0 COMMENTS

काठमाडौँ ,१८ भदौ /पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ । मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी दिनुभयो । अब दर्शन गर्न आउने सबैले लाइन लाग्नुपर्ने भएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले करिब तीन हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि चाहिँदो सहयोग उपलब्ध गराउने बताउँदै महिला समुदायलाई त्यस दिन गरगहना नलगाउन आग्रह गरे ।

विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई लाइन लाग्नुनपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । यस कार्यका लागि कोषले करिब रु १६ लाख रकम विनियोजन गरेको छ भने त्यस क्षेत्रमा ४५ वटा सिसीक्यामेराको व्यवस्था गरेको छ । करिब तीन लाख भक्तजन आउने अनुमान गरिएको छ ।

मन्दिर क्षेत्रमा त्यस दिन कुनै पनि सामाजिक सङ्घसंस्थालाई स्वयम्सेवकका रुपमा गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । कोषले हरितालिकामा पशुपति मन्दिर तथा त्यस वरपर क्षेत्रका सर्वसाधारणलाई नियमित आवतजावतका लागि उपलब्ध गराउँदै आएको पासको व्यवस्थासमेत हटाएको छ । मन्दिरमा आउने सबैलाई सुरक्षाकर्मीले आवश्यक निर्देशन तथा सहयोग गरिनेछ ।

मित्रपार्क, उमाकुण्ड, कैलाश हुँदै रुद्रगाढेश्वरबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शनार्थी जयबागेश्वरी, भुवनेश्वरी हुँदै मन्दिर प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने छन् । गौशला, पिङ्गलास्थान, चार शिवालय, हुँदै मूल भट्ट निवासबाट बाहिरिने रुटको व्यवस्था गरिएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।