नेपाली राजनीतिको एक शिखर व्यक्तित्व जसले झण्डै चार दशकसम्म लगातार नेपालको आधुनिक राजनीतिक इतिहासलाई आन्दोलित, आकर्षित एवम प्रभावित गरिरह्यो र सामाजिक तथा सांस्कृतिक परिवर्तनका मान्यताहरुमा सर्वथा नयाँ आयाम थपिरह्यो, त्यो युगपुरुष हाम्रो माझ नरहेको झण्डै तीन दशक पुग्न थालिसकेको छ । एक पटक हेन्री किसिन्जरले भनेका थिए—“राजनेताहरुलाई अन्य राष्ट्रहरुका राजनीतिक, शक्ति, क्रियाकलाप र घरेलु अवरोधहरुले नियन्त्रित गर्न खोज्दछन्, तर आदर्श राजनेताले नियन्त्रण र अवरोधहरुलाई विवेचना गर्न,आफ्नो अधीनमा राख्न र आफ्नो इच्छा अनुसार मोड्न सक्नुपर्दछ ।” किसिन्जरले भनेझैं अनिश्चित सङ्क्रमणको दलदलमा परिरहेको नेपालका लागि आन्तरिक र बाह्य संरचनामा विद्यमान अवरोधहरुलाई बुझ्न, नियन्त्रणमा राख्न र राष्ट्रिय हित अनुकूल मोड्न सक्षम नेतृत्वको आवश्यकता रहेको अवस्थामा उहाँको अभाव हर नेपालीको लागि खड्किनु स्वाभाविकै हो । यो असुखद वास्तविकता हो, दैहिक दृष्टिले उहाँ हाम्रो माझ हुनुहुन्न तर उहाँले छोडेर गएका विचार, चिन्तन र आदर्शहरु अहिले पनि त्यत्तिकै सान्दर्भिक र समयसापेक्ष रहेका छन् ।
जननायक विपी कोइरालाले लोकतान्त्रिक समाजवादी आन्दोलनमा दिनुभएको योगदान र वर्तमान राष्ट्रिय परिप्रेक्ष्यको विवेचना समय र समाज विकासको सापेक्षतामा गर्नु उपयुक्त होला । आजको विश्व आजभन्दा तीन दशक अगाडिको अवस्थामा छैन । असीका दशकको अन्त्य र नब्बेका दशकको सुरुवाततिर उदार लोकतान्त्रिक लहर सँगसँगै आएको अािर्थक उदारीकरणको प्रवाहले समाजवादी चिन्तन र सोचमा नयाँ चुनौतीको सिर्जना गराएको छ । सूचना, प्रविधिमा आएको क्रान्तिले राष्ट्र—राष्ट्रहरु बीचका सम्बन्धमा नयाँ आधार र मान्यताहरु थप्दै गएको छ । विश्व आर्थिक, सामाजिक संरचनामा रहेका पुराना मूल्य पद्धतिहरु वदलिंदै छन् । साँच्चि नै सूचना प्रविधिको अभूतपूर्व विकासले विश्वलाई एउटै गाउँजस्तै बनाएको छ । राष्ट्रिय परिप्रेक्ष्यमा हेर्दा एक दशकभन्दा बढी समयसम्म चलेको सशस्त्र द्वन्द्वले मुलुक आक्रान्त बनायो । इतिहासको कुनै पनि कालखण्डमा नेपाली जनताले यत्रो असुरक्षा, यातना र वियोगको पीडा सायदै भोग्नुप¥यो होला । आज मुलुक १२ बुँदे समझदारीदेखि द्वन्द्व व्यवस्थापनका सन्दर्भमा आठ बुँदे सम्झौता एवम् संयुक्त राष्ट्रसङ्घलाई पठाएको पाँचवुँदे पत्र, संविधान सभाको दोस्रो निर्वाचनसम्म आइपुगेको छ । अझै द्वन्द्व रुपान्तरणको प्रक्रियाले ठोस आकार लिन सकेको छैन । सङ्क्रमणले वाञ्छित राजनीतिकदिशा लिन्छ कि लिँदैन ?