0 COMMENTS

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।

उनले भने, ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्‍यो भनेर हप्काउने र तर्साउने काम गरिँदैछ । यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।’

बिहीबारदेखि राजधानीमा सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म जन्मदा प्रधानमन्त्री नै भएर जन्मिएको होइन र मर्दा पनि यही पद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रधानमन्त्री भएको हुँ । अहिले मलाई कमाउनु छैन । भ्रष्टाचार पनि गर्नुछैन । देश बनाउने समय पाएको छु । जतिदिन प्रधानमन्त्री हुन्छु, २४ सै घन्टा देश विकासमा लाग्छु ।’

ओलीले आफूले अति नै अप्ठ्यारो अवस्थामा प्रधानमन्त्री पद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको जीकिर गरे ।

नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्गित गर्दै प्रधानमन्त्री ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे । उनले भने, ‘तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।’

प्रचण्डलाई जवाफ- ‘काँध फेर्ने कुुरा नगर’

प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको बताए ।

उनले प्रश्न गरे, ‘सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।’

प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु हुन्छ भन्दै आफूले विनियोजन नभनी छर्नु भनेको स्पष्ट पारे । ‘पैसा पोको पारेर कहाँ विकास हुन्छ ? शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा पैसा पोको पारेर राखेर देश विकास नहुने भन्दै चर्चा गर्दै लगानी गरे पो प्रतिफल आउँछ, भने ।

उनले विगतका सरकारलाई तरकारी बारीको बुख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाए । ‘बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।