0 COMMENTS

vade

ऋग्वेद
वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ ।

ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको छ । यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् ।

यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन र मण्डूकायन ।

ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा मृत्युञ्जय मन्त्र (७/५९/१२) वर्णित छ । विश्वविख्यात गायत्री मन्त्र (३/६२/१०) पनि यहीँ छ । ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी सूक्त, तत्वज्ञान सूक्त, संस्कार सूक्त विद्यमान छन् ।

रोगनिवारक सूक्त (१०/१३७/१—७), श्रीसूक्त वा लक्ष्मीसूक्त (खिलसूक्त), नासदीय सूक्त (१०/१२९/१—७) तथा हिरण्यगर्भ सूक्त, विवाह सूक्त आदिको वर्णन छ जसमा ज्ञान र विज्ञानको चरमोत्कर्ष देख्न पाइन्छ ।

सामवेद

सामवेद मा गाउन मिल्ने छन्दहरू छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस वेदमा १८२४ मन्त्र छन् र ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् । तैपनि यसको आफ्नै विशिष्ट महत्व छ । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले ‘वेदानां सामवेदोsस्मि’ भनेर यसको महत्वलाई उजागर गर्नुभएको छ ।

सामवेद आकारमा सानो भएपनि यो सबै वेदको सारस्वरूप रहेको छ र सबै वेदका प्रमुख अंश यसमा परेका छन् । सामवेद ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी हो ।

यो वेदलाई संगीतशास्त्रको मूल मानिन्छ । यसमा सविता, अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको छ । यसमा यज्ञमा गाउनका लागि संगीतमय मन्त्र राखिएका छन् । मुख्यतः गन्धर्वहरूले यसको गान गर्छन् ।

यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र संगीतशास्त्रलाई प्रधान बनाइएको छ ।

यजुर्वेद

यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको छ । विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण छ ।

यजुर्वेदका दुई शाखा छन् । नेपाल र उत्तर भारततिर शुक्लयजुर्वेद अनि दक्षिण भारततिर कृष्णयजुर्वेद प्रचलित छ ।

यसमा ४० अध्याय छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् । त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो । यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको छ । विश्वविख्यात गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् ।

यसमा दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय पनि समाविष्ट छन् ।

 

अथर्ववेद

यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको छ । यसका अलावा यसमा चिकित्सा, विज्ञान र दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् ।

भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् ।मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व छ । यसमा २० काण्ड छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।