0 COMMENTS

 imagesहामीले मान्दै आएको बिक्रम इसवी सम्बतभन्दा करीब ५७ बर्ष ले बिक्रम सम्बत् पुरानो छ  । खास गरेर इसवी सम्बतकाे पहिलो महिना अप्रिल थियो । पछि जनवरीमा सारेकाे हुनाले झुक्याउन अप्रिलफूल मनाउने गरेको हो । बिक्रम सम्बत, शक सम्बतभन्दा १सय ३५ बर्ष पुरानो छ । त्यस्तै नेवारी समुदायले मान्ने नेपाल सम्बतभन्दा ९सय ३६ बर्ष ६ महिनाले पुरानो छ र हिजरी सम्बतभन्दा ६सय ३६ बर्षले पुरानो छ । ज्योतिषशास्त्र अनुसार कलियुग शुरु भएको ३ हजार ४४ बर्षपछि बिक्रम सम्बत् शुरु भएको छ अथवा कल्कि सम्बतभन्दा बिक्रम सम्बत ३ हजार ४४ बर्षले कान्छो छ । यो सम्बत् संसारका अनेक देशले मान्ने गरेका सांस्कृतिक सम्बत बाहेक सरकारी मान्यतामा रहेको राष्ट्रिय क्यालेण्डरमा सबैभन्दा पुरानो हो । बिक्रम सम्बत् मान्ने देश नेपाल मात्र हो । भारतले पनि बिक्रम सम्बतलार्इ सांस्कृतिक क्यालेण्डरको रुपमा मान्दछ, त्यहाँको राष्ट्रिय क्यालेण्डर इसवी सम्बत् हो ।

धैरैलाई लाग्न सक्छ वा दावी हुनसक्छ, राजा बिक्रमादित्यको पालामा उनैको नामबाट बिक्रम सम्बत शुरु भएको हो । को हो बिक्रमादित्य ? इतिहास मौन छ, ऐतिहासिक तथ्य मौन छ । हल्लाको भरमा, दन्त्य कथाजस्तै सुनेका कथाको भरमा यसलाई मान्दै आइएको छ । हामीलाई बिक्रमको सम्बत १ साल कसरी शुरु भयो भन्ने कुरा थाहा छैन । त्यो दिनमा को राजा थिए ? को सम्राट थिए ? त्यो पनि थाहा छैन । कतै प्रमाण वा कथाहरुमा पनि उल्लेख छैन । बिक्रमादित्य नामका कुनै राजा थिए वा उनी सम्राट थिए, हामीले जानेको यही हो ।

बिक्रमादित्य, बिक्रम र आदित्य मिलेर बनेको शब्द हो । यसको अर्थ अमुक सम्राट सूर्यजस्तै तेजिला र पराक्रमी थिए भनेको हो । यो शब्द उपाधि हो, नाम होइन । नेपालका कुनै राजाको नाम महेन्द्र होभने बीर बिक्रम शाह उपाधि हो, त्यस्तै बिक्रमादित्य पनि हो । नेपालका राजाहरुको इतिहास खोज्दैजाँदै उनीहरु क्षेत्री हुन् । राजकाज चलाउने हैसियतमा पुगेको हुनाले ठाकुर भनिएको हो र त्यसै ठाकुरबाट ठकुरी भएको हो । ठाकुर उपाधि हो । त्यसै गरेर राव, भट्टारक, राणा, राणाजी, राणाजीराव यी सबै उपाधि हुन् । बिक्रमादित्य उपाधि पाउने राजतन्त्र भारतको गुप्तबंश हो । गुप्तबंशको राजतन्त्रमा कुनै बेला ठुलो साम्राज्य थियो । त्यसैले गुप्तबंशका राजा सम्राट बन्न पुगेको इतिहास छ । त्यो बेलाको साम्राज्यमा हालको इण्डोनेशिया, बर्मा, भुटान, नेपाल, पाकिस्तान, श्रीलंका, अफ्गाानिस्तान, इरान, इराक लगायत अरबका तमाम देशहरु, स्तान भन्ने शब्द जोडिएका जो संस्कृतको स्थानबाट बनेका देशहरु, कजकिस्तान, बलुचिस्तान, तुर्कमिनिस्तान, ताजकिस्तान, अजरबैजान, उज्बेकिस्तान आदि राज्यहरु सम्राट बिक्रमादित्यको साम्राज्य भित्र पर्दथे भन्ने उल्लेख छ । त्यसो भएतापनि राज्यहरु स्वतन्त्र थिए, अलग अलग राजा थिए । ती राज्यबाट तोकिएको कर बुझाउनु पर्दथ्यो । साम्राज्य भित्रका आम जनताको आम ऋण मुक्त गरेको तथा अश्वमेध यज्ञ गरेको कारणले उनैको नामबाट विक्रम सम्बत प्रारम्भ भएको हुनु पर्ने कथन छ । त्यसरी हेर्दा सम्राट समुद्रगुप्तले अश्वमेध गरेको कुरा इतिहासमा उल्लेख छ । त्यो समय भनेको पनि विक्रमको ५ औं सताब्दिमा हो । पौराणिक शैलीको यस साम्राज्यको समग्र नाम महाभारत हो । महाभारतको राजधानी वैशाली थियो । कुनै काल खण्डमा वा कुनै सम्राटको पालामा राजधानी सरेर उज्जैन, मगध वा अयोध्या हुन गएको कुरा पनि इतिहासमा उल्लेख छ ।

