0 COMMENTS

indexहिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।

यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ ।

मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि पनी मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । पोखराबाट हिँडेको ७ देखि १० दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ ।

खासगरी मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । हामी काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । धार्मिक हिसावले मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ ।

तातो पानीमा नुहाउन धेरै नेपाली तथा विदेशीहरु पुग्ने गर्छन् । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ । धार्मिक हिसावले समेत यो प्रशिद्ध मानिन्छ ।

 

 मुक्तिनाथ मन्दिर  नेपालका चार धाममध्ये एक हाे। मुक्तिनाथ दर्शन पछि वैकुण्ठवास भइन्छ भन्ने विश्वास छ। खासमा मुक्तिनाथ विष्णुको मन्दिर हो। मन्दिरभित्र विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति छन्। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ पनि हो मुक्तिनाथ। हिन्दूका पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा गर्ने चलन छ। मुक्तिनाथ र गुम्बामा झुमाले पूजा र रेखदेख गर्छन्। हिन्दु पण्डितले आरती र पुष्पाञ्जली गर्छन्।
‘मोक्ष’ प्राप्त हुने पवित्र ठाउँ मुक्तिनाथ। त्यहाँ पाइला राख्नासाथ आफूलाई पवित्र ठान्छन् तीर्थयात्री। मुक्तिनाथलाई बौद्धमार्गी ‘छुमिङ ग्यात्सा’ भन्छन्। तिब्बती भाषाको यो शब्दले ‘सय पानी’ भन्ने बुझाउँछ। पृथ्वी, हावा, पानी, आगो सबैको प्रतिनिधित्व मुक्तिनाथमा पाइन्छ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट पूर्वमा पर्छ मुक्तिक्षेत्र (३,७१०मिटर)। मन्दिर क्षेत्रबाट धौलागिरि, निलगिरि, खातोडखाड, गणेश, थोरङ्लालगायत हिमचुली देखिन्छ। प्यागोडा शैलीको तीनतले मन्दिर छ। मन्दिर पुनर्निमाण गरिएको छ। कैलाश पहाडको काखमा अवस्थित मुक्तिनाथ बह्माले सृष्टि शक्ति आर्जन गरेको ठाउँ मानिन्छ। मन्दिरको उत्तरपूर्व ज्वालामाई मन्दिर छ। मन्दिरभित्र आगोको ज्योति बलिरहेको हुन्छ।
बौद्ध धर्मावलम्बी मन्दिरभित्र ‘ओम् माने पेमे’ पुकारिरहन्छन्। मन्दिरभित्र शंख, चक्र, गदा, पदमधारण रुपि तामाको पूर्ण कदको नारायणको मूर्ति छ। मन्दिर वरिपरि साँढेको मुखाकृतिबाट पानी बगिरहन्छ। सहस्र मुलबाट निस्केको एक सय आठ धाराबाट बगिरहेको पानी चिसो हुन्छ। तीर्थयात्री चिसोको प्रवाह नगरी सबै धारामा नुहाइरहेका देखिन्छन्। नुहाएमा पाप पखालिन्छ भन्ने विश्वास छ।
मन्दिरअगाडि दुई पोखरी बनाइएका छन्। त्यहाँ एकसय आठ धाराको पानी संकलन गरिएको छ। धारामा नुहाउन नसक्नेहरु पोखरीमा डुबेर पुण्य कमाउँछन्।
मुक्तिनाथमा चैतदेखि जेठसम्म भीड लाग्छ। बर्खामा कम हुन्छन्। दसैंको सोह्र श्राद्धका बेला थेगिनसक्नु भीड हुन्छ। मोटर बाटो खुलेपछि यात्रु बढेका हुन्। नेपाली र भारतीय बढी हुन्छन्।मुक्तिनाथका  पुजारी  भन्छन्, ‘वर्षमा ५ लाखजतिले दर्शन गर्छन्।’मन्दिरमा बिहान ६ देखि साढे ७ बजेसम्म र बेलुकी ६ देखि ७ बजे नियमित पूजा हुन्छ।
पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै मुक्तिनाथ सडक यात्रा गरिन्छ। मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथको दुरी २६ किमि छ। नांगा पहाड माथि दौडिरहने गाडी, गाडीभित्रबाट देखिने अग्ला पहाड र हिमालले सबैको मन लोभ्याउँछ। कच्ची बाटोमा उफ्रिँदै त्यहाँ पुगेको पत्तै पाइन्न।
पोखरा–जोमसोम बीस मिनेटको हवाई उडान हुन्छ। त्यसमा प्रायः विदेशी चढ्छन्। नेपालीले सितिमिति टिकट पाउँदैनन्। किनकि एयरलाइन्सहरु विदेशीसँग डलर लिन पाउँछन्। बेनीबाट जोमसोम ७६ किमि। कच्चि सडकमा बस वा जीपमा ६ घन्टा लाग्छ। जोमसोमबाट मुक्तिनाथसम्म जिपमा दुई घन्टा।
मुक्तिनाथ जिपपार्कबाट मन्दिर पुग्न आधा घन्टा उकालो चढ्नुपर्छ। मोटो ज्यान भएकाहरु फतक्कै गल्छन्। त्यहाँ मोटरसाइकल भाडामा पाइन्छ। स्थानीय युवाले मोटरसाइकलमा पुर्यानइदिएको डेढ सय रुपैयाँ लिन्छन्। ३०/४० वटा मोटरसाइकल भाडामा चलायकाे छ । 
बेनीको अव्यवस्थित बसपार्कमा बसको छतमाथि चढेर पोका, पुन्तुरा बाँधिरहेकाहरु मुक्तिनाथ पुगेर १०८ धारा नुहाउने सपना बोकेका हुन्छन्। बसको टिकट काट्न समय लाग्छ। कि त रिजर्भ गर्नुपर्छ, कि चिनजानको व्यक्तिसँग सम्पर्क राख्नुपर्छ। सिधै गएर टिकट काट्न निकै कठिन पर्छ।बेनीबाट कालीगण्डकीको तिरैतिर पहरा फोरेर बनाइएको मोटरबाटो धेरै ठाउँमा डरलाग्दो देखिन्छ।

