0 COMMENTS

काठमाडौँ, ११ भदौ । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुदान पाउनयोग्य सबै लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलब्ध गराइएको मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिए । शुक्रबारसम्ममा अति प्रभावित जिल्लाका करिब ७१ दशमलव ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ ।
त्यस्तै अनुदान सम्झौता भएकामध्ये एक लाख ३८ हजारभन्दा बढी पीडितको खातामा अनुदान रकमको पहिलो किस्ताको ५० हजार रुपियाँ जम्मा भइसकेको एकाइले जानकारी दिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कामकारबाही छिटोछरितो गराउन ‘क्विक रेस्पोन्स टिम’ तयार गरेर जिल्लामा पठाएको छ ।
उक्त टिममा प्राधिकरणका विज्ञ सदस्यहरूले स्थानीय तहमा आएका राजनीतिक समस्या समाधान गर्दै आएको छ भने कर्मचारीको समूहले कार्यकारी तहका समस्या समाधानमा सहयोग गर्दै आएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
भूकम्प प्रभावित गाउँमा अनुदान सम्झौता र रकम वितरणको काम सम्पन्न नभएसम्म गाविस सचिव र अन्य सरोकारवाला निकायका कर्मचारीलाई पनि अन्यत्र जान र बिदा बस्न रोक लगाइएको छ ।
अहिलेको गतिमा काम भए आगामी असोज २ गतेसम्म सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने दाबी एकाइको छ । यसैबीच ११ जिल्लाका करिब डेढ लाखभन्दा बढीले गुनासो पनि दर्ता गराएका छन् ।
हाल प्राधिकरणले तयार गरेको अनुदान सम्झौता कार्यविधिका कारण धेरै भूकम्पपीडित अनुदान रकम प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आएकाले कार्यविधि संशोधन गर्ने तयारी पनि प्राधिकरणले गरिरहेको प्रवक्ता थपलियाले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।