0 COMMENTS

भदौ,१८ काठमाडौँ।नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शास्त्रीय रुपमा निराहार व्रत मात्र बस्ने विधान नरहेको बताउँछन् । “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ, भोलि निराहार व्रत बस्नु छ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा वर्तालुको स्वास्थ्यमा समस्या आउने गरेको छ, वेदमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्मालाई रक्षा गर भनिएको छ, नसक्नेले निराहार व्रत बस्नुपर्दैन”–उनले भने ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिलो प्राथमिकता शरीरलाई दिएर मात्र धर्म साधना गर भन्ने मान्यताका आधारमा पनि स्वास्थ्य खराब हुने गरी व्रत बस्न नभनिएको अध्यक्षको गौतमले बताए।

तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न उनले अनुरोध गरे । समग्र परिवार, विद्या, धन र बुद्धिका लागि व्रत गर्ने विधान छ । नारीले व्रत गर्न नसक्दा उनका श्रीमान्ले व्रत गर्ने प्राचीन परम्परालाई हेर्दा पनि समग्र परिवारकै लागि व्रत बस्ने परम्परा सुरु भएको बुझिन्छ ।

केही वर्षअघिदेखि तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गरेर संस्कृतिका नाममा विकृति सुरु भएको संस्कृतिका अध्यापक दिनेश थापा मगरले बताए । “प्राचीन ऋषि परम्पराअनुसार खोज अनुसन्धान गरी व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि उपयुक्त विषयलाई अघि बढाइएको थियो तर मानिसले पछि थपेका विकृतिले धर्मको वैज्ञानिक पक्षलाई पनि ओझेलमा पार्न थालेको छ”– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।