काठमाडौं, २७ भदौ । माओवादी कोटाबाट दलजित श्रीपाली खेलकुद मन्त्री बनेका छन् । उनी खेलकुद मन्त्री भए पनि उनको काममा भने अरुले नै बढी चासो र हस्तक्षेप गर्ने गरेको चर्चा सिंहदरबारतिर चल्ने गरेको छ । खेलकुद मन्त्रालय छिर्ने जोकोही मन्त्रीको भन्दा पनि अरुको नै बढी चुरीफुरी देखेपछि मन्त्री को हुन् भनेर अन्योलमा पर्न थालेका छन् । मन्त्रालयमा हिजोआज मन्त्रीभन्दा अरु हाबी हुन थालेपछि भन्न थालिएको छ – खेलकुद मन्त्रालयमा शरीरले पुच्छर होइन, पुच्छरले शरीर हल्लाउन थाल्यो ।
श्रीपालीले आफ्नो काममा उनका स्वकीय सचिवलाई अगाडि सार्दा खेलकुदमा यस्तो अवस्था सिर्जना हुन पुगेको हो । खेलकुद मन्त्री श्रीपालीको प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेन्द्र विकले सम्हालिरहेका छन् । विक तीनमध्येका एक व्यक्ति हुन्, जसले माओवादीबाट केही वर्षअघि समाचार दैनिक नामक पत्रिका निकाल्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डसँग तीन करोड रुपैयाँ लगेर डुबाइदिएका थिए ।
उनीमाथि त्यतिबेला काम गर्ने भन्दा पनि सम्पादक पल्टिएर गफमात्रै चुटेर बस्ने गरेको आरोप लागेको थियो । माओवादी पार्टीबाट तीन करोड रुपैयाँ लगेर डुबाइदिएपछि उनी काठमाडौंबाटै पलायन भएका थिए । गाउँमा कुखरा पालन व्यवसाय गरेर बसेका विक आफ्नै नश्लका श्रीपाली मन्त्री बनेसँगै सुकिलो कोट लगाएर काठमाडौं छिरेका थिए । यिनै विकले पछिल्लो समय खेलकुदमा छाया मन्त्रीको भूमिका निर्वाह गर्न थालेपछि मन्त्रालयमा यिनले फेरि श्रीपाइली डुबाउने भए भन्दै चर्चा हुन थालेको छ ।
खेलकुद मन्त्रालय स्रोतका अनुसार, गाउँमा कुखुरा पालेर बसेका उनले हिजोआज ‘मन्त्री दलजीतले धेरै नपढेको र धेरै कुरा थाहा नपाएको’ भन्दै मन्त्रीले गर्ने काममा खुलेआम हस्तक्षेप गर्ने गरेका छन् । रोचक के छ भने उनले आफू निकटका माओवादी कार्यकर्ताहरुसँग ‘मन्त्रीले केही नजानेकाले आफूले नै छायाँ मन्त्रीका रुपमा मन्त्रालय चलाउनु परेको’ गफ दिने गरेका छन् ।
उनले खेलाडीहरुलाई समेत बोलाएर आफू मन्त्री बराबर भएको गफ चुट्ने गरेका छन् । प्राप्त समाचारअनुसार, खेलाडीहरुलाई खेलकुदका विभिन्न निकायहरुरमा नियुक्ति गर्ने भन्दै बार्गेनिङ समेत थालेका छन् । विकमाथि खेलकुदको सरुवा/बढुवामा समेत अनावश्यक चासो देखाएको आरोप लागेको छ । साँघु साप्ताहिकमा खबर छ ।