१ सनातन हिन्दू धर्म, संस्कृतिमा मौलाएका रुढिवादी संस्कार तथा हाम्रो कर्तव्य: कुनै पनि मान्छेको सामान्य परिचय उसको नाम संगै जोडिएको थर (जसले जात बुझाउछ) हो । जात भनेको त्यो मूल (spring) हो जसले उसलाई उसको पूर्खाहरु संग सिधै जोड्छ र नयाँ पिढीहरु जोडिनको लागी त्यो जात माध्यम बन्छ । यस्ता कतिपय समानता भएका जातहरुबाट वर्ग, विभिन्न वर्गबाट समाज र समाजबाट बृहत रुप रेखा तयार हुदै जादा त्यसले राष्ट्रको रुप लिन्छ । हाम्रो देश नेपालको निर्माण पनि यही आधारमा भएको हो ।
यहाँ ति हरेक जातजातीको आ-आफ्नै महत्व र गरिमामय इतिहास छ । करिव १२० थरी जातजातीहरु बसोबास गर्ने नेपालमा ८२ प्रतिशत भन्दा बढी हिन्दूहरु छन् । वैदिक सनातन हिन्दू धर्म जसको उत्पती बारे अरु धर्महरुको जस्तो ठयाक्कै समय भन्न नसकिएता पनि यसको प्रादुर्भाव चराचर जगतको उत्पती संगै जोडिने आधारहरु थुप्रै छन् । यस अर्थमा यो संसारकै सबै भन्दा पुरानो धर्म हो र अरु धर्म यसै धर्मका प्रभावबाट आएका सद-बिचारहरु मात्र हुन् भन्न सकिन्छ । समयको गती संगै जसरी हिन्दू धर्मको आधारमा आएका फरक समाजका सद-विचारहरुले अन्य धर्मको रुप लिदै गए, त्यसै गरी यसको अध्ययन गरेका हिन्दू धर्मका ज्ञाता मानिने पण्डितहरुले पनि आफुखुसी यसको अर्थ लगाउदै गए । जसको कारण पृथ्वीको सृष्टी संगै जोडिएको सबै भन्दा पुरानो हिन्दू धर्म संकटमा पर्दै गयो ।
जातको आधारमा भेदभाव गर्नु, नारीलाई दोस्रो दर्जामा राख्नु र अझ संस्कृतिलाई साङ्ग्लो बनाएर कहिले उम्किन नसक्ने गरी तिनीहरुलाई बाध्नु जस्ता कुकृत्यहरुको चर्चा हिन्दू धर्म शास्त्रमा कहिँ कतै नगरिए पनि यही नै धर्मको हो भनेर यसको मर्म माथी लगातर प्रहार गर्ने काम सदियौ देखी हुदै आएको छ । यथार्थमा जातपात भनेको समाज चलाउन बनाइएको विधि मात्र हो भन्ने कुरा यो श्लोकले प्रमाणित गर्दछ ’ चतुर्वर्ण मया सृष्टा गुण, कर्म, स्वभावज’’ अर्थात मनुष्यमा चार वर्णहरु जो छन् तिनीहरु गुण, कर्म र स्वभावको आधारमा छन् । अब यही आधारमा ब्राह्मण, क्षेत्री, वैश्य, सुद्रको कुरा गर्दा कुनै कूल विशेषमा जन्मेको भन्दैमा उ कसरी सानो जात वा ठुलो जात हुन सक्छ ? मान्छे सानो ठुलो त उसको गुण, कर्म र स्वभावले तय गर्ने कुरा हो । यसको मतलव के हो भने बाबु सुद्र भए पनि गुणले, कर्मले र स्वभावले उसको छोराले आफुले आफुलाई ठुलो बनाउन सक्छ ।
