काठमाडौं, १५ साउन । नेपाल विद्यार्थी सङ्घका नेताहरुले विधिवत् महाधिवेशनको माग गर्दै आजदेखि आमरण अनशन सुरु गरेका छन् ।
विधान विपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यका साथै अन्य जिल्लामा वैधानिक तबरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी आज अपराह्न ४ बजेदेखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेका हुन् ।
नेवि सङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेवि सङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेल अनशनमा बसेका हुन् ।
पूर्व केन्द्रीय सदस्य सापकोटा यसअघि पनि विधानसम्मत महाधिवेशनको माग राखी नौ दिनसम्म अनशन बसेका थिए ।
यस्तै पार्टी कार्यालयमै विधिवत् महाधिवेशनको माग गर्दै नेवि सङ्घका पूर्व कोषाध्यक्ष पदमराज पन्तको नेतृत्वमा साउन १३ गतेदेखि रिले अनशन बसेका छन् ।