हाम्रा पुराण, उपनिषद, वेद आदि अनेक ग्रन्थमा कतै पनि सम्बत् उल्लेख छैन । विक्रम सम्बत्भन्दा पहिले कुन सम्बत थियो ? काल गणना कसरी गणना गरिन्थ्यो ? त्यो पनि प्रमाणिक रुपमा थाहा छैन । कतै मालवी सम्बतको कुरो पनि छ, मालवी सम्बत्लाई बिक्रम सम्बतमा रुपान्तरण गरेको कुरा कतै उल्लेख छ तर मालवी सम्बतको पनि कति बर्ष पुगेको थियो वा कहिलेबाट शुरु भएको थियो भन्ने कुरा कतै उल्लेख छैन । ऋषिहरुले, विद्वानहरुले वा पण्डितहरुले ग्रन्थ लेख्दालेख्दै वा उल्था गर्दागर्दै २०औं सताब्दि सम्ममा थपिएका कुरा पनि पुराण भएका छन् र हजारौ. बर्ष पहिलेका कथा पनि सम्मिलित छन् । कतै ताम्रपत्र भेटिन्न, अभिलेख भेटिन्न, भोजपत्र, शिलालेख कुनै भेटिन्नन् । लेखिएको भएतापनि अंग्रेजले खोजेर पत्ता लगाइदिएको, पढिदिएको अवस्था छ । नेपालको इतिहासमा १९ औं सताब्दितिरका ऐतिहासिक कुरा एवं सांस्कृतिक कुरा समेत अंग्रेजले पत्ता लगाइदिएर मात्र हामीले पढ्ने गरेका उदाहरण छन् । विक्रम सम्बत् भारतको इतिहासको कुरा हो । त्यसबारे नेपालले खोज्ने वा जान्ने चेष्टा नराख्नु कुनै आश्चर्यको कुरा होइन ।
भारतको गुप्त राजबंशको इतिहास अंग्रेजले खोजेर राखिदिएको अवस्था छ । जसअनुसार ः—
१) श्रीगुप्त सन् २७५देखि ३०० सम्म तदनुसार बिसं ३५७ देखि ३७७ सम्म
२) घटोत्कचगुप्त सन् ३३३ – ३२०
३) चन्द्रगुप्त बिक्रमादित्य प्रथम् ३२०–३३५
४) समुद्रगुप्त ३३५– ३८५ ( अश्वमेध यज्ञ गरेका )
५) चन्द्रगुप्त विक्रमादित्य द्वितीय ३८५–४१३
६) कुमारगुप्त महेन्द्रादित्य ४१३–४५५ ( महेन्द्रादित्य उपाधि हो )
७) स्कन्दगुप्त विक्रमादित्य ४५५–४६७ ( यीनैको पालामा आएर बिक्रम सम्बतको घोषणा गरेको पाइन्छ ।
८) पुरगुप्त प्रकाशादित्य ४६७–४६९ ( प्रकाशादित्य उपाधि हो)
९) नरसिंह बालादित्य ४६९–४७३ ( बालादित्य उपाधि हो )
१०) कुमारगुप्त विक्रमादित्य ४७३–४७७ ( यो विक्रमादित्य उपाधिले मान्यता पाएन )
११) बुधगुप्त परादित्य ४७७–४९४ ( परादित्य पनि उपाधि हो )
१२) तथागतगुप्त परमादित्य ४९४– ५१० ( परमादित्य उपाधि हो तर यो नाम नै अंग्रेज इतिहासकारले स्वीकार गरेका छैनन् । तथागत खास नाम होइन भन्ने तर्क छ । )
१३) भानुगुप्त बालादित्य ५१०–५३४
१४) बज्रगुप्त प्रकटादित्य ५३४–५४० तदनुसार बिसं ५९१– ५९७ ( प्रकटादित्य उपाधि हो )