मुक्तिनाथ मुन्तिर रानीपौवा बजार छ। तीन सय वर्षअगाडि सुवर्ण प्रभाले ‘धर्मपौवा’ बनाएको हुनाले रानीपौवा नाउँ रहेको। बजार फैलिँदैछ। त्यहाँ कँक्रिट घरहरु थपिँदैछन्। रानीपौवामा खान/बस्न होटल लज र रेस्टुराँ छन्।  तीर्थयात्रीले रानीपौवादेखि उकालो लाग्दै गर्दा ढुंगा चढाएर खात पारेका छन्। फूलमाला, अबिर होइन, ढुंगा चढाएको देखिन्छ। मन्दिर प्रवेशसँगै छङछङ पानी, चराचुरुंगीको आवाजले मन शान्त बनाउँछ। रूख, बिरुवा, भुइँ जताततै रंगीन ध्वजापताका सजाइएको छ। हातैले छुन सकिएला जस्तै चारैतिर हिमाल, चिसो बतासले भिन्नै ठाउँमा पुगेको अनुभव दिलाउँछ।
कागबेनीमा श्राद्ध
मुक्तिनाथ जाँदा कागबेनी बाटैमा पर्छ। कागबेनी संगममा शिला खोज्ने, सुन, शिला फुटाउने, श्राद्ध गर्ने गरिन्छ। पितृलाई तर्पण दिन नेपाली र विदेशी पुग्छन्। ‘का’ भनेको ‘काली’ ‘ग’ भनेको ‘गण्डकी,’। ‘वेणी’को अर्थ ‘संगम’।
किंवदन्तीअनुसार भुसन्डु ऋषिले तिलिचोमा तपस्या गरेका थिए। त्यहाँ गर्मी भएपछि उनी कागखोलामा आएर स्नान गरेर पितृका लागि तर्पण दिनुपर्छ भनिएको शास्त्रमा छ। कागवेनीमा भेटिएका पण्डित यज्ञप्रसाद आचार्यका अनुसार श्राद्ध गर्न भारतबाट पनि आइपुगेका हुन्छन्। देशभित्र र बाहिरबाट मुक्तिनाथ र दामोदरकुण्डको संगम कागवेनीमा पितृलाई श्राद्ध दिनेहरु पुग्छन्।
आश्विन कृष्णपक्ष १६ श्राद्धको बेला घुइँचो लाग्छ। अन्य समयमा समेत धर्मावलम्बी पुग्छन्। ‘पहिले डोकोमा सामान बोकेर श्राद्ध गर्न आउँथे। अहिले गाडीमा आउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।