पढे लेखेर विद्द्वान हुदै समाजलाई सही बाटोतिर लगाउछ भने उ अवश्य ब्राह्मण हो, ज्यानको आहुति दिन समेत पछी नपरी देशको रक्षार्थ खटिन्छ भने उ क्षेत्री हो, ब्यापारमा लागेर देशको आर्थिक उन्नति गर्छ भने उ वैश्य हो । यहानेर बुझ्नु पर्ने कुरा के पनि हो भने एउटा ब्राह्मणको छोरा व्यभिचारी छ, भ्रस्टाचारी छ, गलत काम गर्दै हिड्छ भने पनि उ ब्राह्मण नै हो भन्ने २ कुरालाई हिन्दू धर्म शास्त्रले भनेर इन्कार गर्छ । स्पस्ट कुरा के हो भने एकै परिवारको बाउ ब्राह्मण होला, तर छोरो वैश्य हुन सक्छ, छोरी क्षेत्री हुन सक्छे नाती सुद्र हुन सक्छ । यो सबै व्यक्तिको गुण, कर्म र स्वभावले मापन गर्ने कुरा हो । यो यथार्थ लुकाउदै समाजमा हैकम चलाउन चाहने वर्गमा ब्राह्मण, क्षेत्री र वैश्य बराबरीको हिस्सेदार हुन् भन्दा अतिसय नहोला ।
तात्कालिन समय, जतिवेला यस्तो नियम लादियो त्यतीबेला ब्राह्मण वर्गले आफुले पाई आएको सम्मान, क्षेत्रीले पाई आएको राजकाज र वैश्यले पाई आएको अर्थतन्त्र माथीको अधिकारलाई पुस्तौ पुस्ता सम्म निरन्तरता दिने गरी बुनिएको प्रपन्चले आज हिन्दू धर्मको उर्वर भूमीनै दिनानुदिन बाझो हुदै गैरहेको छ । त्यतीमात्र होइन जातजाती भित्र पनि यो सानो उ ठुलो भनेर फुटाउदै त्यही भित्रको बलियोलाई सामन्ती बनाउने खेलको रचनाले गर्दा आफु आफुमै भिडन्तको स्थिति सिर्जना भएको छ । परधर्मीहरुले यही विषयलाई आधार बनाएर धर्महरुको पनि मूल धर्म हिन्दू धर्म माथी नै प्रहार गरीरहेका छन् । त्यती मात्र होइन हिन्दू धर्म शास्त्रमा देवी महादेवीको रुपमा चित्रित, देवका पनि देव महादेव समेत जसको पैताला मुनि आउनु पर्यो, त्यस्ती नारी जातीलाई समाजबाट पर, खेतीपाती र घरभित्र चुल्हो चौकोमा सिमित गर्दै भोग विलास र सन्तान उत्पादन गर्ने औजारको रुपमा मात्रै सिमित गर्ने हिजोको त्यो अत्यासलाग्दो वातावरणमा नै हिन्दू धर्म माथी प्रहार गर्ने ति परधर्मीहरु मौलाएका हुन् भन्ने कुरालाई हामीले स्वीकार गर्ने पर्दछ । ति परधर्मी मौलाउनुको कारणहरु मध्ये हाम्रो संस्कार भित्र रहेका पण्डितै पिछेका मान्यताहरु पनि प्रमुख कारण हुन् ।
अझ जन्म देखी मृत्यु संस्कार सम्ममा त्यो परिवारमा बाच्नेले व्योहोर्नु पर्ने आर्थिक भारको बारेमा भए नभएका कुराले प्रभावित गर्दै धमाधम धर्म परिवर्तन गर्ने गराउने खेल अहिले चलिरहेको छ । औलामा कुशको औठी लगाएर, अन्जुलीमा जल लिदै छोएको वस्तुलाई चिताए अनुशार समर्पण गर्न सकिने यती उदार ब्यबस्था हिन्दू धर्मशास्त्रमा छ भने किन एउटा गरीबले आफ्नो सन्तान जन्मदा ऋण लिनु पर्छ ? किन बाबु आमाको काजक्रिया गर्दा घरबार बन्दकी राख्नु पर्छ ? यी सानातिना संस्कारका कुराहरु छाडौ, हाम्रो हिन्दू धर्म शास्त्रका नियमहरु यती उदार र महान छन् एउटा