यसपछि गुप्त बंशको राज्य सञ्चालनको हैसियत लोप भएको देखिन्छ ।माथिको कुराले के स्पष्ट पार्छभने बिसं ३५७ भन्दा पहिलेका राजा वा सम्राटहरुको नाम अझै अनुसन्धानकै गर्भमा छ । माथि उल्लेख भएको सातौं स्थानका सम्राट स्कन्दगुप्त बिक्रमादित्यले उनको बंशको बिगतको इतिहासको मुल्यांकन गर्दै सो अवधिलाई १ साल मानेर बिक्रम सम्बत्को शुरुवात गरेको पाइन्छ । सो कल्पना गरिएको १ सालमा कुनै सम्राट थिए वा थिएनन् ? । खास गरेर साम्राज्य बिस्तार पनि त्यसै बेलादेखिभएको हो भन्ने मान्यता छ । इतिहासकार लेख्छन्, श्रीगुप्तभन्दा पहिले मालवी राजतन्त्र वा थियो र सम्बत् पनि मालवीय थियो भन्ने अनुमान छ । मालवी बंशले २७४ बर्ष शासन गरेको कुरा अनुमान गरिन्छ । कतै मालवी शासनमा सत्कर्णिका नामका सम्राट थिए भन्ने उल्लेख छ । उनले कुन अवधिमा शासन गरेका थिए भन्ने कुरामा इतिहास मौन छ । त्यसै मालवीय अवधिलाई बिक्रम सम्बत्मा रुपान्तरण गर्दा ३५६ बर्षको मालवी सम्बत् भनेर कायम गरिएको अनुमान छ । त्यसो गर्नुको कारण इसवी सम्बत्भन्दा बिक्रम सम्बत करीब ५७ बर्षले पुरानो थियो भन्ने कुराको आधार हो । त्यो समयमा इसवी सम्बत् मान्नेहरुको शासन ब्यवस्था कम्जोर थियो र बिक्रमादित्यबालाको नै सबै कुरो चल्दथ्यो भन्न सकिन्छ । यसरी हेर्दा विक्रम सम्बत् कुनै राजा वा सम्राटको नाम नभएर विक्रमादित्य उपाधिको आधारमा नामाकरण गरिएको पाइन्छ । जसरी नेपालको राजनीतिमा पृथवीनारायण शाहको राज्य काललाई आधार बनाएर उनी मरेको धेरै बर्षपछि वा धेरै पुस्तापछि उनलाई सम्मान गरिएको छ र शाह बंशको उदयमा नयाँ इतिहास कायम गरिएको छ । त्यसै इतिहासलाई हामीले शाह काल भन्छौं । विक्रम सम्बत् पनि त्यस्तै हो भन्ने लाग्छ । आर्य सभ्यता भित्रको हिन्दू सभ्यता जो पछि गएर हिन्दू धर्म हुन गएको छ । बिक्रमको चौथो वा पाचौं सताब्दिमा कतै बिक्रमादित्य उल्लेख भएको मुद्रा भेटिन्छ । त्यसमा कुनै काल वा समय गणना छैन । को सम्राट थिए ? उनको नाम के थियो ? अनुसन्धानको क्रममा फलाना राजा वा सम्राटको पालाको हुनु पर्छ भन्ने अनुमान मात्र लगाउन सकिन्छ । त्यसबाहेक तिथि भएको अभिलेख १३ औं सताब्दिमा मात्र फेला परेको कुरा इतिहासमा उल्लेख छ यद्यपि ११औं सताब्दिमा खसआर्य शैलीको आजको जस्तै बिक्रम सम्बत्को बिस्तार भएको कुरा उल्लेख छ । १३औं सताब्दिका खसान राजा रत्नमल्लको नाम उल्लेख भएका शिलालेख वा ताम्रपत्रमा बिक्रम सम्बत् उल्लेख भएको छ भन्ने कुरा कुनै समयमा मैले कतै पढेको थिएँ, त्यो कुन पुस्तक हो सम्झना भएन । शक सम्बत् उल्लेख भएका शिला लेखमा समेत चन्द्रमासकै गणना उल्लेख छ । उदाहरणको निमित्त २०१२ भाद्र शुक्ल पञ्चमी भन्ने उल्लेख छ । भाद्र १३ गते भन्नेजस्ता मिति भेटिन्नन् । भारतमा हालसम्म पनि तिथिकै आधारमा बिक्रम सम्बत चलेको छ ।

