0 COMMENTS

taplagungeपाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । यहाँ सुकेटार विमानस्थलबाट २ दिन पैदल हिँडेर पुगिन्छ। यो मन्दिरमा वर्षभरि मेला लाग्छ|
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन। लिम्बूभाषामा “मुक्‍तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन।

१. उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो। आत्मवोध प्राप्‍त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।
यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ ।
आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

२. विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी
माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ। तर पाथीभरा धाममा गर्भवति (Pregnant), नछुने (पर सरेकी Monthly Course) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रुपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रुपमा) चढाउने गर्दछन ।

३. पाथीभरा देवी उत्पतिस्थल
फेदीबाट लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाई पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरु साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाई आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरुमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरुको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाई स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं-आफैंमा हराउनुहुन्छ ।

अब तपाईको ध्यान पाथीभरा मन्दिरतर्फ आकर्षित गरौं क्यार। दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरुको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाई देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ। भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो (८’६”) भगवतिको प्रतिमळ् हो । अब तपाई देवीको दर्शन तथा पूजा अर्चनाको तयारीमा लाग्नुहोस ।
देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।