संविधान वन्छ कि वन्दैन ?आशंकाहरु सिर्जना भइरहेका छन् । समावेशी लोकतन्त्रका मान्यता अनुरुप राज्य पुनःसंरचनाका वहसहरु राजनीतिक दलका संरचनाहरुदेखि लिएर नागरिक समाजका मैदानसम्म चल्न थालेका छन् । यस्तो अवस्थामा हामी जननायक विपी कोइरालाको लोकतान्त्रिक समाजवादी आन्दोलनमा के योगदान रह्यो ? त्यसको वर्तमान अवस्थामा के सान्दर्भिकता रहेको छ ? समावेशी लोकतन्त्र र लोकतान्त्रिक समाजवादका वीचका सामीप्यता र दूरता के के हुन् ? वर्तमानमा उठेका राष्ट्रिय वहसका मुद्दाहरुले समाजवादी चिन्तनलाई अग्रगामी दिशा दिन कुन हदसम्म मद्दत पु¥याउँछन् ? र कुन हदसम्म मद्दत पुर्याउन सक्दैनन्? भन्ने विषय आजको मुख्य विषय हो ।
लोकतान्त्रिक समाजवाद भनेको सामान्य अर्थमा राजनैतिक स्वतन्त्रता सहितको जनउत्तरदायी शासन प्रणाली र न्यायोचित वितरणको प्रबन्धबाट मानिसलाई आर्थिक र सामाजिक शोषणबाट मुक्ति दिलाउने राजनैतिक–आर्थिक संरचना निर्माण तर्फ उन्मुख सैद्धान्तिक मान्यता हो । यो एक लौकिक र गतिशील विचार प्रवाह हो । मानवीय अस्मिता, शोषण र दमनका विरुद्धको आन्दोलन हो । न्याय, समानता, स्वतन्त्रता र सहचार्य यसका आधारभूत मान्यताहरु हुन् । यसको प्रयोग गणितीय हिसावले हुन सक्दैन । समाज र समय सापेक्षता यसको मौलिकता हो । आधारभूत लोकतान्त्रिक संरचना, प्रक्रिया तथा आत्मनिर्णयको अधिकार सहित समातामूलक सामाजिक–आर्थिक र राजनैतिक व्यवस्थाको निर्माण यसको शाश्वत उद्देश्य हो । लोकतान्त्रिक समाजवादी व्यवस्थाले पुँजीवाद र साम्यवादलाई समान दूरीमा अस्वीकार गर्दा गर्दै पनि यी दुवैबाट केही आधारभूत मान्यताहरु ग्रहण गरेको छ । पँुजीवादीहरुले जस्तै आत्म निर्णयको अधिकार र वैयक्तिक स्वतन्त्रताको वकालत गर्ने र साम्यवादीहरुले जस्तै आर्थिक समानताको पक्ष लिने हुनाले यदाकदा लोकतान्त्रिक समाजवादप्रति केही भ्रमहरु पनि उत्पन्न हुने गरेका छन् । तर पूँजीवाद र साम्यवादका केही आधारभूत मान्यताहरुलाई ग्रहण गर्दै पनि तिनीहरुबाट सिर्जित खरावी र विकृतिहरुका प्रति लोकतान्त्रिक समाजवादीहरु पूर्णरुपले सचेत देखिन्छन् ।
