि आफू मन्त्री भएको भन्दै उनले डा. केसीका माग पूरा हुने बताए। लथालिङ्ग र भताभुङ्ग अवस्थामा स्वास्थ्य क्षेत्र रहेको भन्दै थापाले यसको सुधारका लागि तलदेखि माथिसम्म सुधार गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई सुधार्न सकिन्छ भन्ने सङ्कल्प बोकेर आफू आएको भन्दै उनले तीन महिनाभित्रमा नतिजा देखिन सुरु हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।