म १९ वर्षीया युवती हुँ। प्रेमसम्बन्धमा गाँसिएको तीन वर्षजति भयो। हालसालै आएर हामीबीच कन्डम नलगाई यौनसम्पर्क भयो। यौनसम्पर्कपछि मैले चक्की खाएँ, तर मेरो मिन्सको डेट कटेको तीन दिन भयो। कतै त्यो औषधीको कुनै प्रभाव नपरेको त होइन ? कतै त्यसले पछि नेगेटिभ प्रभाव पार्ने त होइनन् ?
यसभन्दा पहिले पनि तीन पटक यौनसम्पर्क भएको थियो, तर एकपटक उसले कन्डम प्रयोग गरेको थियो भने दुई पटकसम्म मैले पिल्स औषधी लिएकी थिएँ।मिन्स डेट कटेको त थियो, तर लास्ट टाइम पिल्स लिएको १५ मिनेटभित्रै यौनसम्पर्क भयो।
उसको वीर्य भित्रै खसेको थियो। कतै त्यो औषधीले कुनै प्रभाव नगर्ने त होइन ? अहिलेलाई काम गरे पनि भविष्यमा बाँझोपन हुने त होइन ?
यो प्रश्नको जवाफ कान्तिपुर साप्ताहिकमा डा. राजेन्द्र भद्राले यसरी दिएका छन्
प्रेमसम्बन्ध र आकर्षण
किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो, राम्रोसँग विचार पुर्याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना हुन्छ। किशोरावस्थामा रागरस (हार्मोन० को प्रभावका कारण शारीरिक मात्र नभै विपरीतलिङ्गीप्रति आकषिर्त हुनु, यौनभावनाको विकास हुनु, विपरीतलिङ्गीको समीप बस्न वा स्पर्श चाहनुजस्ता भावनात्मक (मानसिक० परिवर्तन पनि हुन्छन्। यो मानव विकाससम्बन्धी प्राकृतिक कुरा हो र मानवको वंशजको निरन्तरताका यसको लागि आवश्यकता पनि छ। किशोरावस्थामा विपरीतलिङ्गी व्यक्तिप्रति हुने आकर्षण जैविक स्थिति हो र यो अवस्थामा यस्ता आकर्षण बारम्बार पैदा हुन्छन्, तर यहाँनेर एउटा कुरा सोच्नु आवश्यक छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ।
प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र सम्बन्धित व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ।
विवाहपूर्व यौनसम्पर्क
तपाईंहरूबीच सहमतिमै यौनसम्बन्ध भएको देखिन्छ, तर सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन्। त्यसैले जोसमा होस गुमाउनु हुँदैन भनिएको हो। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। कतिपय स्थितिमा सम्बन्धको स्थायित्वको प्रश्न पनि हुन्छ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या त भोग्नुपर्ने स्थिति आउँछन् नै। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ भने अर्कातिर सम्बन्ध कति अन्तरङ्ग हुन दिने वा रोक्न उचित हुन्छ भन्ने कुरा विवेकपूर्ण रूपमा ठम्याउन पनि सकिँदैन। कतिपय स्थितिमा रोक्नुपर्छ भन्ने ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। सम्बन्धलाई अघि बढाई यौनसम्पर्क राख्ने कि नराख्ने भनेर सही निर्णय लिन सक्ने सीप हुनु नै मुख्य कुरा हो। यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक थिएन भने यौनसम्पर्क नै नगर्ने भन्ने निर्णय पनि लिन सक्नुपर्छ। तपाईंले प्रेमी त भन्नुभएको छ तर कतिपय स्थितिमा सम्बन्ध कति ‘प्रेममय’ थियो, ठम्याउन गाह्रो हुन्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा पर्ने सम्भावना हुन्छ।
गर्भनिरोध किन आवश्यक ?