स्कन्दगुप्त विक्रमादित्यले त्यो बेलामा बंश गणनाको आधारमा गुप्त बंश जो राज्य सञ्चालनको हैसियतमा पुगे, त्यसैलाई सम्मान गरेर त्यसै कालको आधारमा बिक्रम सम्बतको पहिलो बर्ष भनेर गणना गरेको अनुमान छ । हामीले कुनै दान ग¥यौंभने वा कुनै सामाजिक सेवाको सन्दर्भमा स्मारक बनायौंभने बाउ बाजेको नाम राख्ने चलन छ । बाजेको जन्म मिति थाहा नभएर पछिल्लो पुस्ताको उमेरको आधारमा अन्दाजी बाजेको जन्म मिति राख्ने चलन छ । त्यसैअनुरुप स्कन्दगुप्तले पुर्खाको नामबाट विक्रम सम्बत शुरु गरेको अनुमान इतिहासकारहरुले गरेका छन् । हुन त पराक्रमको दृष्टिले चन्द्रगुप्त द्वितीय सन् (३८५–४१३ तदनुसार बि सं ४४२– ४७० ) शक्तीशाली देखिन्छन् । त्यसो भएतापनि सम्बत निर्धारण गर्ने सन्दर्भमा उनको दृष्टि पुगेको देखिन्न । स्कन्दगुप्त नेपालको राणा शासनका देवशम्सेर जस्तो मानिन्छन् । पराक्रमी राणा प्रधानमन्त्री जंगबहादुर, बीरसम्शेर वा अरु देखिए । सुधार तथा न्यायको नामा देव सम्शेरको नाम चलेको पाइन्छ । स्कन्दगुप्तले विक्रम सम्बतमा चन्द्रमास अनुसार काल गणना गरेको पाइन्छ । त्यसो भएर पनि बाह्र महिनाका नाम बैसाख, जेठ आदि नामाकरण गरेको पाइन्न । त्यसै कारणले पनि पुराणादिहरुमा कतै पनि काल गणना नभएको अनुमान गर्न सकिन्छ । पछि ज्योतिषहरुले त्यसै कुराको आधारमा नक्षत्रहरुलाई आधार मानेर महिनाका नाम राखेको पाइन्छ । नक्षत्र र राशीको वा ज्योतिषको सामान्य अविष्कार त्यो समयमा भएको पाइन्छ । विशाखा नक्षत्र र संभवतः शुक्ल पक्षको प्रतिपदा तिथि संगै परेको महिना बैसाख भयो । त्यसैको आधारमा ज्येष्ठाबाट जेठ, पूर्वषाढाबाट आषाढ, श्रवण नक्षत्रबाट श्रावण, भाद्रपदाबाट भाद्र, अश्विनीबाट आश्विन, कृतिकाबाट कार्तिक, मृगशिराबाट मार्गशिर्ष वा मार्ग, तिष्यबाट पौष, मघाबाट माघ, पूर्वफाल्गुनीबाट फल्गुण, चित्रा नक्षत्रबाट चैत्र भएको पाइन्छ ।

बिक्रमको छैठौं सताब्दिपछि गुप्तबंश पराजित हुनगइ राज्य सञ्चालनको दृष्टिले लोप भएको पाइन्छ । त्यसैताक पराजित राजाहरु त्यो बेलाको नेपाल हालको काठमाण्डौमा प्रवेश गरेर चलखेल गरेको इतिहास पनि छ । उता भारतमा इस्लाम राजतन्त्रको उदय भएको पाइन्छ । मुसलमान सम्राटको कब्जामा भारत गएको इतिहास छ । त्यसै अवधिमा लिच्छवीहरु पनि नेपालमा प्रवेश गरेका छन् । स्मरणीय छ, नेपालका शाह बंश भारतमा राव पदवीले परिचित थिए, उनीहरु पनि मुसलमान सम्राटबाट पराजित वा अपमानित भएपछि नेपालमा पसेको इतिहास छ र नेपालमा स्थापित भए । शाह उपाधि नेपालमा आएपछि भारतीय मुसलमान सम्राटले दिएको कुरा इतिहासमा उल्लेख छ । त्यस्तै भारतका गुप्त बंश तथा अरु अनेक राज्य सञ्चालनको हैसियतमा पुगेका बंश, छिन्नभिन्न भए । साम्राज्य पनि टुक्रा टुक्रा भयो । ससाना अलग अलग राज्य भए । हाल युरोपमा परेका स्थानबाट स्तानसंग जोडिएका राज्य युरोपकै साम्राज्यमा परे । महाभारत नामको इतिहास नाममा त रह्यो तर हैसियत समाप्त भयो । हैसियत समाप्त भएपनि जनता विशेषले सम्बत्को इतिहास बोकेर बसे । तिथि मितिको परम्परा सम्झेर बसे । उनीहरु खस आर्य थिए । खस आर्यहरुले इतिहासको कुन चरणमा पुगेर उन्नति गरे थाहा भएन तर सौर्य गणना अनुसार हरेक महिनाको गते र बार शुरु गरेको पाइन्छ । त्यो कुरा कसरी पनि अनुमान गर्न सकिन्छ भने, जहाँ जहाँ खस आर्यहरुको पकड छ त्यहाँ सौर्य मासको गते बार लागु भएको छ यद्यपि बार भने गुप्त बंशको शासन कालमा पनि उल्लेख भएको पाइन्छ ।

