0 COMMENTS

maoist-unity-750काठमाडौं ६,जेष्ठ । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि बनेको एकीकृत नेकपा माओवादी विहीबारबाट औपचारिक रुपमै विलिन भएको छ । शान्ति प्रक्रियामा आएसँगै विभाजित भएका माओवादी समूहरुसँग एकता घोषणासँगै एमाओवादी विलिन भएको हो ।

विभाजित माओवादी समूहहरुको एकतापछि नेकपा माओवादी केन्द्र बनाइएको छ । झण्डै ६ सय सदस्य रहेको एकतापछिको केन्द्रीय समितिको अध्यक्ष भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बनाइएको छ ।

पहिलो संविधानसभाको निर्वाचन लगत्ते जब नारायणकाजी श्रेष्ठ प्रकाशसँग एकता गरी एकीकृत नेकपा माओवादी बनाइयो, त्यतिबेला नै माओवादीका मधेसका हस्ती मानिने मात्रिका यादव एकीकृत पार्टीमा गएनन् । उनले पुरानै माओवादीलाई पुनर्गगठन गरेको भन्दै नेकपा (माओवादी)को संयोजक बने । मात्रिकाजस्तै अर्का माओवादीका अर्का नेता सांस्कृतिक फाँटका धरोहर मणि थापा पनि एकीकृत पार्टीमा रहेनन् ।

शान्ति प्रक्रियाको लामो समयसम्म एकै ठाउँमा रहेका रामबहादुर थापा बादल भने चार वर्षअघि ०६९ असार ४ गते मोहन वैद्य ‘किरण’सँगै एमाओवादीसँग सम्बन्ध विच्छेद गरेका थिए ।

एमाओवादीसँग अलग भएका वैद्य–बादलले नेकपा ड्यास माओवादी बनाए । वैद्य नेतृत्वको ड्यास माओवादीले दोस्रो संविधानसभा बहिष्कार मात्र गरेन, संविधानसभाको निर्वाचन नै विथोल्न हरसम्भव प्रयास गर्यो । तिनै बादल हुन्, जसले दोस्रो संविधानसभाको निर्वाचनमा हम्मर उठाएर सांकेतिक रुपमा मतपेटिका फोडेका थिए ।

एमाओवादीले गरिखाँदैन भन्दै क्रान्ति गर्नुपर्ने हुँकारका साथ वैद्यबादलसँगै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैद्यसँग पनि पुनः दुई वर्षपछि नै डिभोर्स गरे । ०७१ मंसिर ८ गते बुद्धनगरस्थित माओवादी कार्यालय गएर विप्लवले ड्यास माओवादीका अध्यक्ष वैद्य र तत्कालिन महासचिव बादल डिभोर्स पत्र बुझाए थिए ।

विप्लवले वैद्य माओवादी छाडेपछि माओवादी आन्दोलनकी महिला नेतृ जयपुरी घर्ती पनि निश्क्रिय बनिन् ।

माओवादी विभाजनसँगै केही एकता पनि हुने गरेका थिए । ०७२ कार्तिक २२ मा वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा(एकीकृत)बीच पार्टी एकता गरियो । पार्टी एकतापछि ड्यास माओावादी नेकपा नेकपा क्रान्तिकारी माओवादी बन्यो ।

परि थापासँगको एकतापछि वैद्य माओवादीले एमाओवादीसँग पनि एकता गर्ने निर्णय लियो । जसका लागि वार्ता टोलीहरु बने र संवादहरु गरिए । एकताकै लागि निर्णय गर्न भन्दै गएको चैत १२ देखि २८ गतेसम्म केन्द्रीय समिति बैठक नै बस्यो ।

तर वैद्यले विचारमा एकरुपता नआएको भन्दै एकतामा जान अस्वीकार गरेपछि बादलले फरक मत राख्दै एकतामा जाने निर्णय गरे । गत जेठ १ गते बादलले नै केन्द्रीय समिति बैठक बोलाएर आफ्नो संयोजकत्वमा बहुमतको निर्णय भन्दै नेकपा क्रान्तिकारी माओवादी पुनर्गठनको घोषणा गरेका थिए ।

बादलको सोही समूह पनि विहीबार गरिएको माओवादी केन्द्रमा समाहित हुँदै विलिन भएको छ । विभिन्न माओवादी समूहबीच पार्र्टी एकता घोषणा गरिए पनि वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादी भने फेरि पनि अस्तित्वमा रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।