गरीवले पनि अश्वमेघ यज्ञ गर्न सक्छ । तर उसको कर्म चलाई दिनेको नियत खराव भै दिनाले अहिले स्वयम धर्म परिवर्तन गर्नेहरु दिनानुदिन बढी रहेका छन् । अहिले राजनीति गर्छु भन्ने बहुलठी नेताहरु कुनै न कुनै रुपमा तिनै परधर्मीका झोले भएको हुनाले केहि बोल्न सक्ने स्थितिमा छैनन् , मुस्लिम राष्ट्र इराकमा १२ जना नेपालीको घाटी सेरिदा नेपालमा कुनै मस्जिद जलेन, कुनै मुस्लिम भाई माथी अत्याचार भएन । त्यो बेला नेपाल हिन्दू राष्ट्र नै थियो ।
हिन्दू ३ राष्ट्र हुदा पनि नेपाल र नेपालीहरु कति सहिष्णु थिए भन्ने कुराको ज्वलन्त प्रमाण हो त्यो र त्यतीबेलाको त्यो दुखान्त घटना घट्नुको पछाडीको कुत्सित उद्देश्य भनेको यहाका केहि धर्म निर्पेक्षताबादी झोलेहरु र ति परधर्मीहरुको मिलेमतोमा त्यहाका केहि अमानव प्यादाहरुलाई किनेर नेपालमा धार्मिक हिँसा भड्काउदै एकातिर तात्कालिन सरकारको घुडा टेकाउनु थियो भने अर्कोतिर नेपालमा हिन्दू बाहेक अरु सुरक्षित् छैनन् भन्दै धर्म निरपेक्ष घोषणा गराउने षड्यन्त्र थियो भनेर शंका गर्ने प्रसस्त ठाउहरु छन् । यहाँ चर्चमा बम पड्काएर हिन्दूहरुको बद्नाम गराउने खेल भएको थियो भनेर किन आरोप नलगाउने ? यदी होइन भने जनता संग एक पटक सोद्धा पनि नसोधी किन नेपाल धर्म निरपेक्ष राष्ट्र भयो ? किनंकी जती धार्मिक हिँसा भड़काउँन खोजे पनि साथ नदिने जनतालाई धर्म निरपेक्षताको कुरा गरी राख्नु जरुरी नै देखेनन् उनीहरुले ।
नेपालमा भएको राजनीतक परिवर्तन यदी सांचै नेपाल र नेपालीको हितको लागी थियो भने किन हामी सामान्य नागरिकहरु आज नेपालका पर्यटन क्षेत्रका सामान्य होटल, रेस्टुरेन्टमा समेत गाईको मासु बिक्रि भैरहेको देख्दा पनि नदेखे जस्तो गर्न बाध्य छौ ? जसलाई हामी आमाको रुपमा ढोग गर्छौ, जसलाई हामी लक्ष्मीमाताको रुपमा पुज्छौ, जो बिना हाम्रो पन्चामृत बन्न सक्दैन उसैको यत्रतत्र बध भैरहेको प्रमाण हो यो । के नेपाल हिन्दू राष्ट्र हुदा कुनै हिन्दूले तिनका भावना माथी चोट पुर्याएको थियो ? जहाँ सम्म नेपालका राजनेताहरुको कुरा छ, तिनीहरुले व्यवस्था परिवर्तनका नाममा गरेका १ /२ बाहेक कुनै पनि आन्दोलन वा जन आन्दोलनको परिणामले हाम्रो धर्म संस्कृतिका सुन्दर पक्षहरुलाई सम्रक्षण गर्दै रुदिवादलाई निर्मूल गर्ने जस्तो अहम विषयलाई सम्बोधन गरेको छैन । पछिल्ला आन्दोलनहरु यस कारण पनि स्वस्फुर्त थिएन भन्न सकिन्छ । यदी सांचै उनीहरुले नेपाल र नेपालीको हितको लागी गरेको भए ‘रुडिवाद अन्त्य’ उनीहरुको मूल एजेन्डाहरु मध्ये एक हुनु पर्थ्यो । त्यसैले पनि व्यबस्था