काठमाडौं, २२ भदौ । ‘खानेपानी भन्ने पनि मन्त्रालय नै छ र ?’ परराष्ट्रमा डा.प्रकाशशरण महत बहाल भएपछि बधाई दिन पुगेका खानेपानी तथा सरसफाई सचिव डा.सञ्जय शर्माले यस्तो सोधाई पाएपछि जवाफ दिए, ‘छ हजुर, एउटा छ !’
यसरी सरकारका एकजना वरिष्ठ मन्त्रीलाई नै यो सरकारमातहत के के नामका मन्त्री र मन्त्रालय छन् भन्ने थाहा छैन । तर, अझै पनि मन्त्रिपरिषद् विस्तारको तयारी चल्दैछ । आफू भारतबाट फिर्नासाथ र पार्टी सभापति देउवा विदेशमै रहेको बेला गृहमन्त्री विमलेन्द्र निधीले प्रम पुष्पकमललाई सोध, ‘राज्यमन्त्रीको १० वटा नाम सभापतिज्यूबाट पास भएको छ । पठाइदिऊँ ?’
यस्तो प्रश्न सुन्नासाथ प्रचण्डले आत्तिँदै भने, ‘३१ त पुगिसक्यो ! अझै कति थप्ने ?’ प्रचण्ड मन्त्री थप्दै नथप्नेमा पनि छैनन् । निधीसँग उनको भनाई थियो, ‘३१ मा १० थप्दा ४१ पुग्छ । मिडियाले हामीलाई खेद्नुखेद्छ । यस्तो भएपछि विदेशीसँग भन्ने बाटो पनि हुँदैन । त्यसैले इन्डियाको सिध्याऔं (भ्रमण) । अनि गर्ने कि ?’
पुष्पकमल र निधीबीच यस्तो कुरा भएको खुलासा देउवा १८ गते सिंगापुरबाट फर्किएर बूढानीलकण्ठ पुगेपछि भएको हो । राज्यमन्त्रीका आकांक्षीहरुले घेरेपछि देउवाले भने, ‘(प्रचण्डले) इन्डियाबाट नआई गर्दिनँ भनेपछि मैले के भन्ने ?’ जनआस्था साप्ताहिकमा खबर छ ।