नेपाल र भारतको पहाडी खण्ड, अथवा जसलाई हामीले महाभारत शृंखला भन्छौं, त्यहाँ सबै खस आर्य सभ्यताका मान्छेको बसोबास छ । ती सबै क्षेत्रमा विक्रम सम्बत्मा चन्द्रमास र सौर्यमास संगै लिएको पाइन्छ । बैसाख १ गते, २ गते आदि भएको पाइन्छ । भारतमा खास गरेर तराइ मधेशको भारत खण्डमा आज पनि बैसाख, जेठ त हुन्छ गते हुँदैन । उनीहरुले बैसाख शुक्ल पञ्चमी वा एकादशी यस्तै भनेर चाड पर्व मान्ने गर्छन् । त्यहाँ पनि जहाँ खस आर्यहरु छन् उनीहरुले नेपालमा जस्तै गते र तिथि संगै मान्ने परम्परा छ । यसरी तिथि र गतेलाई संगै मान्ने गणित कहिलेबाट शुरु भयो होला ? जिज्ञासाको कुरो पनि छ । भारतले आज पनि बैसाख शुक्ल प्रतिपदालाई विक्रम सम्बतको नयाँ बर्ष मान्ने गर्छ । त्यसै अनुसारले २१ मार्च २०१५ का दिन भारतीय विक्रम सम्बत २०७२ को नयाँ बर्ष हो । त्यो दिन भनेको नेपाली क्यालेण्डर अनुसार चैत ७ गते हो । चन्द्रमासलाई आधार मान्ने हुँदा मलमासका कारणले २०७३ को नयाँ बर्ष भारतले बैसाखको पहिलो हप्तामा मान्नु पर्ने हुन्छ । यता नेपालमा बैसाख १ गते नयाँ बर्ष हुन्छ । २०७२ सालको बैसाख १ गते, १४अप्रिल २०१५ हुन जान्छ र तिथिले दशमी हुन्छ । यसरी भारतले मान्ने गरेको बिक्रम सम्बतको नयाँ बर्ष र नेपालले मान्ने गरेको नयाँ बर्ष २४ दिनले फरक पर्न गयो २०७२ सालमा ।। त्यही नयाँ बर्ष गुजरातमा कार्तिकमा मनाउने चलन छभने भारतमै कतै माघबाट शुरु हुने परम्परा समेत पाइन्छ । फेरि भारतमा बैसाखी स्नान भनेर बैसाख १ गतेलाई मान्ने परम्परा पनि छ । बिक्रम सम्बतको नयाँ बर्ष मान्ने दिन फरक भए पनि चाड पर्व नेपाल र भारतका संगै पर्ने गरेको पाइन्छ । त्यसो हुनु भनेको क्षयमास र मलमासको समायोजन गर्ने गरेकोले हो । पञ्चाङ्ग ब्यवस्थापनमा नेपाल र भारताका पञ्चाङ्गकर्ताहरु वा ज्योतिषहरुले संयुक्त रुपमा निर्णय गर्ने गरेको पाइन्छ यद्यपि ज्योतिष गणितको आधारमा आफै पनि त्यस्तो हिसाब निस्कन्छ ।

