0 COMMENTS

भक्तपुर, २४ भदौ/अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिङ्गेश्वर मन्दिर नजिकै रहेको ललितजङ्ग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतङ्कित भएको छ ।

भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएर राखेपछि यहाँका बासिन्दा आतङ्कित भएको स्थानीय प्रदीप कार्कीले जानकारी दिए ।

चितुवाले साँझ बिहान घरबाट ओहोरदोहोर गर्न र खेतबारीमा जानसमेत समस्या परेको बताउँदै कार्कीले भने, ‘बिहान घरको आँगनबाटै चितुवा हिँड्छ, दिउँसो बाँसको झाङ र मकैबारीमा चितुवा लुकेर बसेको देखिन्छ, खेतबारीमा काम गर्न र बच्चालाई स्कुल जानसमेत समस्या परिसक्यो ।’

स्थानीय ईश्वर बुढाथोकीले एकसातादेखि त्यस क्षेत्रमा चितुवा देखिन थालेको र पाँचदिनअघि थापाको घरमा चितुवाको बच्चा देखिएको बताए । घर वरिपरि नै चितुवा देखिन थालेपछि यहाँको बस्तीमा त्रास फैलिएको उनको भनाइ थियो ।

स्थानीयवासीले चितुवाका बच्चा देखेपछि प्रहरी र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले चितुवाले त्यही घरमा आएर बच्चा जन्माएको बताउँदै चितुवाले आतङ्कित पारेको उजुरी स्थानीयवासीबाट आइरहेको बताए ।

जिल्ला वन कार्यालयलाई यसबारे जानकारी गराएको र बच्चासहित चितुवालाई लैजान आग्रह गरेको उनले जानकारी दिए ।

जिल्ला वन कार्यालय भक्तपुरका निमित्त प्रमुख न्हुछेंकृष्ण श्रेष्ठले चितुवाको तीनवटा बच्चा फेला परे पनि चितुवा आसपासको झाडीमा लुकेर बसेकाले कसरी चितुवा समाउने भन्ने समस्या परेको बताए ।

उनले आजै वन विभाग र सदर चिडियाखाना गएर त्यससँग सम्बन्धित विज्ञलाई लगेर चितुवा समाउने प्रयास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।