0 COMMENTS

सन्तोषकुमार गुप्ता । जेठ १८, दाङ । दाङमा नेकपा एमाले फुट्को संघारमा पुगेको छ । एमाले दाङमा विवाद चुलिएसँगै जिल्ला समिती फुट्को संघारमा पुगेको हो । नेकपा एमाले जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीको समूहले समानन्तर जिल्ला समिती गठन संगै पार्टी फुटको संघारमा पुगेको छ ।

नेकपा जिल्ला कार्यवाहक अध्यक्ष जोगबहादुर रानामाथि कारबाही गरिएको समाचार सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीमाथि कारबाही भएको अर्को समाचार सार्वजनिक भए पछि दाङ्गमा नेकपा एमालेका कार्यकार्ताहरु दुई धारमा देखिएका छन् ।

आइतबार जिल्ला सचिव हुकुम बस्नेतको अध्यक्षता एवं केन्द्रीय सदस्य तथा राप्ती ईञ्चार्ज खेममान खड्काको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्ला कार्यवाहक अध्यक्ष जोगबहादुर रानालाई कारबाही गरी सचिव बस्नेतलाई कार्यवाहक अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो । यो समाचार सार्वजनिक भए सँगै सोमबार जिल्ला पार्टी कार्यालय घोराहीमा बसेको बैठकले जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीलाई कारबाही गरी जिम्मेवारीमा व्यापक फेरबदल गरेको समाचार आएको छ । जिल्ला कार्यवाहक अध्यक्ष जोगबहादुर रानाको अध्यक्षता एवं पोलिटव्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता एवं जिल्ला ईञ्चार्ज मेटमणि चौधरीको विशिष्ट आतिथ्यतामा बसेको बैठकले जिल्ला कमिटीमा रिक्त पदमा सदस्यहरु थप गर्ने, सचिवालय विस्तार र पार्टी विरोधी गतिविधि गर्नेलाई कारबाही गरेको बैठकपछि प्रचार विभाग प्रमुख श्याम डाँगीले जानकारी दिनुभयो ।

बैठक स्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख डाँगीले एमाले दाङले गरेका निर्णयहरु सुनाउनु भएको थियो । जिल्ला कमिटीमा रहेका पूर्ण सदस्य ६७ मध्य ४६ जना र बैकल्पिक सात जना गरेर कुल ५३ जनाको उपस्थिति रहेको जानकारी दिँदै प्रचार विभाग प्रमुख डाँगीले जिल्ला कमिटीको बैठकबाट जिल्ला सचिवालयमा सात जना र जिल्ला कमिटीमा २८ जनालाई थप गरिएको जानकारी दिनुभयो । थपिएको समेत गरेर नेकपा एमाले दाङ जिल्ला कमिटी एक सय १५ सदस्यीय भएको छ ।

बैठकले नेकपा एमाले दाङका सचिवालय सदस्य एवं क्षेत्र नं. ४ का ईञ्चार्ज मनोहर बुढाथोकीले पार्टी हित बिपरित गुटबन्दी गर्दै हिडेको भन्दै दुई वर्षका लागि साधारण सदस्य समेत नरहने गरेर निलम्वन गर्ने निर्णय गरेको छ । केही दिन अघि बसेको सचिवालयको बैठकले लिखित रुपमा स्पष्टिकरण सोध्ने निर्णय गरेपछि सोधिएको स्पष्टिकरणको जवाफ नदिएर उल्टै पार्टीलाई बदनाम गर्ने गरी गतिविधि गरेको भन्दै बुढाथोकीलाई सोमबारको बैठकबाट निलम्वन गर्ने निर्णय गरिएको बताइएको छ । बैठकले सुरामणि बेल्वासे, शरद अधिकारी, मानवहादुर विक, नेत्रमणि लामिछाने, भुपवहादुर केसी, सीमा न्यौपाने र शान्ता चौधरीलाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।

यस्तै क्षेत्र नं. १ को इञ्चार्जमा कुलबहादुर केसी र सह इञ्चार्जमा निर्मला घिमिरेलाई जिम्मेवारी दिएको छ । बैठकले क्षेत्र नं. २ को ईञ्चार्जमा शान्ता चौधरी र सह इञ्चार्जमा डम्मर पुनलाई जिम्मेवारी दिएको छ । क्षेत्र नं. ३ को इञ्चार्जमा अमर ओली र सह इञ्चार्जमा खिमबहादुर केसी हुनुहुन्छ, भने क्षेत्र नं. ४ को इञ्चार्जमा देवराज विश्वकर्मा र सह इञ्चार्जमा अमर खड्कालाई जिम्मेवारी दिएको छ । बैठकले क्षेत्र नं. ५ को इञ्चार्जमा सावित्रा विकलाई र सह इञ्चार्जमा चुर्ण वलीलाई जिम्मेवारी दिएको छ ।

यता बस्नेत समूहले पार्टी जिल्ला कमिटिको बैठकका नाममा आएको समाचारप्रति आपत्ती प्रकट गरेको छ । जिल्ला कार्यवाहक अध्यक्ष हुकुम बस्नेतले जिल्ला कमिटीको बैठकका नाममा पार्टीको काममा खटिइरहेका नेताहरुलाई कारबाही एवं जिम्मेवारी मुक्त गरेर पार्टीलाई गुटको भड्खालोमा लैजान खोजेको आरोप लगाउनुभयो । आफ्नो अध्यक्षतामा आइतबार बसेको बैठकमा ४८ जना सदस्यहरुको उपस्थिति रहेको भन्दै उहाँले बहुमतले गरेको निर्णयलाई कार्यान्वयनको पाटोमा लैजान आग्रह गर्नुभयो । ‘आइतबारको बैठकमा सहभागी जिल्ला कमिटीका साथीहरुलाई अपहरणको शैलीमा रातारात घोराहीमा जम्मा गरेर बैठक बसिएको छ । बैठकमा सहभागी केही साथीहरु हस्ताक्षर नगरेर फर्कनुभएको छ’, कार्यवाहक अध्यक्ष बस्नेतले भन्नुभयो, ‘जसको यथार्थता पत्रकार सम्मेलन गरेर बाहिर ल्याउँछौं ।साभार साझा सवाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।