0 COMMENTS

tej  भाद्र १९,काठमाण्डाै/अाज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवाधिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवान् विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ ।

हरितालिका (तीज)का सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरियो नभई हरण गरिएको हुन आउने नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक श्रीराम सापकोटाले बताए।संस्कृत व्याकरणको ‘हृञ् हरणे’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘हरित’ शब्दको अर्थ हरण गरेको नै हुन आउने उनले बताए।

सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेका हुन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ” – उनले भने । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय बाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने अध्यक्ष गौतमको भनाइ छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनले जानकारी दिए। श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताए। “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवम् केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ” – उनले भने।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको पनि प्रा डा गौतमले बताउनुभयो । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि उनले जानकारी दिए।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई सङ्कुचित अर्थमा लिन नहुने पनि अध्यक्ष गौतमले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।

व्रत बसेका महिलाको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ । मन्दिर परिसरमै नाच गान गरी व्रतालु महिलाले रमाइलो गर्छन् ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।

पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए।यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।