0 COMMENTS

 

४,असोज,काठमाण्डौं । ९ पुस २०५१ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेबारिसे अवस्थाम बरामत गरिएको १० केजी सुन र १५० केजी चाँदि तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकमानसिंह कार्कीलगायतविरुद्ध उजुरि दायर गरेको रहस्य खुलेको छ । तर हाल अख्तियार प्रमुख पदमा रहेका लोकमानले सो सुन काण्डलाई भुलेका छन् । कुनै छानबिन प्रकृया अगाडि बढाएका छैनन् ।

अब भने सर्वोच्च अदालतले त्यही सुनरचाँदि प्रकरणलाई जोडेर कार्कीको अयोग्यता र उच्च नैतिक चरित्र परिक्षण गर्न खोजेको छ । हङकङ–काठमाडौं उडानमा रहेको आरए–४१० जहाजबाट ल्याइएको १० केजी सुन र १५० केजी चाँदी विमानस्थलमा बेवारिसे फेला परे । तर उक्त उडानको यात्रु सूचिमै नभएका भवेन्द्रप्रसाद बुढाथोकीको नाममा उक्त सुन चाँदी ‘डिपोजिट’ गराइ छुटाइयो । सो समयमा प्रमुख लोकमानसिंह भन्सार विभाग प्रमुख थिए ।

प्रहरीको छानबिनपछि लोकमानसिंह कार्की (हाल प्रमुख आयुक्त, अख्तियार) लगायतविरुद्ध पुनरावेदन अदालत पाटनमा भ्रष्टाचार मुद्दा चलायो । अख्तियारले ‘सरकारका नाममा आम्दानी बाँध्नुपर्ने सुनरचाँदी आउँदै नआएको व्यक्तिसँग मिलोमतो गरी आफूसमेतले खाने मनसायले बदनियतपूर्ण निर्णय गरेको’ भन्दै लोकमानलाई कानून बमोजिम हदैसम्मको सजाय माग गर्‍यो ।

त्यो बेलाको प्रति तोला ८ हजार ४४३ रुपैयाँका दरले हिसाब गर्दा बरामद सुनको मूल्य ६० लाख ५३ हजार ८६६ रुपैयाँ हुन्थ्यो भने चाँदीको समेत जोड्दा ७३ लाख एक हजार ९३ रुपैयाँ हुन आउँथ्यो । अख्तियारले यसैलाई बिगो कायम गरेर प्रतिवादीहरुद्वारा भराइ सरकारी ढुकुटीमा जम्मा गर्न माग गरेको थियो ।

पुनरावेदन अदालत पाटनले बुढाथोकी र यादवबाट १०–१० लाख, काफ्लेबाट ५५ हजार र कार्कीबाट ४० हजार रुपैयाँ धरौटी वा जमानत लिई मुद्दाको पुर्पक्षको लागि तारेखमा राख्न र धरौटी वा जमानत दिन नसके थुनामा राख्न ‘थुनछेक आदेश’ दियो ।

४ साउन २०५४ मा पुनरावेदन अदालत पाटनका न्यायाधीश कोमलनाथ शर्माले बुढाथोकी र काफ्लेले कसूर गरेको तर लामिछाने र कार्कीले सफाइ पाउने फैसला गरे । फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो ।

पुनरावेदन निवेदनमा भनिएको थियो, ‘पुनरावेदन अदालत पाटनले मिसिल संलग्न तथ्यको अवहेलना गरी नेपाल आउँदै नआएको प्रमाणित भएका व्यक्ति भवेन्द्रप्रसाद बुढाथोकीलाई भ्रष्टाचार गरेको ठहर गर्ने तर भन्सार अधिकृतको टिप्पणीलाई सदर गर्ने महानिर्देशक लोकमानसिंह कार्की र नेपाल आएको प्रमाणित गर्ने अख्तियारै नपाएको यादव लामिछानेलाई सफाई दिने गरी भएको फैसला आत्मनिष्ट एवं गैरकानूनी भएको हुँदा उक्त फैसला बदर गरी शुरु अभियोग मागदावी बमोजिम कार्की तथा यादवको हकमा पनि ठहर गरी पाऊँ ।’