लोकतान्त्रिक समाजवादी व्यवस्थाको मौलिक तत्व लोकतन्त्र हो । समाजवादको अभ्यास लोकतन्त्रमा मात्रै सम्भव हुन्छ र समाजवादद्वारा नै लोकतन्त्रले पूर्णता प्राप्त गर्दछ । विभिन्न वर्ग, जात–जाति, धर्म र संस्कृतिमा विश्वास राख्ने विविध सम्प्रदायहरुको हित संरक्षण र तिनीहरुका बीचको व्यवहारिक समन्वय लोकतान्त्रिक समाजवादी व्यवस्थाको अर्को मौलिक मान्यता हो । कतिपय पूँजीवादी दार्शनिकहरु आर्थिक सामाजिक क्षेत्रलाई नागरिकहरुको नितान्त निजी क्षेत्र मानेर राज्य व्यवस्था तटस्थ रहनुपर्छ भन्ने दृष्टिकोण राख्दछन् । सामाजिक–आर्थिक आधारहरु सबल र सक्षम रहेका वर्ग वा व्यक्ति विशेषका लागि राज्य तटस्थ रहनुको अर्थ गरिब, निरीह र उपेक्षित वर्गका प्रति शोषण र दमन गर्ने मैदान खालीगरिदिनु हो । लोकतान्त्रिक समाजवादी व्यवस्थाले संम्पत्ति र शक्ति दुवैको समान र न्यायपूर्ण वितरणको अपेक्षा राख्दछ । यद्यपि आजको लोकतान्त्रिक समाजवादी शासन व्यवस्थाले बीसौं शताब्दीको पाँचौं र छैटौं दशकको जस्तो सोच राख्न सक्दैन । तर आज पनि राज्य आर्थिक जीवनका परिस्थितिहरुलाई बदल्ने प्रतिबद्धताबाट भाग्न पाउँदैन । सम्पत्ति र अधिकार विहीन वर्गको एकतालाई माक्र्स र एंगेल्सले आफ्नो जीवनस्तर उठाउने क्रममा एक पूर्व शर्त ठान्नुको पछाडि पनि निश्चित रुपले केही अर्थ छ । मुठ्ठीभर व्यक्तिको वहुसङ्ख्यक जनतामाथिको वर्चश्व र शोषणलाई लोकतान्त्रिक समाजवादी राज्य व्यवस्थाले मूकदर्शक भएर हेरिरहन सक्दैन । आम नागरिकहरुका बीचको आपसी एकता र एक आपसको आत्म निर्भरताको चेतना समाजवादी राज्यव्यवस्थाको अर्को आधार हो । लोकतन्त्र भनेको केवल पार्टी स्वतन्त्रता, आवधिक निर्वाचन र बहुमतको सरकार मात्रै होइन, यो त आम नागरिकहरुको जीवन पद्धति पनि हो । त्यसैले सामाजिक जिम्मेवारीबाट मुक्त राज्य व्यवस्था समाजवादी हुनै सक्तैन ।
लोकतान्त्रिक समाजवादीहरुका लागि पुरातनपन्थी राज्य व्यवस्थाको पुनः संरचना अर्को दायित्व हो । यथार्थमा भन्ने हो भने जुन वर्गका लागि सामाजिक संरचनाको आवश्यकता लोकतान्त्रिक समाजवादी शासन व्यवस्थाले ठान्दछ, त्यो पुनः संरचनाको आधार तिनै मानिसहरुको वास्तविक रहन–सहन, क्षमता र कार्य प्रणालीबाट स्थापित हुनुपर्दछ । एउटा समाजवादी राज्य व्यवस्थाले सीमान्त अवस्थामा रहेको विशालतम् वर्गको अनुभव र आवश्यकताबाट आपूmलाई अभिप्रेरित गर्न सकने भने समाजवादीहरुका लागि त्यो भन्दा अर्को बिडम्बना के हुने ?