सौर्यमास तथा चन्द्रमासलाई संगै लैजाने कारणले मलमास र क्षयमासको हिसाब ज्योतिष शास्त्रले राखेको छ । ज्योतिष शास्त्र नेपाल र भारतको एउटै हो । चन्द्रबर्ष, सौर्य बर्षको तुलनामा ३५४ दिनको हुन्छ । सौर्यबर्षको ३६५ भन्दा चन्द्रबर्ष ११ दिन, खास गरेर साढे दस दिनले फरक हुन्छ । यही हरेक बर्षको साढे १० दिन, प्रत्येक ३ बर्षमा १ महिनाले फरक हुन्छ । हरेक तेस्रो बर्षमा चन्द्रमासमा १ महिना थपेर बराबर गरिन्छ । यसरी थपिएको महिना मलमास वा अधिकमास हो । त्यसैले कुनै बर्षको दशैं कार्तिक ६ गते प¥योभने अर्को बर्ष असोज २६ गते पर्न जान्छ । त्यस पछिको दशैं असौज १५ वा १६ गते पर्छ तेस्रो बर्षमा अर्सौज ५ गते पर्नु पर्नेमा चन्द्रमासमा पुनः अधिकमास वा मलमास थपेर कार्तिक ६ गते नै हुन जान्छ । त्यसो हुन्थेनभने दशैं वा अरु पर्वहरु कहिले साउनमा पनि पर्न जान्थे । क्षय मास भनेको चान्द्रमासमा कुनै बढी हुन गएको तिथि घटाउनु हो जस्तो कि ३५४ तिथिको १ बर्ष हुनु पर्नेमा ३५३ दिन कायम गर्नु हो । यस्तो अवस्था बिरलै हुने गर्छ । हिजरी सम्बत मुसलमानको सम्बत हो । त्यो पुरै चन्द्रमासको आधारमा चल्ने गर्दछ । त्यसैले हरेक चाडहरु हरेक बर्ष १० दिनले पछि सरेका हुन्छन् । कुनै बर्ष माघ १० गते मोहर्रम परेको छभने अर्को बर्ष पुस मसान्तमा पर्छ । यसरी पछि सर्दै ३६ बर्ष पछि मात्र माघ १० गते मोहर्रम पर्न जान्छ ।

खसआर्य सभ्यताबाट प्रभावित नेपाली शैलीको विक्रम सम्बत कहिलेदेखि लागु भएको हो जान्न सकिएला । नेपालको इतिहास पढ्दा पृथ्बीनारायण शाहको कालभन्दा पहिलेमामा गते उल्लेख भएको पाइन्न । जस्तै बि.सं १७१८ साल माघ एकादशी भन्ने खालका पाइन्छन् । नेपालको इतिहास पनि अंग्रेजले खोजेर पत्ता लगाइदिएको अवस्था छ । उनीहरुले इसवी सनमा राखेका तथ्यांकलाई विक्रम सम्बतमा परिणत गरेको मात्र हो । वेद पुराण इत्यादिको हवाला दिँदै पृथ्बीको उत्पत्तिको बारेमा चर्चा गर्ने हामीहरु, शास्त्रमा यस्तो लेखिएको छ भनेर बहस गर्ने हामीहरु, सत्ययुगमा यस्तो लेखिएको छ, कलियुगमा यस्तो हुनेछ आदि भनेर गफ हाँक्ने हामीहरुले हाम्र्रा हजुरबाको जन्म मिति अंग्रेजले खोजेर राखिदिने अवस्था छ । हाम्रा पुर्बजले विचारयुक्त शिक्षा, भावनात्कम शिक्षा, उपदेशनात्मक शिक्षा धेरै पढे । धेरै रचना गरे । प्रविधि तथा गणीतीय तथ्यांक निरंकुश सम्रटहरुको कारणले पनि हुन सक्छ सुसुप्त अवस्थामा रहेको अनुमान गर्न सकिन्छ ।

हाल आएर नेपालमा खस भनेको क्षेत्री हो भन्ने सम्मका कुरा आएका छन् । खस र क्षेत्रीको शब्दोत्पत्ति एकै प्रकारको देखिन्छ । खस, कुशबाट बनेको शब्द हो भन्ने लाग्छ । क्षेत्री शब्द क्षेत्रबाट बनेको हो भनेर पछिल्लो संस्कृत भाषाले दावी गरेको देखिन्छ । कुश, कश, कस, खश, खस, क्षस, कसान, खसान, ककेस,ककेसस, ककेसियन, आदि शब्द बनेको पाइन्छ । नेपालमा खसले राज्य गर्ने भुगोलका राज्य खसान, त्यसैबाट बनेको शब्द क्षेत्री, खत्री, खसानमा बसोबास गर्ने वा बसानगर्ने बस्नेत, हुन्छ यद्यपि खसानमा थरहरु कसरी बन्न गए भन्ने कुराको बेग्लै प्रसंग छ । उता उत्तर पश्चिम हालको हालको युरोप खण्ड, अफ्गानिस्तान, पाकिस्तान, भारतको उत्तर पहाडी तथा हिमाली खण्ड, जस्तै पञ्जाव, कश्मिर, देहरादून, गढवाल, दार्जिलिङ्ग, सिक्किम, आसाम, भुटान, बंगलादेश, बर्मा, नेपालको पहाडी खण्ड, यी सबै खस आर्य सभ्यताबाट प्रभावित क्षेत्र हुन् । अरु सबै देशमा कुनै न कुनै बेला तथा कुनै न कुनै अर्को देशले कब्जा गरेका देश हुन् । नेपाल मात्र यस्तो देश हो, जहाँ अरु कुनै पनि देशको कब्जामा परेन । त्यसैले बिक्रम सम्बतले राष्ट्रिय मान्यता पायो । अरु देशमा सांस्कृत रुपमा बाहेक अ्रग्रेजी क्यालेण्डर लागु भयो ।

