0 COMMENTS

नवलपरासी, १७ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ ।

मनिषाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
मनिषाको शवको परीक्षण रिपोर्ट अझै लिखितरुपमा जिल्लामा नआएका हुँदा घटनाको प्रष्ट जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रकृतिले घटनाको वास्तविकता पत्ता लगाउन अझै दुई साता लाग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मनिषाको प्रेमी आशिषको पोलिग्राफ परीक्षण आज
मनिषाको हत्यामा भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरिँदै छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आउने विज्ञ टोलीले प्रहरी नियन्त्रणमा रहेका आशिषको दिउँसो पोलिग्राफ परीक्षण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

पोलिग्राफ परीक्षण प्रविधिअन्तर्गत पोलिग्राफ मेसिनले शरीरका अङ्गको प्रतिक्रियाका आधारमा झुटो बोलेको वा साँचो बोलेको पत्ता लगाउन मद्दत पुग्दछ । पोलिग्राफको रिपोट आउन एक दुई दिन लाग्छ प्रहरी उपरीक्षक चौधरीले भने, ‘पोलिग्राफको रिपोट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने छ ।’

प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने पोलिग्राफ मेसिनबाट मनिषाको मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।