अर्को कुरा लोकतान्त्रिक समाजवादी शासन व्यवस्थाले सामाजिक सुरक्षा व्यवस्थाको अवधारणालाई इन्कार गर्न मिल्दैन । विपन्न, पिछडिएका र सीमान्त अवस्थामा रहेका वर्गका लागि यो व्यवस्था शिक्षा, औषधोपचार, रोजगारको अतिरिक्त वृद्ध, असहाय, अपाङ्ग आदिको पक्षमा उभिनै पर्दछ । लोकतान्त्रिक समाजवादी शासन व्यवस्थामा राज्य शक्तिशाली र ठालुहरुका हितको संरक्षणका लागि लुटको उपकरण बन्न सक्दैन । लोकतान्त्रिक समाजवादी शासन व्यवस्थाले माथिबाट थोपरिएका पक्षहरुलाई ग्रहण गर्न सक्दैन, न कुनै व्यक्ति वा समुदायको विशेषाधिकारलाई प्रोत्साहित गर्न सक्दछ । शक्ति र सम्पत्तिको समान र न्यायोचित वितरणको संम्बन्धमा प्रश्न उठ्ने गरेको छ । पहिले उत्पादन बढाउनुपर्छ । उत्पादन नबढाएसम्म राज्य सम्पन्नशाली हुन सक्दैन । तुरुन्तै वितरण गर्दा उत्पादनमाथि आघात पर्दछ भन्ने गरिन्छ । तर प्रश्न उठ्छ–राष्ट्र सम्पन्नशाली नभएसम्म गरिब र शोषित वर्गलाई कति समयसम्म भोकै र नाङ्गै बस भन्ने ? उत्पादनका नाममा जनताका आवश्यकताहरुलाई कति दिनसम्म थाति राख्ने ? उत्पादनका प्रक्रियालाई नै वितरणमुखी तुल्याउन मिल्ने कि नमिल्ने ? यो यस्तो प्रश्न हो, जसको उत्तर लोकतान्त्रिक समाजवादी समाजको निर्माण गर्ने चाहने हरेक व्यक्ति र संस्थाले खोज्नुपर्ने स्थिति छ । यद्यपि विपी कोइरालाले पनि उत्पादनमा जोड दिनुभएको छ । तर उत्पादनमा जोड दिने कुरा नयाँ होइन । युरोपको औद्योगिक क्रान्ति र पँुजीवादको विकास सँगसँगै यो नारा आएको हो । दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका अधिकांश मुलुकहरुले उत्पादन वृद्धिको मसला युरोपबाटै ग्रहण गरेका हुन् । अहिले पनि यो नारा त्यत्तिकै सशक्त छ । के यो वाटोले यी मुलुकहरुको आर्थिक समस्या समाधान गर्न सकेको छ ? विचार गर्नु पर्नेअवस्था छ ।
फेरि समाजवाद भनेको विचार मात्र नभएर आचरण, व्यवहार, संस्कार र सभ्यता पनि हो । बोलिचाली, खानपिन, वसउठ जस्ता मानिसले अबलम्वन गर्ने जीवन शैलीसँग पनि यसले गम्भीर सरोकार राख्दछ । त्यसैले समाजवादी मान्यता अनुरुप समाजको पुनर्गठनको लागि नयाँ नीति र कार्यक्रम त्यतिकै महत्वपूर्ण हुन्छ तर त्यो भन्दा पहिले समाजवादी मानसिकता र चरित्रको पुनर्गठन हुनु जरुरी छ किनभने नयाँ समाजको निर्माण पुरानो मानसिकताबाट सम्भव हुँदैन ।
नेपालमा समाजवादी आन्दोलन निर्माणको क्रममा नेपाली काँङ्ग्रेसलाई वैचारिक दिशा र नेतृत्व प्रदान गर्ने काम जननायक विपी कोइरालाले गर्नुभएको हो । उहाँ समाजवादका एक प्रखर चिन्तक हुनुहुन्थ्यो । नेपालको समाजवादी आन्दोलनलाई मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवेश अनुरुप वैचारिक दृष्टिले गति प्रदान गर्ने काममा उहाँको अविस्मरणीय योगदान रहेको छ । यथार्थमा विपी कोइराला सन् १९३० को दशकदेखि