0 COMMENTS

असार १५, मुस्ताङ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे पेट्रोलियम पदार्थ, युरेनियम र नुनखानीको अध्ययन गर्न मुस्ताङ आएका छन् ।

मुस्ताङको छुसाङ गाविसमा पुगेका मन्त्री पाण्डेलाई त्यहाँका स्थानीयबासिन्दाले तेताङस्थित नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग स्थानीयवासीले २० वर्षअघि बन्द भएको नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।

नुनखानीको पहाडै देखिए पनि उत्खनन हुन नसक्दा आयातित नुन खानु परेकाले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयवासी धर्म गुरुङले बताए । ‘पहिला यही क्षेत्रकै एकजनाले उत्खननको काम गर्नुहुन्थ्यो, उहाँ बुढो भएपछि यो काम बन्द भएको हो’, उनले भने, ‘भौगोलिक रुपमा अलि जटिल भएकाले दक्ष जनशक्ति नहुँदा समस्या भयो ।’

नुनखानी जान तेताङ गाउँको बीचमा कालीगण्डकी रहेका कारण बर्खायाममा अलि बढी समस्या हुने स्थानीयवासीको भनाइ छ । विगतमा उत्खनन् हुँदा तेताङको नुन मुस्ताङ जिल्लाका अतिरिक्त म्याग्दी, बाग्लुङ र कास्कीसम्म जाने गरेको स्थानीयवासी झोङबा गुरुङले बताए । ‘हामीले यहाँबाट टुकुचे लैजान्थ्यौँ, त्यहाँबाट विभिन्न जिल्लामा व्यापार हुन्थ्यो’, उनले भने ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले परम्परागतरुपमा विगतमा नुनको उत्खनन् भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न सम्भव रहेको बताए ।
‘नुनखानीको ठूलो क्षेत्र छ, खोलाले बगाएर ल्याउने भएकाले स्थानीयवासीले पोखरी बनाएर उत्पादन गर्ने गरेको पाएका छौँ’, उनले भने, ‘त्यसरी उनीहरुले पाँच हजारदेखि सात हजार केजीसम्म नुन निकाल्थे, यो भन्दा थुप्रै बढी निकाल्न सकिन्छ ।’

टोलीले यसअघि मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विषयमा जानकारी लिएको थियो । टोलीमा सहभागी खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले २२ जना सम्मिलित टोलीले लोमान्थाङमा युरेनियम र जोमसोमको ठिनी गाउँमा कोइलाखानीको समेत अध्ययन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।