0 COMMENTS
10978572_828256087215511_4569801364269059568_n
खगेन्द्र अधिकारी ‘अमृत’

यो विश्व ब्रम्हाण्डको उत्पत्ति कहिले भयो ? कसरी भयो ? विज्ञानले आफ्नै तरिकाले पुष्टि गरेको छ । त्यसपछि यस पृथ्वीमा जीवको उत्पत्ति कसरी भयो ? त्यसको पनि विज्ञानले पुष्टि गरेको छ । विभिन्न जीवको उत्पत्ति भइसकेपछि, पछि कसरी मान्छे, मान्छे भयो ? त्यसको पनि विज्ञानले पुष्टि गरेको छ । त्यो विज्ञानले धर्मको उत्पत्तिका बारेमा पनि त पुष्टि गरेको छ । विश्वको सबैभन्दा पुरानो धर्म जेठो धर्म हिन्दू धर्म हो भन्ने पनि पुष्टि गरेको छ ।

विज्ञानको सुरुवात धर्मबाट भएको कुरामा कसैको दुईमत नहोला । सायद मानव जातिहरु भएको ठाउ मा धर्म नभएको भए मानव र पशुमा केही फरक हुने थिएन होला । धर्मले मान्छेलाई धर्म र पापमा मात्र बा“धेको छैन । सेवा नै धर्म हो भन्ने उक्ति त्यसै चलेको होइन । आज एकले अर्कोलाई सेवा गर्छ किन ? धर्म सम्झेर । संसारमा प्रचलनमा रहेका कुनै पनि धर्महरु नराम्रा छैनन् । कुनै पनि धर्मले गलत काम गर भनेका छैनन् । हामी भन्ने गर्छौ धर्म जुन माने पनि इश्वर त एउटै छन् । हो ईश्वर एउटै छन् । त्यसलाई पुकार्ने तरिका मात्र फरक हो । त्यसैले कुनै धर्म सानो र कुनै धर्म ठूलो हुदैन ।
सबै मानव जातिलाई आफूले चाहेको धर्म मान्ने र आफूले मानेको धर्मको रक्षा गर्ने अधिकार छ, हुनुपर्छ । चाहे त्यो कानुनी रुपमा होस् चाहे धार्मिक रुपमा । आफ्नो धर्मको रक्षा गर्नु धार्मिक कर्तव्य पनि हो । विश्वमा रहेका हरेक देशहरुले कुनै न कुनै रुपमा धर्मको पालन गरेकै छन् । चाहे जतिसुकै विकसित देश किन नहोस् धर्मको पालन गरेकै छ । तर आज दुःखका साथ भन्नुपर्छ हाम्रो देशका शासकहरुको राजनीतिक र व्यक्तिगत फाइदाका कारण आज नेपाली जसरी संविधानविहीन अवस्थामा छन् त्यसैगरी धार्मिक रुपमा अनिर्णयको बन्दी बनेको सबै नेपालीले महसुस गरेका छन् ।
देशमा लोकतन्त्र र त्यसपछि गणतन्त्रको स्थापनासंगै धर्म निरपेक्ष घोषणा गरियो । के हो यो धर्म निरपेक्ष भनेको ? के के हुन्छ धर्म निरपेक्षतामा ? कस्तो खालको धार्मिक परम्परा भएको मान्यतालाई निरपेक्ष भनिन्छ ?निरपेक्ष’ शब्दको अर्थ के हो ? २०६३ सालमा घोषणा भएको यस शब्दको सही अर्थ अहिलेसम्म नेपाली जनताका सामु किन लगाइएको छैन ? यो शब्दलाई किन बुझाइएको छैन नेपाली जनतालाई ? देशलाई धर्मनिरपेक्ष घोषणा गर्ने ६०१ ले राम्रोस“ग यसको अर्थ बुझेका छन् कि छैनन् ? कि यो पंक्तिकारले मात्र नबुझेको हो वा नबुझाइएको हो ?
देश धर्म निरपेक्ष भइसकेपछि को हिन्दू, को मुस्लिम, को इसाई ? यदि धर्म नै छैन भने वर्षका ३६५ दिनहरुमा विभिन्न बाहानाबाजीमा किन गर्नुपर्यो सरकारी कामकाज बन्द । किन बस्नुपर्यो बिदामा । शनिवार बाहेक अरु दिनमा खुरुखुरु काम गरे भएन सबैले ? पढ्न गए भएन विद्यार्थीहरु स्कुलमा र पढाउन गए भएन शिक्षकहरु ? दशैं, तिहार, माघी, ल्होसार, इद, क्रिस्मस, तीज, शिवरात्री, उभौली आदि जस्ता धार्मिक पर्वहरुमा किन बिदा दिनुपर्यो ? देश धर्म निरपेक्ष भइसकेको छ । एकले अर्काको धर्मप्रति उचनिचको व्यवहार नगरौं । सबैले आ–आफ्ना धर्म मानौं र आफ्नो धर्मको रक्षा आफै गरौं । धार्मिक कारणले कुनै पनि नागरिक कुनै पनि सुविधाबाट बञ्चित हुनुभएन । तर देश सर्वधर्म सापेक्ष हुनुप¥यो । ‘सर्व भनेको सबै’ । सबै धर्मको सापेक्ष भयो भने सबैले आ–आफ्नो धर्मको रक्षा गर्दै आ–आफ्ना संस्कृति र परम्परालाई बचाइराख्न सजिलो हुन्छ । जसलाई नेताजीहरुले देशको सम्पत्ति भनिरहनुभएको छ । अन्यथा भोलि धार्मिक युद्ध भएको खण्डमा न संस्कृति रहनेछ न परम्परा नै रहनेछ । त्यसपछि न तिमीहरु रहने छौ न हामी जनताहरु ।