आजीवन समाजवादी आन्दोलनमा प्रत्यक्ष संलग्न रहँदै आउनुभयो । भारतीय समाजवादी नेताहरुउहाँको क्रान्ति सहयोद्धा थिए । प्रारम्भमा भारतीय स्वतन्त्रता आन्दोलन र समाजवादीहरुसँगको सम्पर्कबाट विपी कोइरालाको राजनीतिक जीवन सुरुभए तापनि नेपालमा लोकतन्त्रको स्थापना र समतामूलक समाजवादी नेपाली समाजको निर्माण नै उहाँको चिन्तनको भावभूमि रहेको थियो । साथै उहाँको विचार प्रवाह विश्व सन्दर्भबाट निरपेक्ष थिएन । विश्व समाजवादी आन्दोलमा समेत सशक्त अग्रणीको रुपमा मान्यता पाउनु भएका विपी . कोइरालाले नेपालको सन्दर्भमा मात्र होइन विश्व समाजवादी दर्शनमा समेत नयाँ र मौलिक चिन्तनथप्नु भएको छ ।
उहाँको विचारमा समाजवाद भनेको एउटा ठूलो सभ्यता र संस्कृति हो, जसले केवल आर्थिक पक्षलाई मात्र नछोएर मानव सभ्यताका तमाम कलात्मक र सांस्कृतिक पक्षलाई छिचोलेको हुन्छ । मानिस केवल रोटीका लागि मात्र बाँच्दैन । रोटीले मात्र उसलाई सन्तुष्ट तुल्याउँदैन । माक्र्स र माक्र्सवादको गहन अध्ययन गर्नु भएका विपी कोइराला निःसन्देह मानिसमा विद्यमान आर्थिक आयामलाई महत्वपूर्ण मान्नुहुन्थ्यो । तर मानिसलाई केवल आर्थिक आधारमा मात्र हेर्न र मूल्याङ्कन गर्न खोजियो भने मान्छे साह्रै सानो, सीमित र क्षुद्र भएर जान्छ । मान्छे भनेको त भावना र चेतनाको प्राणी हो । मान्छेको उत्थानमा भावनाले महत्वपूर्ण स्थान ओगटेको छ । यसरी विपी कोइराला आर्थिक पक्षलाई मात्र जोड दिने र मानिसलाई केवल आर्थिक प्राणी मात्र सम्झने माक्र्सवादी विचारसँग सदैव असहमत रहनु भयो । “माक्र्सवाद र त्यसका अनुयायीहरुको भनाइलाई मात्र समाजवाद मान्ने हो भने हामी समाजवादको लक्ष्यमा कदापि पुग्न सक्दैनौं” भन्ने कुरामा विपी ले जोड दिनु भएको थियो । उहाँको चिन्तनको मूल तत्व चेतना हो, पदार्थ होइन । मस्तिष्क पक्षलाई गौण रुपमा हेरेर समाजवादी संस्कृति अगाडि बढ्न सक्दैन । यही विचारको सारको रुपमा उहाँ भन्ने गर्नु हुन्थ्यो “मानिस व्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ ।”
विपी कोइरालाको समाजवादी चिन्तनको अर्को आधार लोकतन्त्र हो । लोकतान्त्रविहीन व्यवस्था कुनै पनि हालतमा समाजवादी हुन सक्दैन । उहाँको विचारमा जनताले राजनीतिक स्वतन्त्रताको उपभोग गर्न पाएनन् भने आर्थिक समानता केवल नाराको विषय भएर जान्छ । उहाँको दृष्टिमा समाजवादका स्पष्ट रुपले दुई पोया छन्, राजनीतिक स्तरमा लोकतन्त्र र आर्थिक क्षेत्रमा गरीव जनतालाई न्याय दिने खालको विकास अर्थात् समानता । सन् १९८१ फरवरीमा अस्ट्रेलीयाको राजधानी सिड्नीमा भएको समाजवादी सम्मेलनलाई सम्बोधन गर्दै विपी ले “समाजवादीहरुका लागि संसारमा सर्वत्र चलिरहेको लोकतान्त्रिक आन्दोलनप्रति उदासीन रहनुभन्दा बढी खतरा अरु केही हुन सक्तैन” भन्ने विचार व्यक्त गर्नु भएको थियो । लोकतन्त्र उहाँको जीवन पद्धति थियो, जसको लागि उहाँ आजीवन लडिरहनु भयो । उहाँको समाजवादी चिन्तन समाज र परिस्थितिको गतिसँगै अगाडि बढेको छ । जीवनका साधन सबैका लागि समानरुपमा उपलब्ध हुनुपर्छ भन्ने दृष्टिकोण राख्ने विपी कोइराला आर्थिक विषयमताको घोर विरोधी हुनुहुन्थ्यो । उहाँको विचारमा आर्थिक क्रान्ति राजनीतिक क्रान्तिजस्तो एकै पटकमा परिवर्तनको अनुभव गराउने प्रकृतिको हुँदैन । यो त क्रमिक योजनाहरुको कार्यान्वयन हो । विपी कोइरालाका लागि उत्पादनको वृद्धि समाजवादको स्थापनाका लागि अनिवार्य आधार थियो । उत्पादनको यथेष्ट बृद्धिले न्यायोचित वितरण सम्भव गराउँछ भन्ने कुरालाई उहाँले धेरै जोड दिनु भएको छ । समाजवाद हरेक देशको परिस्थिति अनुरुप हुन्छ भन्ने दृष्टिकोण राख्ने विपी को समाजवादी चिन्तन नेपालको वस्तुवादी वास्तविकतामा आधारित छ । जुन काम गर्दा गरिब, किसान र गाउँले जनताको हित र कल्याण हुन्छ त्यो नै नेपालका लागि समाजवादी कार्यक्रम हो भन्ने उहाँको स्पष्ट धारणा थियो ।
यसरी विपी कोइरालाले नेपालको सन्दर्भमा समाजवादी कार्यक्रमको केन्द्र गाउँलाई बनाउनुभएको छ, जहाँ मानिस गरिब छन्, निमुखा छन्, अशिक्षित छन्, पिछडिएका छन्, भोको पेट र नाङ्गो आङ लिएर बाँचेका छन्; उनीहरुको कल्याण र उत्थान नभई नेपालको उत्थानको कसरी कल्पना गर्ने ? उहाँले सीमित शहरी क्षेत्रमा प्राप्त आधुनिक सुविधाहरुलाई कहिल्यै विकासको संज्ञा दिनु भएन । उहाँ सधैँ गाउँको समृद्धिका लागि नहर, खानेपानी, स्वास्थ्य, शिक्षा र सांस्कृतिक विकासमा बढी जोडदिनुहुन्थ्यो । जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ उहाँको दृष्टिमा त्यो विकास विकास नै होइन । उद्योगको सम्बन्धमा साना र मझौला खालका उद्योगको पक्षमा उहाँ हुनुहुन्थ्यो । ठूला उद्योग र त्यसले निर्माण गरेको पँुजीवादी आर्थिक विश्व संरचना प्रति विपी कोइराला अत्यन्त सचेत हुनुहुन्थ्यो । मानवको अस्तित्वको मोलमा स्थापित हुने त्यस्ता उद्योगहरुले प्रोत्साहन पाउनुहुँदैन भन्ने उहाँको दृष्टिकोण थियो । आफ्नै घरभित्रको प्राकृतिक सम्पदा र कच्चा पदार्थको उपभोग गर्न सक्ने किसिमका उद्योगहरुको प्राथमिक विकास गर्नुपर्दछ भन्ने उहाँको मान्यतामा गान्धीको विचारले पनि प्रभाव पारेको देखिन्छ । विदेशी साधन, स्रोत र विदेशी जनशक्तिकै आडमा सञ्चालित उद्योगहरुले नेपाली जनताको आवश्यकता पूर्ति गर्न सक्तैनन् भन्ने कुरामा उहाँलाई द्विविधा थिएन ।
सङ्क्षेपमा भन्ने हो नेपालको विकासकोलागि आज पनि जनचेतना विपी कोइरालाको लोकतन्त्र र समाजवादले नै भविष्य सुनिश्चित हुनेछ यसको कनै विकल्प छैन, यो कुरा आजका सम्पूर्ण राजनीति दलका नेताहरुले बुझ्न जरुरी छ ।सा. प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
प्रतिक्रिया दिनुहोस्