0 COMMENTS

काठमाडौं, ८ भदौ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो । यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । तर, सीमा क्षेत्रमा तस्करीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो ।

केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ । भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि बढेका छन् । तैपनि, उत्तरी सीमाको सुरक्षामा सरकारले ध्यान दिन सकेको छैन ।

चीनतर्फ वन्यजन्तुलगायत तस्करी र लागुऔषध ओसार–पसार
उत्तरतर्फका नाकाबाट वन्यजन्तुका अंग, लागुऔषध, डलरलगायत सामानको तस्करी बढेको प्रहरी अधिकारी बताउँछन् । चीनको सीमानाकाको कमजोर सुरक्षाकै कारण नेपाल वन्यजन्तुका अंगको ओसारपसारको मुख्य ट्रान्जिट बन्दै गएको छ । वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का डिएसपी प्रवीण पोखरेलका अनुसार दार्चुलाको तिंकर र हुम्लाको हिल्सा नाकाबाट वन्यजन्तुका अंग चीनमा तस्करी हुने गरेको अनुसन्धानमा खुल्ने गरेको छ । यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । तिंकर यस्तो नाका हो, जहाँ हिउँ पर्ने भएकाले ६ महिना त प्रहरी नै बस्न सक्दैन । तिंकर नाकासँग चीन मात्र होइन, भारतको समेत सीमा जोडिने भएकाले उक्त नाकाबाट अवैध गतिविधि बढेका हुन् ।

केरुङ नाकाबाट पनि लागुऔषध तस्करी
केरुङ नाकाबाट लागुऔषधसमेत तस्करी हुन थालेको छ । दुई महिनाअघि केरुङ नाका हुँदै कोकिन तस्करी गर्न आएकी चिनियाँ युवती दोङ दोङ पक्राउ परेकी थिइन् । नेपालबाट चीनमा चरेससमेत जान थालेको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) का अधिकारी बताउँछन् । त्यस्तै, नेपालबाट ठूलो मात्रामा चीनमा डलर तस्करी हुँदै आएको छ । चिनियाँहरू पटक–पटक सीमा क्षेत्रमा डलरसहित पक्राउ पर्दै आएका छन् । एक दशकयता रक्तचन्दनको तस्करी हुँदै आएको छ ।

पूर्वका नाकाबाट सुन तस्करी
तातोपानी, केरुङ मात्र होइन, पूर्वका नाकाबाट समेत सुन तस्करी भइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ । गोरखाको छेकम्पार र सामागाउँ नाकाबाट चिरुको रौा तिब्बततर्फ तस्करी हुने गरेको छ । सुरक्षा व्यवस्था कमजोर हुँदा चीनबाट अन्य सामान पनि नेपालमा तस्करी भइरहेको छ, तर प्रहरीले त्यसअनुसार सक्रियता बढाउन सकेको छैन । भौगोलिक विकटता कारण चिनियाँ सीमामा सुरक्षाकर्मीलाई केही कठिनाइ रहेको प्रहरी प्रवक्ता डिआइजी माधव जोशी बताउँछन् ।

चार हिमाली जिल्लाको सीमा सुरक्षामा सशस्त्र प्रहरी
हालसम्म चारवटा हिमाली जिल्लामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा खटिएको छ । सशस्त्र प्रहरी प्रवक्ता एआइजी शैलेन्द्र खनालका अनुसार रसुवा, सिन्धुपाल्चोक, मुस्ताङ र दार्चुलामा सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएको छ । दरबन्दी थपको प्रस्ताव पास भएपछि थप नाकामा सशस्त्र प्रहरी खटिने उनको भनाइ छ । भारतले गत वर्ष लगाएको नाकाबन्दीपछि सरकारले मुस्ताङको कोरला र किमाथांका नाका खोल्ने निर्णय गरेको थियो । कोरलामा सडकको ट्रयाक खुलिसकेको छ भने किमाथांकामा सडक पुगेको छैन । दुवै नाकाको चीनतर्फ भने पिच सडक छ । हुम्लाको हिल्साको करिब एक घन्टाको दूरीमा ठूलो सहर छ । तर, नेपालतर्फ सुरक्षा र पूर्वाधार दुवैमा सरकारले ध्यान दिन सकेको छैन ।

चीनद्वारा स्मार्ट बोर्डिङ पासको तयारी
आगामी १ नोभेम्बरदेखि सडकमार्ग हुँदै चीन जाने यात्रुलाई मेसिन रिडेबल बोर्डर पास दिने तयारी चीनले गरेको छ । सीमा क्षेत्रमा आवतजावत गर्नेको निगरानी बढाई रेकर्ड सिस्टम बलियो बनाउन यस्तो तयारी गरिएको हो । सीमा जोडिएका हरेक जिल्लामा ३० किलोमिटरभित्रका स्थानीय बासिन्दालाई चीनले अस्थायी सीमा पास दिएर आफ्नो देशमा जान दिने गरेको छ । अन्यले भने सीमा पार गर्न भिसा नै लिनुपर्ने हुन्छ । केहीलाई भने स्थानीय प्रशासनको सिफारिसमा सीमा पास दिने गरेको छ ।

चीनले व्यवसायीलाई पनि भिसामा कडाइ गरेको छ । स्थानीय प्रशासनको सिफारिसमा चीनले एक सय व्यवसायीलाई मल्टिपल भिसा दिने जनाएको छ । तर, चीनसँग व्यापार गर्ने पाँच सयभन्दा धेरै व्यवसायी छन् । स्थानीय प्रशासनको सिफारिसमा व्यवसायीलाई ६ महिनाका लागि मल्टिपल भिसा दिन सहमत भएको गृह मन्त्रालयका सीमा समन्वय शाखाका उपसचिव कृष्ण ज्ञवालीले बताए । चीनले सीमा सुरक्षालाई प्राथमिकतामा राखी नेपालसँगको सीमामा पनि कडाइ गर्न थालेको छ । सीमा क्षेत्रमा हुने तिब्बतियन शरणार्थीको आवत–जावत तथा फ्री तिब्बतसम्बन्धी गतिविधि रोक्न पनि चीनले सीमा क्षेत्रमा लगानी बढाएको हो । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।