0 COMMENTS

ground appleभूँइस्याउ अर्थात ग्राउण्ड एप्पलको खेती दक्षिण अमेरिकी देश पेरुबाट सुरु भएको हो । पेरुपछि क्रमश यसको खेती अर्जेन्टिना, जापान, अमेरिका, चीन, न्युजिल्याण्डलगायतका थुप्रै देशहरुमा विस्तार भएको पाइन्छ । सन् १९८० तिर नेपालमा आएका एक जापानी पर्यटकले यसको बिरुवा ल्याएर पोखराको एउटा होटलको गमलामा रोपेका थिए । सोही बिउबाट पोखराका किसान सुदर्शन कार्कीले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । त्यसैबाट नेपालमा भुँइस्याउको खेती विस्तार हुँदै आएको छ ।

भुँइस्याउको उपयोगिताबारे जानकारी भएपछि पोखरा, मकवानपुर, नुवाकोट, संखुवासभाका केही किसानले यसको खेती गर्न थालेका छन् । यसको औषधीय गुण र उपयोगिताबारे जानकारी भएपछि तेह्रथुममा समेत यसको खेती सुरु गरिएको हो ।

स्याउ, नासपाती, खरबुजा र गाजरको जस्तो मिश्रित स्वाद पाइने यो फलमा प्रसस्त मात्रामा कार्बोहाइड्रेट, ग्लुकोज, क्याल्सियम र पानी पाइन्छ । यसमा ९० प्रतिशत पानीको मात्रा हुन्छ । समुद्र सतहदेखि ३ हजार मिटरसम्मको उचाईमा खेती गर्न सकिन्छ । भूईस्याउका लागि पानी लाग्ने तर नजम्ने भिरालो जमिन चाहिने भएकोले नेपालका जुनसुकै क्षेत्रमा यसको सजिलै खेती गर्न सकिने देखिन्छ । सहरी क्षेत्रमा यसलाई मलिलो माटो जम्मा गरेर खाल्टो खनेर, गमला वा प्लाटिकका भाँडामा समेत रोप्न सकिने जानकारहरु बताउँछन् ।

यो फलको धेरै उपयोगिता भएकोले अन्य देशका मानिसहरुले पनि यसलाई अचम्मको फल भन्ने गरेका छन् । यो फललाई फलफूलकारुपमा, सलादकारुपमा, विभिन्न रोगहरुका लागि औषधीकारुपमा, मधुमेह भएका बिरामीका लागि चिनीको विकल्पकारुपमा प्रयोग गर्न सकिन्छ । संसारका विकसित देशहरुमा मधुमेहका बिरामीहरुले आयुर्वेदिक औषधीका रुपमा यसको सेवन गर्दै आएको पाइन्छ । साथै मुटुको रोग, पाचन प्रणाली, फोक्सोको समस्या, रगतमा ग्लुकोज र चिनीको मात्रालाई सन्तुलनमा राख्न यो फलको सेवनले ठूलो सहयोग गर्दछ । यसको सेवनले मोटोपन घटाउन समेत सहयोग गर्दछ ।

पिंडालु र सखरखण्ड जस्तै जमिनमुनी फल्ने भुँइस्याउको खेती गर्न सजिलो हुने भएकोले यसबारे जानकारी लिने अधिकांश किसानहरु यसको खेती गर्न उत्साही भएको किसान अर्यालको अनुभव छ । किसानहरुले भुँइस्याउको खेतीमा उत्साह देखाउन थालेपछि आगामी वर्ष धेरै परिमाणमा बीउ र फल उत्पादन गरि बिक्रीबितरण गर्न लागिएको संक्रान्ति बजारका किसान अर्याल बताउँछन् ।

नेपाली माटोमा सजिलै खेती गर्न सकिने बहुउपयोगी भूँइस्याउको खेती विस्तार गर्न सकेको खण्डमा वर्षेनी भारत र चीनबाट आयात गरिने लाखौं मूल्य बराबरका फलफूललाई विस्थापन गर्न यसले सहयोग गर्ने देखिन्छ । यसका साथै नगदेबालीका रुपमा यसको खेती गर्नसके ग्रामीण क्षेत्रमा आयआर्जनको अवसरलाई समेत बढावा दिन सकिने देखिन्छ । साथै स्थानीयस्तरमै जैबिक पद्धतिबाट भुँइस्याउको उत्पादन गर्न सके यसले विभिन्न रोग भएका मानिसका लागि जडिबुटीको समेत काम गर्नसक्ने समेत देखिन्छ ।

यो फलबाट शरीरलाई हुने फाइदाहरु ः–

१) भूँइस्याउ अर्थात ग्राउण्ड एप्पलको सेवन मधुमेह रोग हुनेहरुका लागि उपयोगी मानिन्छ । यसको सेवनले मधुमेहका बिरामीलाई शरीरमा चिनीको मात्रा बढ्न दिदैन । संसारका विकसित देशहरुमा मधुमेहका बिरामीहरुले आयुर्वेदिक औषधीका रुपमा यसको सेवन गर्दै आएको पाइन्छ ।
२) यो फलको सेवनले ब्लड सुगर म्यानेजमेन्ट अर्थात रगतमा हुने चिनीको मात्रालाई सन्तुलित बनाउन सहयोग गर्दछ ।
३) पाचन प्रणालीमा आवश्यक पर्ने ‘सोलुवल फिवर’ यस फलमा पाइने हुनाले यसको सेवन गरेमा आन्द्रामा हुने समस्याहरु (जस्तैः आन्द्रामा दिसा टाँसिने, पाचन प्रक्रियामा देखिने गडबडीहरु) को निराकरण गर्न सहयोग गर्दछ ।
४) शरीरमा आवश्यकता भन्दा बढी ग्लुकोजको मात्रा जम्मा भएको छ भने यसको सेवनले शरीरमा ग्लुकोजलाई नियन्त्रण गर्दै अनावश्यकरुपमा मोटाएका मानिसहरुको तौल घटाउनका लागि यो फल उपयोगी मानिएको छ ।
५) फोक्सोलाई स्वस्थ्यकर बनाउन यो फलको सेवनले सहयोग पुर्याउँछ ।
६) यसको पातलाई चियाको रुपमा सेवन गर्दा मधुमेह र मुटुका रोगीहरुलाई फाइदा पुग्दछ ।
७) यो फलको सेवनले मानव शरीरमा रोग निरोधक शक्तिलाई बढाइदिन्छ ।
८) यो फलमा क्याल्सियको मात्रा बढी हुने भएकोले यसको सेवनले मानव शरीरको हड्डीहरुलाई मजबुत बनाउने काम गर्दछ ।
९) यो फलको नियमित सेवनले क्यान्सर बिरुद्ध लड्ने शक्ति बढाउने काम गर्दछ ।

भूँइस्याउको दीगो खेती व्यवस्थापन गर्न सकिएको खण्डमा ग्रामीण भेगमा बस्ने युवाहरुलाई रोजगारीको अवसर दिलाउन सकिन्छ । साथै विभिन्न रोग भएका मानिसहरुका लागि यो एउटा रामबाण जस्तै जडिबुटीको रुपमा प्रयोग गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।