छुवाछुत प्रथा कुनै धर्मको उपज होइन, दमनकारी राज्यसत्ताको क्रूरतम उपज हो जसलाई अविवेकी समाजले त्यस्तो राज्यसत्ताको पतन पछि पनि निरन्तरता दिंदै आएको छ। दासयुगमा लडाईंमा पराजित जाति, कबिला, मानव समुदाय वा देशका वासिन्दालाई दास बनाउने गरिन्थ्यो । त्यस पछिको सामन्ती राज्यसत्ताले दासहरुले कहिल्यै टाउको उठाउन नसकून् भनेर र समाजलाई जातपातमा विभाजित गरिराख्न उनीहरुलाई अछूत बनाएको र कसैले गर्न मन नपर्ने गहारो, फोहरी र खतरा काममा लगाएको हो । पछी त्यसैलाई पूर्ब जन्मको फल भनेर भाग्यबादी धार्मिक जलप लगाएको हो ।
नेपालको आधुनिक राज्यसत्ताले छुवाछुतलाई २०२० सालमै अवैध र दण्डनीय बनाई सकेको छ तापनि नेपाली समाजले त्यसलाई अझै पनि कुनै न कुनै रुपमा कहिं हल्का रुपमा कहिं उग्र रुपमा कायमै राखेको छ । आश्चर्य र दुखको कुरा यो पनि छ कि नेपालका जुन जाति वा समुदायले वर्ण व्यवस्था र जातपात मान्दैनौ भन्छन्, उनीहरुले पनि छुवाछुतलाई उत्तिकै मान्छन् । त्यसैले यो अहिले राजनीतिक होइन सामाजिक समस्या हो । धार्मिक समस्या त हुँदै होइन । मानव समाज र राज्यसत्ताको विकास क्रममा विकसित यस अमानवीय परिघटनालाई लिएर हिन्दु धर्म माथि दोष थोपर्नु एकदम गलत हो, अज्ञानता हो र हिन्दु धर्म विरोधी विधर्मीहरुले दिमाग धुलाई गरेको दुस्परिणाम हो ।