प्राचीन आर्यहरु दुई भागमा बिभाजन भएको पाइन्छ, एउटा उत्तर पश्चिम युरोपसम्म र अर्को दक्षिण पश्चिम उत्तर अर्फिका तथा अरबसम्म । उत्तर अफ्रिका तथा अरबतिर हुनेहरु गर्मी ठाउँमा परेको र बर्षा समेत थोरै मात्रामा हुने हुनाले सयकडौं बर्षसम्म छानो नभएको तर माटाले तलो छापेको घरको छतमा सुत्ने गर्थे । त्यसै कारणले रातमा आकाशका तारा पुञ्ज, ग्रह, चन्द्रमा आदिको गति, उदय वा अस्तको हेक्का राखे । त्यसैअनुसारले तारा पुञ्ज एवं ग्रहहरुको गति अनुसार नामाकरण गरे । त्यसैको आधारमा ज्योतिषको उदय भयो । हालको अंकको अविष्कार पनि त्यहींबाटै भएको पाइन्छ ।त्यो भयो चन्द्रमासको कुरो ।

उता युरोप आदितिर रहेका आर्यहरु जाडो भुभागमा रहने गरेकाले सूर्यको उदय र अस्तको गतिअनुसार दिन, हप्ता, महिना आदिको आँकलन गरे । त्यसैको आधारमा सौर्यमासको गणना तथा गणितको अविष्कार गरे । गणितभने भिन्नै खालको थियो भन्ने कुरा अनुसन्धानात्मक लेखहरुमा उल्लेख छ । यसरी सौर्य गणना अनुसार ५२ हप्ता, १३ महिना र ३६५ दिनको १ बर्ष हुन्छ भन्ने परिणाम आयो । त्यो बेला ४ हप्ताको १ महिना भनेर मानियो । यो कुरा रोमबाट शुरु हुँदै ग्रीकले सुधार गरेको भन्ने कुरा उल्लेख छ । यो लगभग इसापूर्ब ४०० बर्ष पहिलेको कुरो हो । त्यससैलाई परिमार्जन गर्दै इसाको छैठौं सताब्दिमा आएर पोप ग्रेगोरीले अरु परिमार्जन गरेको कुरा उल्लेख छ ग्रेगोरी यसलाई पछि गएर पोप जर्ज भन्न थालियो । त्यही ग्रेगोरी क्यालेण्डर इसवी सनमा रुपान्तरण भएको पाइन्छ । उनीहरु पछि क्रिश्चियन भएपनि आर्य बंश नै थिए । हो, यही आर्यबंश खस आर्य हो अर्थात त्यो बेलाको ककेशियन आर्य । संस्कृत भाषाको प्रादुर्भाव वा समायोजन जर्मनी, फ्रान्स आदि ठाउँबाट भएको पाइन्छ जो पछि सर्बत्र फैलियो । संस्कृतमा कुश भनेको घाँस हो । त्यसै कुशबाट कुशे मैदान बन्यो । त्यसै कुश मध्येको बिशेष घाँसलाई हिन्दू संस्कारमा पबित्र कुश मानिन्छ । त्यसै कुशबाट ककेशिया, ककस, कस, कजक, कजकिस्थान हुँदै खस बन्यो । खसहरुले सौर्यमासको परम्परा त्यसरी ल्याए ।

यस बारेमा धेरै मसिना कुरा उल्लेख्य छन् । धेरै रमाईला कुरा पनि छन् । यहाँ सङ्क्षेपमा यतिसम्म उल्लेख गरौं, नेपाल लगायत बिभिन्न स्थानमा रहेका खसआर्यहरुले सौर्य मासको क्यालेण्डर वा पात्रो लागु गरे । राज्य छिन्न भिन्न हुनु, बिलय तथा बिस्तार हुँदै जानु, देशको सबै ब्यवस्था राज्यको हातमा हुनु तथा राजा तथा शासकहरु नै शिक्षादेखि बिमुख हुनुले त्यस प्रकारका क्यालेण्डर वा पात्रा सुसुप्त अवस्थामा रहे । चिना कुण्डली आदि बनाउने काममा रहे । मान्छे मर्दा मृतकका चिना समेत जलाउने चलन बन्यो । त्यसैले पनि पुराना कुराको निरन्तरता भएन वा इतिहास मेटिने अवस्थामा रह्यो । खसआर्यको शासनकाल रहेको जुम्ला राज्यले पनि त्यस्तो पात्रो बनाएर सरकारी मान्यतामा प्रयोग गर्न जानेन । त्यसो हुँदा हुँदै पनि त्यो बेलाका पढेलेखेका मान्छे, ज्योतिष, विद्वानहरुले त्यस्तो पात्राको प्रविधि जिबितै राख्न सके । जब बिक्रम सम्बतको एघारौं सताब्दिपछि पुराना सम्राटहरु कम्जोर हुँदै गए । नयाँ सम्राट वा राजाहरु तुलनात्मक रुपमा उदार बन्दै गए । खसआर्यहरु बिस्तारै फैलँदै गए, त्यस परम्परागत पात्राले पनि मान्यता पाउन थाल्यो ।

