काठमाडौं, १० जेठ । १० माओवादी घटक मिलेर बनेको नेकपा (माओवादी केन्द्र)मा सुरुमै भागबन्डालाई लिएर किचलो देखिएको छ । आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा पदीय भागबन्डामा विवाद भएको छ ।
जम्बो महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा स्थान अभाव भएको भन्दै बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक बोलाएको थियो । नेताहरूले भागबन्डाका लागि फरक–फरक प्रस्ताव राखेपछि विवाद बढेको स्रोतले जनाएको छ ।
विवाद बढेपछि बैठक सोमबारका लागि सारिएको छ । नेताहरूले भने गृहकार्य नपुगेकाले बैठक सरेको जानकारी दिएका छन् । बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले एक पदीय वा बहुपदीय कुन विधिमा जाने भन्ने विषयमा मतभेद भएका कारण बैठक सारिएको स्वीकार गरे ।
‘कार्यविभाजन एक पदीय वा बहुपदीय प्रणालीमा गर्ने भन्ने विषयमा केही मतभेद भएको छ,’ प्रवक्ता शर्माले भने । महाधिवेशन आयोजक समिति ६९९ बनाउने भनिए पनि तत्काल ५९९ जनाको नाम सार्वजनिक गरेर अघि बढ्ने तयारी छ । बैठकमा नेताहरूले फरक–फरक प्रस्ताव राखेपछि अध्यक्ष पुष्पकमल दाहालले थप गृहकार्य गरेर कार्यविभाजन गर्ने बताएको शर्माले जानकारी दिए ।
बहुपदीय विकल्पमा अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू र कोषाध्यक्षसमेत रहने गरी पोलिटब्युरोको संरचना निर्माण गर्ने प्रस्ताव छ । एकपदीय प्रणालीअन्तर्गत अध्यक्ष, कार्यालय र पोलिटब्युरोसहितको संरचना प्रस्ताव गरिएको कारोबार दैनिकमा समाचार छ ।