अचेल एउटा फेशन चलेको छ, तपाईलाई दिक्दार लागेको छ? केहि गर्न नसकेर निराश हुनुहुन्छ? अरुको प्रगति देखेर छटपटी हुन्छ? आफु सिवानीहोचो भएकोले अरुलाइ अग्लो देख्नु भएको छ, र आफु होचो भएकोमा हीनताबोध हुन्छ? आफुले चाहेअनुसारको सफलता पाउनु भएको छैन? आउनुस उपाय एकै र सजिलो छ । बाहुनलाई गाली गरौँ ।
.
मेरा जनजाती मित्रहरु केहि बर्षदेखि पार्टटाइम जबको रुपमा तलब बेगर बाहुनलाई गाली गर्नुहुन्छ । बाहुनले यस्तो गर्यो उस्तो गर्यो भनेर चियो र चर्चो गर्नुहुन् । बाहुनलाई जति आफ्नो बारेमा थाह हुन्न त्यसको हजारौं गुणा बढी उहाहरुलाई जानकारी छ । पछिल्लो समयमा आएर कथित दलितहरु पनि बाहुनमाथि आक्रामक रुपले प्रश्तुत हुन लाग्नुभएको छ । हो, सबैले मान्नुपर्ने कुरा के हो भने जातीय छुवाछुतको नाममा मानवलाई पशुवत ब्यबहार हुने गरेको छ । सदियौंदेखि नै यो परम्परा चलिआएको हो, अहिले रातारात लादिएको होइन । समयक्रम सँगै समाजले दलितहरुलाई गर्ने व्यवहारमा क्रान्तिकारी सुधार ल्याएको छ। हाम्रो हजुरबुबा पुस्ता र हाम्रो पुस्तामा आइपुग्दा यो आकाश जमिनको फरक भएको पाइन्छ । अझैपनि त्यस्ता कथित तल्लो जातका बुढाबुढीहरु पाइनुहुन्छ, जसको घरमा कुनै कथित उपल्लो जातको मान्छे गएर उहाहरुले पकाएको खानापानी खायो भने नाखानुस हामीलाई पाप लाग्छ भन्नुहुन्छ । यसबाट के बुझ्न सकिन्छ भने हाम्रो पछाडिको पुस्ताले छुवाछुतलाई निरन्तरता दिदैन अहिले मेरो पुस्तामा सँगैका साथीसंगीमा त्यस्तो भेदभाव नभएकोबाट नै त्यो प्रष्ट हुन्छ । जुनसुकै चलन क्रान्तिकारी रुपमा एकाएक परिवर्तन हुन सक्दैन । किनकि मान्छेहरुको दैनिकीमा र दिमागमा बसिसकेको हुन्छ ।
.
अब यसरि परिवर्तनको संघारमै रहेको छुवाछुत प्रथालाई यसरि उचालेर एउटा समुदायमाथि मात्रै प्रहार गर्न थाल्ने हो भने यसले संकीर्णता उत्पन्न गराउन सक्छ । डा. भट्टचन जस्ताहरुले यहि चाहेका हुन्। जनजाती मित्रहरु भन्नुहुन्छ बाहुनहरुले हामीलाई उनीहरुको भाषा लादे, उनीहरुको संस्कृति र धर्म लादे। दुनियामा कुन त्यस्तो राज्य छ, जहाँ युध्द जित्नेहरुले पराजितहरुमाथि अन्याय नगरेका हुन् । पराजितमाथि शोषण र अन्याय नगरेका हुन। हाम्रो छिमेक भारतबर्षमै हेरे काफी हुन्छ । कहाँ कहाँ देखिका बिभिन्न शासकहरुले आक्रमण गरे त्यहाका स्थानियहरुलाई परास्त गरे र आफ्नो धर्म संस्कृति र भाषा लादे। मित्रहरु भन्नुहुन्छ बाहुन शासकले हामीलाई बिभिन्न बिदेशी सेनामा बेचेर उनीहरुले यहाँ आफ्नो एकतन्त्रीय शासन चलाए। उहाहरुलाई म के आग्रह गर्न चाहन्छु भने, अब त गुह्य कुरो बुझ्नु भएछ अब बिदेशी भर्तीमा नजानुहोस् । आउनुहोस अब यहिकै शासनसत्तामा सहभागी हुनुहोस् । यहिकै भर्तीमा लाग्नुहोस् । तर उहाहरु यसो गर्न सक्नुहुन्न कारण यहाँ उताकोजस्तो द्रव्य छैन ।
.
