काठमाडौं ६,श्रावण /सरकार बिरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्ने कार्यसुची सहित व्यवस्थापिका संसदको बैठक आज बोलाइएको छ । बिहान ११ बजे बैठक बोलाइएपनि दलहरुबीच कार्यसुचीका बिषयमा विवाद कायमै रहेकाले सहमतिका लागि दुई बजेसम्म स्थगित गरिएको छ । गत शुक्रवार कार्यसुचीमा रहेको बजेट आश्रित विधेयक हटाएर अविश्वास प्रस्तावमा छलफल गर्ने गरी आजको बैठक बोलाइएको हो । कार्यसुचीबाट विधेयक हटाएको भन्दै सत्ताको नेतृत्वकर्ता दल एमालेले आपत्ति जनाउदै आएको छ । यसैबीच सभामुख ओनसरी घर्तिले अहिले मुख्य दलका शिर्षस्थ नेतासंग छलफल गरिरहनुभएको छ ।
कार्यसुचीबारे कार्यव्यबस्था परामर्ष बैठकमा पनि सहमति नजुटेपछि सभामुख घर्तिले सहमतिको पहलस्वरुप कंग्रेस, एमाले र माओबादी केन्द्रका शिर्षस्थ नेतासंग संयुक्त छलफल गर्नुभएको हो । यसैविच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले अविश्वास प्रस्तावका पक्षमा लाग्न ह्वीप जारी गर्दै संसद वैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । विहान वसेको संसदीय दलको वैठकले अविश्वासको प्रस्तावका पक्षमा रहन र संसद भवन नछाडन भन्दै ह्वीप जारी गरेको हो । एमालेले आश्रित विधेयक पारित नगरेसम्म अविश्वास प्रस्तावमा छलफल गर्न नदिने औपचारिक निर्णय गरिसकेको छ ।