आफूहरुलाई दोषी ठहर गर्ने पुनरावेदन अदालतको फैसलाविरुद्ध भवेन्द्रप्रसाद बुढाथोकी र भगवतीकुमार काफ्लेले पनि सर्वोच्च अदालतमा पुनरावेदन गरे ।

१२ जेठ २०५६ मा प्रधानन्यायाधीश मोहनप्रसाद शर्मा र न्यायाधीश राजेन्द्रराज नांख्वाको इजलासले मुद्दाको फैसला गर्दै पुनरावेदन अदालत पाटनले दोषी ठहर्‍याएका बुढाथोकी र काफ्लेलाई सफाई दियो ।

सर्वोच्च अदालतमा लोकमानसिंह कार्की र यादव लामिछानेले अख्तियारको आरोप अनुसारको कसुर गरेका हुन् वा होइनन् भन्ने छलफल भने हुन पाएन । अदालत अख्तियारको पुनरावेदन निवेदनको तथ्यमै प्रवेश गर्न चाहेन ।

सरकारी मुद्दासम्बन्धी ऐन २०४९ बमोजिम पुनरावेदन अदालतको फैसला चित्त नबुझेमा सरकारी वकिलको कार्यालयमार्फत पुनरावेदन आउनुपर्नेमा अख्तियार आफैंले पुनरावेदन निवेदन दिएको भन्दै खारेज गरिदियो ।

फैसलामा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनरावेदनतर्फ विचार गरीरहन पर्ने अवस्था नहुँदा त्यस्तो पुनरावेदन खारेज हुने ठहर्छ ।’

सर्वोच्च अदालतको यो फैसलासमेत चित्त नबुझाएर अख्तियारले पुनरावलोकनको निवेदन दियो, तर सर्वोच्चले त्यो पनि सुनेन । यसरी ‘सरकारी आम्दानीमा राख्नुपर्ने करीब ७३ लाख रुपैयाँको सुनचाँदी आउँदै नआएको व्यक्तिसँग मिलोमतो गरी आफूसमेतले खाने मनसायले बदनियतपूर्ण निर्णय गरेको’ भनी लोकमानसिंह कार्कीलाई अख्तियारले लगाएको अभियोगको तथ्यमा सर्वोच्च अदालतमा छलफलै हुन पाएन ।
उक्त कार्यमा कार्कीको संलग्नता थियोरथिएन भन्ने कुरा सर्वोच्च अदालतमा परीक्षण नै हुन नपाई कुन सरकारी निकायमार्फत पुनरावेदन गर्नुपर्ने थियो भन्ने जस्तो विशुद्ध प्राविधिक कुरामा अडिएर कार्कीलाई अभियोगबाट उम्क्याइयो ।

र, अहिले पनि लोकमानसिंह कार्कीप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत धारणा उही छ, ‘सरकारी आम्दानीमा राख्नुपर्ने करीब ७३ लाख रुपैयाँको सुनचाँदी आउँदै नआएको व्यक्तिसँग मिलोमतो गरी आफूसमेतले खाने मनसायले बदनियतपूर्ण निर्णय गरेको ।’

झण्डै दुई दशक पुरानो यो प्रसंग अहिले फेरि सान्दर्भिक बनेको छ । किनभने उनै कार्की यतिबेला अख्तियार प्रमुख छन् । सर्वोच्च अदालतले अहिले उक्त पदका लागि चाहिने ‘उच्च नैतिक चरित्र’ कार्कीमा छ छैन, परीक्षण गर्न खोजेको छ ।श्रोत सामाग्रिः हिमाल खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।