मलाइ लागेको कुरो के भने, बाहुनलाई र हिन्दुहरुलाई मात्रै दोषि देख्नु भनेको खालि रुपको कुरा हो । सारमा यो सत्तासँग सम्बन्धित छ, शक्तिसँग सम्बन्धित छ । जोसँग सत्ता र शक्ति छ उसले अर्कोलाई दमन गरेको छ| जो सत्ता र शक्तिको पहुँच बाहिर छ उ सधैं तल परेको छ । सत्तामा पुगेकाहरु धेरै ब्राह्मण समुदायका भएपनि राजनीतिज्ञको कुनै जात र धर्म हुन्न । यिनीहरुको आफ्नो कुर्सि नै जात हो र त्यसलाई जोगाउनु नै धर्म हो । त्यसैले देशका तमाम भेदभाव, उत्पीडन, शोषण र दमनमा बाहुन समुदाय दोषि छैन । हरेक परिस्थिती र परिबर्तन को जन्म रज्यसत्ता ले गराएको ईतिहास छ । फेरी किन एउटा जात बिषेश लाइ गाली गरिन्छ ? किनकि देशमा अझै धेरै त्यस्ता जनताहरु छन् जो ब्राह्मण समुदायमा रहेर पनि उत्तिकै शोषित र उत्पीडित छन् । मलाइ यो सबै भेदभाव र दमनको पछाडी सत्ता र शक्तिको दोष लाग्नुको कारण यो पनि छ कि, कथित दलित समुदायमा पनि उप दलित र महा दलित भन्ने अर्को सानो उप समुदाय छ । दलित भित्रभित्रै पनि छोईछिटो र पानि बाराबार छ । समस्त समुदायले बाहुनसँग समानताको हक माग्छ तर दलितभित्रकै अलिक उपल्लो दलितले तल्लो दलितलाई त्यो हक दिन चाहदैन । सबैले अधिकार खोज्छन, शक्ति खोज्छन तर उनीहरु चाहन्छन त्यो आफूसम्म मात्रै आओस । आफूभन्दा तल दिनु नपरोस ।
.
हिजो जनजातिलाई जबर्जस्ति नेपाली भाषा बोल्न, पढ्न र लेख्न लगाउने तथा हिन्दु धर्मका संस्कार गर्न लगाउने उनीहरुले भनेजस्तो कुनै एक समुदाय होइन सत्ता हो । मधेसी मित्रहरुलाई अनागरिकको स्तरमा राख्ने पनि कुनै समुदाय होइन सत्ता हो, शक्ति हो । मधेसी समुदायकै सत्ता र शक्तिमा रहेकाहरुले पनि सत्ता र शक्ति बाहिर रहेकालाई उत्तिकै चरम दमन र शोषण गरेका छन् । यो हामीले दिनहुँ देखेको कुरा हो । भनिन्छ नारीले आधा आकाश ढाकेका हुन्छन् । तर यहाँ आधारभूत अधिकार र हक लिन महिलाहरुलाई पनि उत्तिकै साह्रो परेको छ । महिलापनि पितृसत्तात्मक सोच र पुरुषबादी चिन्तन बिरुद्द आन्दोलित छन् । उनीहरुले पनि पुरुषवर्गलाई आफ्नो आँखाको तारो बनाएका छन्। यहाँ पनि उस्तैगरी पुरुषवर्ग एक्लो अपराधि होइन, सत्ता र शक्ति नै हो। सबै महिला पुरुषबाट मात्रै शोषित छैनन् । जब कुनै महिला निरिह छे उसले अरुबाट सास्ती भोगेकी छे। तर जब उसको हातमा शक्ति आउँछ, जब उ सासु हुन्छे अनि शोषक पनि हुन्छे। जब मालिक्नी/हाकिमनी हुन्छे तब उसले नोकर र कर्मचारीलाई दमन गर्छे ।
.
अबको लडाई अन्तिम र निर्णायक होस् । यदि यो अबको लडाइले सबै किसिमका भेदभाव, दमन र शोषणको अन्त्य गरोस् भन्ने हो भने मूलशत्रु चिनेर मात्रै प्रहार गर्नुपर्छ। नत्र हाम्रो मुख्य शत्रु उम्किन सक्छ र फेरी यस्तै मौका आउनलाई अर्को आधा शताब्दी पर्खिनुपर्ने हुन सक्दछ। त्यसैले यो लडाइमा कुनै वर्ग, समुदाय, लिंग र भेगका आधारमा तँ तँ र म म गरेर आपसी मुटाव नबढाई मिलेर लड़नुछ। अबको नया नेपाल जनजाती बिना, बाहुन क्षेत्रीबिना, दलित या मधेसी बिना या महिला बिना चल्न सक्दैन। सत्तामा एकै परिवार, वर्ग र समुदायका मान्छेको मात्रै हाली मुहाली हुनु नै हाम्रो सबैभन्दा ठुलो समस्या हो । अब के गरेर कसरि हुन्छ हामि पनि त्यो सत्तामा पुग्नु नै आजको लडाइको अन्तिम र मुख्य अस्त्र हो। त्यसैले अब प्रहार गर्दा दोषि चिनेर प्रहार गर्न सकिएन भने हाम्रा सहयोध्दाहरुलाइ नै मार पर्न सक्छ र लडाइको दुखद अन्त्य हुनसक्दछ। यस्तो नहोस् कि धान खाएर मुसा भागीहालोस र भ्यागुतालाई भकारी छेउमा देखेको भर दोषि सम्झेर मारियोस्। (ejanta.com बाट साभार)
प्रतिक्रिया दिनुहोस्