काठमाडौं, २ साउन । देउवा–प्रचण्डबीच नयाँ सरकारको समीकरण बनाउँदा मन्त्रालय टुक्रयाएर भागबन्डा नलगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारका क्रममा टुक्रयाएका मन्त्रालयलाई पनि एकै ठाउँमा गाभ्ने सहमति दुई नेताले गरेका छन् ।
‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउँदैनौ, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउँमा गाभ्ने सहमति गरेका छौं,’ माओवादी उच्च स्रोतले भन्यो । ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए । त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए ।
नयाँ संविधानको व्यवस्थाअनुसार आगामी ७ माघ ०७४ भित्र सरकारले तीनवटा निर्वाचन गराउनुपर्नेछ । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था संविधानमै छ । कांग्रेस–माओवादीले दुई चरणमा तीनवटै निर्वाचन गराउने सहमति गरेका छन् ।
स्थानीय तहको एक चरणमा तथा प्रदेश र केन्द्रको एक चरणमा गरी दुई चरणमा निर्वाचन गराउने सहमति छ । एक चरणको निर्वाचन प्रचण्डले र अर्काे चरणको देउवाले नेतृत्व गरेको सरकारले गर्ने सहमति दुई दलबीच भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।