0 COMMENTS

भदौ २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई बिहीबार बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गरे ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पुर्‍याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे ।

साझा यातायातले उपत्यकामा ३० ओटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन् । ‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौँको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णय गर्नुस’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले बताए ।

प्रधानमन्त्री दाहालले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा ३० ओटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए । साझा यातायातका कामु निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।