0 COMMENTS
vajaya
विजय तिमिल्सिना

प्रसङ्ग हो गत हप्ताको । चावहिल चोकबाट घरको बाटोतिर पाइला चाल्दै थिएँ । कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भिडलाई छिचल्दै मेडिकियर हस्पिटलको शाखा बाटो तिरको गाडी र पैदल यात्रीको चाप कमै हुने ओरालो ओर्लिएँ ।
हस्पिटल अगाडि एक जना असामान्य मान्छे एक्लै भटभटाउदै थिए । उनी मेरो अगि लागे म उनको पछि पछि उनको आवाज पछ्याउदै । सबैलाई आफू सेफ हुनुछ तर मेरो ध्यान सधैँ सङ्गठन मज्बुत बनाउन रहनेछ । म कहिल्यै कसैको एक मिनेटको मीठो गफमा आफ्नो निर्णय परिवर्तन गर्नेछैन । होला त्यो गफले मेरो र सङ्गठनको भविष्यमा कायापलट ल्याउला तर गहिराइमा म पनि डुबेको छु प्रतीक्षा गर्छु , ढिला होस् तर मोती नटिपी छोडदिन गदाले भारी बोक्ने हो । कोही खेत जोत्न परीक्षण गर्छु भन्ला सही होला ? तर मीठो भाषामा भन्दैमा गदाले खेत जोत्दैन त्यो प्रयोग गरेर प्रमाणित गराउनुपर्छ । सुख्खा रोटी खान नपाउनेहरु मसिटिज त चढ्लान् तर ती खान नपाउनेका लागि आदर्श बन्न सक्दैनन् ।

खुरापातको गोटी रात भरि खेलाएर दिनभरि चिल्ला रोटी बेल्नेहरु मलाई बौलाह भन्छन् । थाहा छैन तिनीहरू कहिले सद्दे हुन्छन् । निकै घतलाग्दो गरी उनी भत्भताए म उनको पछि पछि ॐ हस्पिटलको गेटसम्म आएँ । टक्क उभिदै मलाई इङ्गीत गर्दै चिया खाने पैसा दिनुस् न भन्दै हात थापे । कति पैसाले चिया आउछ ? चिया पसले सँगै माग्नुस न । एक कप चिया तपाईँलाई सितैमा पिलाउँदैन ? मेरो कुरा सुनेर उनी फरक्क फर्किए । दाइ आउनुस् सँगै चिया खाऊँ । ॐहस्पिटल सँगैको तरकारी बजार भित्रको एक चिया पसलतिर सङ्केत गर्दै बाटोमा मैले उनलाई पछ्याएको कुरा सुनाएँ । साउजी सँग दुई कप चिया मागेर दाइ बसौं भन्दै अगाडिको मेच ताने । एउटा प्रश्न सोध्छु दाइ नरिसाउनू है मैले भने । उनी केही उत्तर नदिई मौन बसे । भन्नुस् एउटा पागलको हालत कस्तो हुन्छ ? बिल्कुल डर लाग्दो ।

जिग्रिङ्ग परेको कपाल,राता राता आँखा,च्यातिएको मैलो कपडा,बुढी औंला निस्किएको जुत्ता लगाएको उनले केहीबेरपछि चोर औंला ठडाउदै ल सोध तिम्रो एक कप चियाको मूल्य चुकाउँछु भने । मैले प्रश्न गरे तपाईँका सबै कुरा चेतनामय छन् तर तपाईँ किन अर्धचेतानामा ? तिमीले मलाई दाइ भन्यौ । मैले तिम्रो उमेर केलाउन जरुरी छैन । म गमक्क फुलेर दाइ भैदिदा भैगो नि । तर मलाई त्यस्तो कुरामा फुल्न होइन खुल्न मन पर्छ ।

मलाई तिमी भाइ हौ कि दाइ केलाउन मन लाग्छ । अनि म खोतल्न थाल्छु तिम्रो र मेरो उमेर बीचको फरक । त्यसपछि त तिमी नै मलाई ठीक ठान्दछौ । उनले उत्तर यस्तो दिए । मैले अर्को प्रश्न सोध्न मुख खोल्नै लाग्दा एक कप चियाको १५ रुपैया पर्छ त्यसैले तिमीले मलाई ३ वटा प्रश्न गर्न सक्छौ । प्रति प्रश्न मूल्य रु.५ हुन्छ ? भन्दै उनले मलाई ३ प्रश्न सोध्ने अनुमति दिए । मैले नडराई प्रश्न गर्ने मौका पाएँ । तपाईँ परिवर्तनलाई विश्वास गर्न नसकेर यस्तो भएको हो कि जस्तो लाग्यो ? मैले प्रश्न गरे । तिमी कुकुर कार्तिक नलाग्दै उत्ताउलो भएकालाई परिवर्तन मान्छौ भने हो म परिवर्तनलाई विश्वास गर्दिन ।

म त्यो परिवर्तनलाई विश्वास गर्छु जुन परिवर्तनले कुकुरलाई कार्तिकसम्म नकुराओस । उसको यो उतर मैले बुझिनँ । दोहो–याएर सोध्ने हिग्मत पनि भएन । अनि अर्को प्रश्न गरे मीठो बोली भएकालाई गाली गर्दै हुनुहुन्थो मीठो बोल्नु राम्रो होइन र ? हा हा हा हाँस्दै उनले भने मीठो बोल्नु राम्रो हो र सबैले मिठो बोल्नुपर्छ । तर बोलीमा राम राम गोजीमा छुरा हुनुभएन । कसैले एक मिनेट मीठो गफ दिएर,भाषण ठोकेर धेरै बर्बाद भएका छन् । मीठो बोली होइन मीठो परिणामको खोज गर्नुपर्छ । जमाना मीठो प्रगतिको सपना देख्छ तर मीठो बोलीले होइन कि मीठो लगनशीलताले प्रगतिको मार्ग पहिल्याउछ भन्ने भुल्छ । एक मिनेट मीठो बोलेर आफ्नै बोलीलाई धोका दिनेहरुलाई तिमीले देखेको र भोगेको पनि हौला ? प्रश्नहरू तिम्रा थिए चिया मेरो दुवै सकियो । thanks for समय ।हो म बौलाए,तिमी सद्देलाई बौलाह देख्छौ भन्दै उनी बाटो लागे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।