यदि सक्नुहुन्छ भने अब यौनसम्पर्कको क्रमलाई रोकेर विवाहपछि मात्र यौनसम्पर्क राख्नु राम्रो हुन्छ, तर यौनसम्पर्क राख्न सुरु गरिसकेकाले त्यसलाई रोक्न गाह्रो हुनसक्छ। तपाईंलाइ रोक्न सक्दिनँ जस्तो लाग्छ भने यसलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा विचार पुर्याउनु आवश्यक हुन्छ। त्यसैले कुनै प्रभावकारी गर्भनिरोधको साधन प्रयोग गरे अनिच्छित गर्भबाट बच्न सकिन्छ। अनिच्छित गर्भबाट बच्नु भनेको प्रजनन स्वास्थ्यका कारणले मात्र होइन, तपाईंको अध्ययन अनि वृत्तिविकासका लागि पनि त्यति नै महत्त्वपूर्ण छ। कन्डम गर्भनिरोध तथा यौनरोगवाट बच्ने भरपर्दो उपाय हो भन्ने कुरा त तपाईंहरूले बुझ्नुभएकै होला।
औषधीले काम नगर्ला कि ?
तपाईंले कुन औषधी खानुभयो भन्ने कुरा पत्रमा उल्लेख छैन। त्यसैले त्यसले काम गर्ला कि नगर्ला, यसै भन्न सकिँदैन। अर्को कुरा, तपाइर्ंले गर्भनिरोधका लागि नियमित रूपमा खानुपर्ने औषधी नै खानुभएको भए पनि यौनसम्पर्क गर्दा मात्र एक चक्की खानु त्यसको प्रयाग गर्ने तरिका होइन। यसो गर्दा प्रभावकारिता हुँदैन। गर्भ निरोधको खाने चक्की नै तपाईंको रोजाइ हो भने त्यसलाई नियमित रूपमा खानुपर्छ।
कुनै कारणवश सुरक्षा उपाय अपनाउन नसकिएको स्थितिमा आकस्मिक गर्भनिरोध गर्न सकिन्छ। यसमा प्रयोग गरिने औषधी अन्य गर्भनिरोधका खाने चक्कीमा प्रयोग गरिने हार्मोन उस्तै भए पनि यसको प्रयोग गरिने तरिका भने फरक छ। यौनसम्पर्क भएको जति सक्यो चाँडो यसको पहिलो मात्रा लिनुपर्छ। पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिन० भित्र लिइसक्नुपर्छ।
अर्को मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ। यसरी १२ घण्टाको फरकमा दुईपटक औषधी लिए पुग्छ। त्यसैले दोस्रो मात्रा लिन सजिलो समयका बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ। यदि औषधी खाएको २ घण्टाभित्र बान्ता भए अर्को मात्रा औषधी थप्नुपर्छ। नीलोकन ह्वाइटको कुरा गर्ने हो भने एक मात्रा औषधी प्रयोग गर्दा यसको चार चक्की खानुपर्छ। औषधी खाएको दुई घण्टापछि बान्ता भए चिन्ता गर्नु पर्दैन। यो आकस्मिक उपायलाई नियमित रूपमा वा बारम्बार प्रयोग गर्न थालियो भने यसको प्रभावकारिता कम हुँदै जान्छ अर्थात् गर्भ रहन सक्ने सम्भावना बढ्छ।
यसले काम गर्यो कि गरेन भन्ने कुनै विशेष लक्षण तुरुन्तै देखिँदैन। त्यसैले महिनावारी समयमा भयो कि भएन ध्यान पुर्उाउनुपर्छ। कसैकसैमा महिनावारी २ वा ३ दिन अघिपछि हुन सक्छ। यदि महिनावारी हुनुपर्ने समयभन्दा एक सातासम्म ढिलो भएर पनि महिनावारी सुरु नभए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ। पहिले त गर्भ रहेको हो कि होइन, छुट्टयाउनुपर्छ। गर्भ नरहे नियमित रूपमा गर्भनिरोधको उपाय गर्नुपर्छ भने गर्भ रहेको स्थितिमा निरन्तरता दिने कि नदिने भन्ने निर्णय गर्नुपर्छ र त्यसैअनुरूप अघि बढ्नुपर्छ
कान्तिपुर साप्ताहिमा डा. भद्राको स्तम्भबाट साभार