आफू लोकप्रिय बन्नका लागि चालिएका गोटीहरु धेरै दिनसम्म टिकिराख्छन् भन्ने सोचेका छौ भने त्यो तिमीहरुको मुर्खता बाहेक केही हुने छैन । आज सङ्घीयताको कुराले तोकिएको समयमा संविधान आएन । देख्यौ ? केही पाठ सिक्यौ कि ? नामकरण र सीमाङ्कनले त संसद भवनमा यति ठूलो तहल्का मच्चायो । जहा ६०१ जना मात्र थियौ । भोलि सम्पूर्ण जनता आ–आफ्नो धर्मको धर्मग्रन्थ हातमा लिएर उठे भने के हालत हुन्छ ? बेलैमा सोच्ने काम गर्यौ भने सबैको भलो होला कि ? ८५ प्रतिशत भन्दा बढी हिन्दू भएको देशमा भोलि हिन्दूराष्ट्रको माग भएको बेलामा तिमीहरु के जवाफ दिन्छौ ? आज कुर्सी फोडिएका छन् । भोली एक धर्मको मान्छेले अर्को धर्मको मान्छेको टाउको फुटाउने धार्मिक युद्धको सुरुवात भयो भने सबै भन्दा पहिले ६०१ को टाउको फुट्नेछ भन्ने हेक्का बेलैमा राखे तिमीहरुको पनि भलो नै होला ।

हिजो आफ्नो लोकप्रियताका लागि जातीयताका आधारमा सङ्घीय राज्यको नामकरण गर्नेछौँ भनेकाले आज घाटीमा हड्डी अड्केको जस्तो भएको छ कि छैन ? यदि तिमीहरु सच्चा राजनीतिज्ञ हौ भने तिमीहरुलाई थाहै छ होला – धर्म र राजनीति एकदमै फरक विषय हुन् भन्ने कुरा । आफ्नो स्वार्थसिद्धि गर्नका लागि धर्मलाई हतियार बनाउनु तिमीहरुको ठूलो भुल हो । देश सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको मौका छोपेर धर्मनिरपेक्षताको कुरालाई ठूल्ठुलो स्वरमा चर्का भाषणहरु गरेर आफ्नो स्वार्थपूर्ति र राजनीतिक आधार निर्माण गर्नका लागि तिमीहरुले चालेको चाल बाहेक केही होइन । के यत्ति कुरा नेपाली जनताले बुझेका छैनन् ?

नेपाली जनतालाई सहज रुपमा ग्यास दिन नसक्ने शासकहरुले सबै धर्म र जातिका नेपालीहरु एक भएर बसिरहेको बेला मुखमा रामराम र बगलीमा छुरा बोकेर प्रहार गर्न पाइँदैन । आज देशको लागि आवश्यक जनशक्ति मलेसिया र खाडीमा दिनमा १५५० का दरमा पलायन भइरहेको छ । यसलाई रोकेर आफ्नै देशमा रोजगारी दिनतिर पाइला चाल्नुपर्नेमा धर्म र जातको कुरामा विद्रोह गराएर आपसमा काटमार गर्ने कार्यको सुरुवात गर्न पाइदैन । देशमा विकासले किन फड्को मार्न सकिरहेको छैन’ भन्ने प्रश्न गर्दा ‘देश संविधानविहीन छ’ भन्ने सहज उत्तर आउ“छ महासयहरुबाट । खोलाको किनारमा बालुवा बेचेर खानेहरुलाई संविधान आए पनि नआए पनि के फरक पार्छ ? साउदी अरबको ५५ डिग्रीको तातो घाममा रगतलाई पसिना बनाएर बगाउनेहरुलाई शीतलता दिनसक्ला र संविधानले ? जसरी रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेवा दिइरहेको छ ।
हिजो देखि आजसम्म र आजदेखि भोलिसम्म पनि यो देशमा राज गर्ने तिमीहरु नै हौ । किनकि कर्णालीका भेडी गोठहरुमा बस्ने गोठालाहरुलाई तिमीहरुले कदापि मन्त्री बनाउने छैनौ । आज दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक भनेर परिभाषित गरिएकाहरुले के पाएका छन् ? अनि देशलाई धर्मविहीन बनाएपछि क–कसको के–के प्रगति भयो ? खै त २०६३ देखि अहिलेसम्म सबै उस्तै छ । अपवादको रुपमा केही प्रगति भयो भने तिमीहरुका घरमा विदेशी डलरको बास भयो होला ।
त्यसैले देश धर्मनिरपेक्ष होइन सर्वधर्म सापेक्ष हुनुपर्छ । यदि नेताहरुले यसलाई मनन गरेनन् भने सम्पूर्ण सचेत नेपाली जनताहरु एकजुट भएर संसद भवनको सट्टामा खुला आकाशमुिनबाट यसको घोषणा गर्न आवश्यक छ । सर्वधर्म सापेक्ष भएन भने भोलि फेरि अर्को आन्दोलनबाट देश हिन्दू धर्म सापेक्ष हुनेछ । अन्यथा धार्मिक युद्धले जातीय युद्ध र जातीय युद्धले गृहयुद्ध निम्त्याउनेछ । यसो हुन नदिन धर्म निरपेक्षता भनेको के हो ? यसको अर्थ सबै नेपालीहरुलाई बुझाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।