0 COMMENTS

no-lightकाठमाण्डौ ५,जेष्ठ । संचालनमा रहेका ठूला जलविद्युत आयोजना क्षेत्रमा केही दिनदेखिको वर्षाका कारण पानीको सतह बढेर उत्पादन समेत बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिंग घटाउने तयारी गरेको छ ।

प्राधिकरणले हाल दैनिक ११ घण्टाको दरले गर्दै आएको लोडसेडिंग एकघण्टा घटाएर दैनिक १० घण्टा बनाउन लागेको हो । प्राधिकरण बोर्डका बुधबार बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी दैनिक १० घण्टा मात्र लोडसेडिंग गर्ने र सोही अनुसारको तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक मूकेशराज काफ्लेले बिजशालासँग कुरा गर्दै वर्षाका कारण नदी तथा जलाशयमा पानीको बहाब बढेको र यसले चालु अवस्थामा रहेका जलविद्युत केन्द्रहरुको उत्पादन क्षमता समेत बढेका कारण लोडसेडिंग घटाउने निर्णय गरिएको बताए । ‘पानीको बहाब बढेपछि विद्युत उत्पादन बढेको छ ।’ उनले भने–‘अहिले राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति थपिएकाले एकघण्टा भए पनि राहात दिने निर्णय भएको हो ।’

लोडसेडिङ घटाउने निर्णय भए पनि विगतमा अघोषित लोडसेडिङ गरेको भन्दै विद्युत प्राधिकरणको आलोचना हुँदै आएको थियो । प्राधिकरणले पनि अघोषित लोडसेडिङ गर्नुपरेको र यसका कारण लामो समयसम्मको खडेरी रहेको दाबी गरेको थियो । खडेरीका कारण पानी नपरेपछि नदी तथा जलाशयमा पानीको बहाब घटेको र यसले उत्पादन समेत घटाएपछि बाध्य भएर लोडसेडिंग बढाउनुपरेको प्राधिकरणका अधिकारीहरुले दाबी गर्दै आएका थिए ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार यो वर्ष यो अवधिको विद्युतको आन्तरिक उत्पादन गत वर्षको तुलनामा करिब दुई सय मेगावाट कम छ । यसले समेत चाहे जति लोडसेडिङ घटाउन नसकिएको उनको प्रष्टोक्ति छ । वर्षायाम सुरु हुने स्पष्ट संकेत देखिइसकेकोले पानीको बहाबसँगै उत्पादन पनि बढेपछि पुनः लोडसेडिंग घटाउने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।