0 COMMENTS

साउन २९ । विवादका कारण एक सातादेखि रोकिएको नेविसंघको महाधिवेशनमा बन्दसत्र नै नगरी निर्वाचनका गरिने भएको छ ।

यही तयारीमा निर्वाचन समिति र पार्टीको निर्देशक समितिका नेताहरु जुटेका छन् । अझैसम्म पनि प्रतिनिधिको नाम सार्वजनिक गरिएको छैन ।

आज १ बजेसम्ममा वेभसाइटमा नाम सार्वजनिक गर्ने र त्यसैका आधारमा प्रतिनिधि परिचय दिने तयारी गरिएको छ । आज दिनभरमा परिचय पत्र वितरण गरिने छ ।

आइतबार नेतृत्वको आकांक्षीहरुको मनोनयन दर्ता गरिने तथा सोमबार निर्वाचन गर्ने व्यवस्था मिलाउन निर्वाचन समिति जुटेको छ । मतदाताको अन्तिम नामावली नै प्रकाशन गर्न ढिलाई भएकाले आइतबार मतदान गर्ने सम्भावना नरहेको हो ।

बुधबार प्रतिनिधि विवाद हल भएपनि विद्यार्थी नेता कुन्दन काफ्ले समूह र पूर्व अध्यक्ष महेन्द्र शर्मा समूहले शुक्रबार मात्रै प्रतिनिधिको सूची निर्वाचन समितिमा बुझाएका थिए ।

प्रतिनिधि विवादकै कारण बन्द सत्र हुन नसक्दा देशभरबाट राजधानी ओइरिएका हजारौं विद्यार्थी अलपत्र बनेका छन् । केहीलाई स्वास्थ्य समस्यासमेत देखि थालेको छ ।

आइतबारबाट निर्वाचनको कार्यक्रम सुरु हुने भएपनि आ–आफ्नो प्यानल बनाउन नेताहरुले अझै सकेका छैनन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष प्यानल मिलाउन जुटेका छन् ।

नेताका घरदेखि पार्टी प्यालेस र होटलहरुमा गुटगत छलफलहरु भइरहेका छन् । अध्यक्षमै दर्जन आकांक्षी भएपछि नेताहरुलाई मिलाउन गाह्रो परेको हो ।

देउवा पक्षबाट नयनसिंह महर र जितजंग वस्नेत मध्ये एक तथा नेता पौडेल पक्षबाट मनोजमणि आचार्य तथा सिटौला पक्षबाट कुन्दन काफ्ले अध्यक्षको प्रत्यासीमा रहने सम्भावना रहेको बताइएको छ ।

उता बन्दसत्र र मतदान हुने स्थान भनि तोकिएको पार्टी कार्यालय परिसर सुनसान जस्तो देखिन थालेको छ । संगठन भित्र बढेको विवादका कारण धेरै प्रतिनिधिहरुले दिग्दारी मानेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।