परिवर्तनको नाममा भएको पछिल्लो दस वर्षे जनयुद्द र जन-आन्दोलनले हाम्रो धर्म,संस्कृति हाम्रो मौलिकता सबै बगायो र अब बाकी केहि रहेकोलाई धर्म परिवर्तनको अभियानमा लागेकाहरुले बढार्दै छन् । तसर्थ यो खतरनाक परिस्थितिमा नेपालका हामी ८२ प्रतिसत भन्दा बढी हिन्दूहरुले हिन्दू धर्म संस्कृतिको उदारता र महानतालाई मनन् गर्दै, आफै भित्ररहेको स्वार्थ र बदनियतलाई बढार्दै, सुध्रिदै,मन दुखेकाहरुलाई, बाटो बिराएकाहरुलाई सनातन हिन्दू धर्मको सुमार्गमा ल्याउने अभियान शुरु गर्नु अत्यावश्यक भै सकेको छ । यदी यस्तो विषम परिस्थितिमा पनि हाम्रो चेतना जागृत हुदैन भने हामी त बाचुन्जेल हिन्दू नै रहौला तर मृत्यु पश्चात हाम्रा सन्तानहरुले हाम्रो सव कफिनमा हालेर गाडिदिने छन् । यस्तो अभियानको शुरुवात सामान्यतया जनस्तरबाट हुन सक्दैन ।
यसको लागी विभिन्न धार्मिक संघ, संस्था र धर्म गुरुहरु बसेर हिन्दू धर्म र संस्कृतिमा पलाएका रुढिवादी एजेरुहरुको कसरी उपचार गर्न सकिन्छ भनेर छलफल, बहस, आवश्यक परे सबै जनताको ध्यान केन्द्रित हुने गरी वादविवाद समेत गर्दै एकै किसिमको निचोड ४ लिएर सबै वर्ण, जातजाती, क्षेत्रलाई एकाकार गर्नु जरुरी भै सकेको छ । परधर्मीहरुको कु-दृष्टिबाट बच्न हरेक हिन्दूको घर घरमा ओम् अंकित झण्डा फहराउनु जरुरी भै सकेको छ । नेपाललाई पुन: हिन्दूराष्ट्र कायम गर्नको लागी यस्तो परिस्थिति निर्माण गर्नु जरुरी भै सकेको छ कि यदी कुनै राजनैतिक पार्टीले आफ्नो घोषणा पत्रमा हिन्दूराष्ट्र नेपालको बारेमा उल्लेख गर्दैन भने त्यो पार्टीले जनमत गुमाउने अत्यधिक सम्भावना रहोस ।
जहाँ सम्म यस्तो अभियानलाई राजसंस्था ब्युझाउने खेलको रुपमा र कुनै पार्टी विशेषको छायाँको रुपमा धर्म निरपेक्षता बादीहरुले बद्नाम गर्न सक्ने कुरा छ, यहाँ स्पस्ट हुनु के जरुरी छ भने यो देशमा राजा र राजसंस्था रहने वा नरहने भन्ने कुरा नितान्त राजनैतिक कुरा हो । हिजो राजसंस्थाको अन्त्य गर्ने कुरामा जनताको अभिमत नलिइए पनि त्यो घोषणा हुदा ‘मौनम सम्मति लक्षणम्’ को अबस्थामा जनता बसेकै हो । अब यो देश र यो देशका जनतालाई फेरी राजसंस्था चाहिन्छ भने त्यो उनीहरुले ल्याउने कुरा हो । त्यती बेला हामी स्वागत नै गरौला । तर राजसंस्थाको बहिर्गमन हुदा हाम्रो धर्म संस्कृति पनि संगसगै गएको जुन अहिलेको अवस्था हो, तत्काललाई यो अबस्थाबाट मुक्ति पाउन जनताको माझमा हाम्रो धर्म संस्कृति र राजसंस्थालाई अलग बनाउदै, सबैको चित्त बुझाउदै अगाडी बढ्नु जरुरी छ ।
रामशरण पाठक
चलचित्र लेखक /निर्देशक
काठमाण्डौ