0 COMMENTS

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।

बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएको थियो । दुई नेताबीच विवाद झण्डै हात हालाहालको अवस्थामा पुगेपछि अन्य नेता अघि सरेर मिलाउनुपर्ने अवस्था सिर्जना भएको एक नेताले बताए ।

बैठक चलिरहेका बेला संविधान संशोधनको विषयमा छलफल हुँदा रावलले उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति पढेर सुनाए ।

उनले विज्ञप्ति पढ्दै नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाए । दूतावासले जारी गरेको विज्ञप्तिमै संविधान संशोधनबारे भारतीय प्रधानमन्त्री र नेताहरुसँग कुराकानी भएको उल्लेख हुनु गम्भिर विषय हो भन्दै रावलले आपत्ति जनाएका थिए । रावलको कुरा नसकिँदै निधि रावलमाथि खनिए ।

संविधान जारी गर्ने बेलामा धेरै विदेशीका सुझाव लिइएको भन्दै निधिले ‘तपाईँलाई पनि विदेशीले सुझाव दिएका छन् र विदेशीलाई तपाईँले पनि जानकारी गराउनुभएको छ’ भने । उनले रावललाई विदेशीले फन्डिङ गरेको समेत लान्छाना लगाएपछि वातावरण तनावपूर्ण बन्यो ।

तीन दलको शीर्ष बैठकमा सहभागी एक नेताका अनुसार रावलले निधिलाई विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन चुनौति दिए । निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गरे । रावलले प्रमाण देखाउनुस् भन्दै आक्रोश व्यक्त गर्दा झण्डै हात हालाहालको अवस्था आउन खोजेको थियो ।

यो विषयलाई प्रधानमन्त्री प्रचण्ड सहितका अन्य नेताहरुले नतन्काउन आग्रह गर्दै हस्तक्षेप गरेका थिए । एमाले नेताहरुले भारतमा गएर संविधान संशोधनको सहमति लिने निधिले बैठकमा देखाएको प्रस्तुतिप्रति आपत्ति जनाएका छन् ।

भीम रावलसँग शीर्ष बैठकमा यसअघि पनि विभिन्न दलका नेताहरुको झगडा पर्ने गरेको छ । केही दिनअघि प्रधानमन्त्रीले नै बोलाएको बैठकमा मधेसी मोर्चाका नेता रामनरेश रायले भीम रावल नआएसम्म नबोल्ने भन्दै शौचालयबाट फर्किने बेलासम्म पर्खिएका थिए ।अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।