काठमाडौं, १६ भदौ । आज कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दू नेपालीहरुले आफ्ना बाबुलाई सम्झिएर तथा भेट्न सम्भव भएकाहरुले मिठो-मसिनो खुवाएर मनाएका छन् ।
यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रकै अभिभावक मानेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
‘आज कुशे औंसीको दिन म त यता आएँ । यो राष्ट्रको अभिभावक हजुर हो । त्यसैले आमाबाबु जे भने पनि हजुर नै,’ भन्दै प्रचण्ड राष्ट्रपतिको सामुन्ने पुग्दा भावनात्मक माहोल बनेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री प्रचण्डका बाबु मुक्तिनाथ दाहालको केही वर्षअघि निधन भएको थियो ।
आफ्ना बुबाको निधन भइसकेकाले राष्ट्रकै पिता मान्दै राष्ट्रपतिकोमा पुगेका प्रधानमन्त्री र राष्ट्रपतिबीच आज पहिलेभन्दा बढी अनौपचारिक कुराकानी भएको बताइएको छ ।त्यसो त प्रधानमन्त्रीले राष्ट्रपतिलाई बेला-बेला भेटेर सरकारको कामकारबाहीबारे जानकारी गराउने प्रचलन छ । यद्यपी प्रचण्ड बुबाको मुख हेर्ने दिन पारेर राष्ट्रपतिकोमा पुग्दा भावनात्मक माहोल बनेको हो ।