सुर्खेत १० जेष्ठ / बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ । जाँचका लागि तयार हुनु ।’ धमिलो बनेको संसार छर्लङग देख्न पाइने आशा बोकेर उनी गत वर्ष जेठ २८ गते सरस्वती माविको शिविरमा पुगे ।
आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारी लेख्छन् –प्रारम्भिक जाँचका क्रममा उनको बायाँ आँखामा मोतीबिन्दुको संक्रमण देखियो । सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम बाँकेअन्तर्गतको टोलीले उनलाई शल्यक्रियाका लागि वीरेन्द्रनगर बोलायो । आँखा खुल्ने भएपछि तुलबहादुरमा खुसीको सीमा रहेन । आँखा अस्पतालमा शल्यक्रिया गरेको तीन दिनपछि उनी घर फर्किए । पाँच दिनपछि पट्टी खोलियो । ‘टाउको दुख्ने, रिंगटा लाग्ने समस्याले गर्दा बेहोस हुन थालेपछि आत्तिँदै भोलिपल्टै शिविरमै पुगेँ,’ ६९ वर्षीय तुलबहादुरले भने, ‘अप्रेसनको लापरबाहीले ज्योति गुमेछ । आँखा फुटेछ ।’
नेपालगन्ज मेडिकल कलेजका डा। प्रदीप बास्तोला नेतृत्वको टोलीले तुलबहादुरसहित ८५ जनाको शल्यक्रिया गरेको थियो । शल्यक्रिया विफल भएका १७ जनालाई सुर्खेत आँखा अस्पतालले कैलालीको गेटा अस्पतालमा रिफर पनि गर्यो । ‘त्यहाँ जाँच्दा रगत निस्कियो । अप्रेसन गरेको नौ दिनपछि आँखाको नानी खस्यो,’ तुलबहादुरले भने, ‘त्यसपछि आँखा खुल्ने आशा तुहियो । सर्वस्व गुमेझैं पीडा भएको छ ।’
कल्याण–५ हिलेसोतका रत्नबहादुर वलीको पनि वीरेन्द्रनगर शिविरमै शल्यक्रियापश्चात् आँखा फुटेको छ । शल्यक्रियामा बिग्रेको आँखाको ज्योति फर्काउन गेटा अस्पतालदेखि भरतपुरसम्म पुगे । तर, सफल भएनन् । टाढा नदेखिने समस्याबाट मुक्ति पाउन उपचार गराएका रत्नबहादुरले पनि अन्ततस् ज्योति मात्र होइन, सिंगै आँखा गुमाए । ‘राम्रो होला भनेको यस्तो भयो,’ केही दिनअघि आँगनमा छामछुम गरिरहेका वलीले कान्तिपुरसित भने, ‘भरतपुरका डाक्टरले जाली फुटेछ भनेपछि त आसै मारेर फर्किएँ ।’ त्यसपछि उनले देखावटी सुन्दरताका लागि कृत्रिम आँखा हालेका छन् । नदेखिने ।
सुर्खेत आँखा अस्पतालले आयोजना गरेको शिविरमा कल्याण, दशरथपुर र लेखफर्सा गाविसका गरी ८ जनाले त्यतिबेला आँखा गुमाए । शल्यक्रिया बिग्रेका सबैलाई अस्पतालले कैलाली रिफर गरेको थियो । दशरथपुरका गंगबहादुर दर्लामी अप्रेसन गरेकामा अहिले पछुताउँछन् । ‘यस्तो हुने भए अप्रेसन गर्थिनँ । आँखा गुमेपछि डाक्टरले नक्कली आँखा राख्छौं भन्थे । मैले मानिनँ,’ दर्लामीले दुखेसो पोखे, ‘अनाहकमा अन्धकारमा धकेल्नेलाई कतैबाट कारबाही भएन ।’