यता दक्षिण पश्चिमका आर्यहरुको भारतमा चन्द्रमासको पात्रोको बिस्तार गर्न थाले, प्रचार गर्न थाले । शिक्षाको केन्द्र भारतको वाराणसी, हरिद्वार आदि स्थानमा शैक्षिक केन्द्रहरु पुनस्थापना हुन थाले । ती शैक्षिक केन्द्रहरु करीब ७ सय बर्ष पहिलेसम्म लोप जस्तै थिए । एघारौं सताब्दिसम्मको ७ सय बर्षलाई विश्वमै अन्धकारको अवधि मानिन्थ्यो, दास युग भनेर मानिन्थ्यो, क्रमशः खुल्दै गयो । त्यसै अवधिमा चन्द्रमास र सौर्यमास पात्रोलाई समायोजन गरेर लागु गर्न थालियो । भारत पटक पटक बिदेशी शासकको कब्जामा परेको हुनाले अंग्रेजी क्यालेण्डरले मान्यता पायो जो सौर्यमासको आधारमा थियो । सौर्य र चन्द्रमासको पात्रो भारतमा सरकारी मान्यतामा लागु हुन सकेन ।

यता नेपालमा तिथि मिति दुबै भएको पात्राले त्यो बेलामात्र सरकारी मान्यता पायो जुनबेलाबाट नेपालमा ससाना भुरे टाकुरे राज्य एकीकरणको चरणमा आए । फलस्वरुप पृथ्बीनारायण शाहको एकीकृत नेपालको कालबाट आज हामीले प्रयोग गरेको पात्राको आधारमा इतिहास लेखिन प्रयत्न भयो । समाजले वा ज्योतिष शास्त्रले बिक्रम सम्बत्कै प्रयोग गर्न थाल्यो । त्यो बेला नेपालमा शक सम्बत्ले सरकारी मान्यता पाएको थियो । शुरुमा शक सम्बत्लाई हटाउन निकै दुःख भयो । सकारात्मक परिवर्तन पनि स्वीकार गर्न नसक्ने हाम्रो परम्परा आजसम्म कायम छ । अन्ततः शक सम्बत्को १८२३मा मात्र बिक्रम सम्बतले आधिकारिक रुपमा सरकारी मान्यता पाएको देखिन्छ । त्यो बेला भनेको बिक्रम सम्बतको १९५८ साल हो । बिक्रम सम्बत् १९५८मा नेपालका राजा पृथ्बी बीरबिक्रम शाह थिएभने प्रधानमन्त्री देवशम्शेर थिए । यसै कारणले स्कन्दगुप्त र देवशम्शेरको तुलना गरिएको हो । त्यसै कालमा गोरखापत्रको प्रकाशन शुरु भएको हो र बिक्र सम्बत् उल्लेख गरिएको हो । त्यसै मुताविक त्यसभन्दा पहिलेका इतिहासमा शक सम्बत् लेखिएकोलाई रुपान्तरण गरेर हो वा संशोधन गरिएको हो । त्यसभन्दा पहिलेका नेपालको सबैजसो इतिहास र तिथि मिति अंग्रेजले खोजेर वा अनुसन्धान गरेर लेखिदिएको हो जसममा इसवी सम्बतमा लेखिएको पाइन्छ । नेपाल सम्बत् जसले चन्द्रमासलाई नै आधार मान्छ, पृथ्बीनारायण शाहको उदय पछि त्यो पनि ओझेलमा पर्दै गयो । यसरी नेपालमा गते र तिथि सहितको आधुनिक पञ्चाङ्ग, पात्रो वा क्यालेण्डर जे भनौं शुरु भएको पाइन्छ ।

सन्दर्भ सामग्रीः
स्कन्दगुप्त, लेखक जयशंकर प्रसाद, सन् १९९९
नेपालको ऐतिहासिक विवेचना, लेखक ढुण्डीराज भण्डारी बिसं २०३८
नेपाली पात्राहरु
बिभिन्न वेभसाइटहरु
इनसाइक्लोपिडिया तथा विकिपिडियाहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।