0 COMMENTS

serdhan-raiकाठमाडौ, जेष्ठ ५ – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संघीय गठबन्धनले सुरु गरेको राजधानी केन्द्रीत आन्दोलनको कुनै तुक र औचित्य नभएको दावी गरेका छन ।

नयाँ शक्ति अनलाईन डटकमको बुधवार रिपोर्टर्स क्लब नेपालमा सुरुवात कार्यक्रममा उनले गठबन्धनको आन्दोलन आवश्यकता नभएकोले जनताको सहभागिता नरहेको भन्दै अन्तमा आन्दोलनबाट थाकेर बार्तामा फर्किन बाध्य हुने ठोकुवा गरे । मन्त्री राईले भने, ‘नाकाबन्दी गरेर जनतालाई दुख दिने गरी गरिएको आन्दोलनको तुक नदेखेर उहाँहरुले काठमाडौमा दवाव दिन आएको भन्नु हुन्छ । यस्तो आन्दोलनले दवाव नपर्न पनि सक्छ ।’

उनले सरकारलाई दवाव पुगेर नै संविधान संशोधन, सीमांकन मिलाउन राजनीतिक समिति र बार्ताकोलागि लिखित आब्हान गरेको स्पष्ट पार्दै आन्दोलनले संविधानको जग हल्लाउने र स्वाभिमान र स्वाधिनतामा प्रश्न उठाएकोले त्यसमा सरकार नझुेको दावी गरे ।

संविधानमा कुनै विभेद नभएको दावी गर्दै मन्त्री राईले अब पनि बार्तामा आएर समस्या समाधानमा नलागे सरकारले गठबन्धनको २६ बुँदे माग, संविधानमा त्यस सम्बन्धमा रहेको ब्यवस्था र सरकारले त्यसकोलागि गरेको कामको विवरण राखेर तथ्य सार्वजनिक गर्ने चेतावनी दिए ।

उनले संविधान पुर्नलेखनको कुरा अत्यन्तै खतरनाक भएको भन्दै यो जनताको अपमान भएकोले कुनै पनि हालतमा सम्भव नभएको ठोकुवा गरे । मन्त्री राईले भने, ‘यो कसैको कृपाले जारी भएको संविधान होईन । आन्दोलनकारीहरु संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्ने योजनामा छन । सरकारले यो चाहना कदापी पुरा हुन दिदैन । ’

उनले देश यथास्थितिमा रहने वा पछि फर्कन नसक्ने दावी गर्दै आन्दोलनले भ्रम र अन्यौला सृजना गरेको बताए । मन्त्री राईले सरकार संविधानको कार्यान्वयन, पुनःनिर्माण र स्थायित्व कायम गर्दै आर्थिक विकासको बाटोमा अघि बढी रहेको भन्दै आगामि बजेट पनि जनताको परिवर्तित चाहना अनुसार नै आउने स्पष्ट पारे ।

उनले संविधानको मर्म र भावना अनुसार सञ्चारमाध्यममा अकुंश, नियन्त्रण र हस्तक्षेप नगर्ने गरी जिम्मेवार, मर्यादित, ब्यवसायिक र जिम्मेवार बनाएर मुलुकलाई अघि बढाउने गरी सरकारले तयारी गरिरहेको भन्दै सञ्चारमाध्यमलाई विकास, समृद्धि र सुशासनसँग जोडेर अगाडि लिएर जाने बताए ।

अनलाईनका सल्लाहकार निर्मल भट्टराईले आफूहरुको अनलाईन नयाँ शक्ति अभियानसँग नाम मिले पनि यो त्यससँग सम्बन्धित नभई विशुद्ध जनतालाई सत्य तथ्य सूचना दिने उद्देश्यले सञ्चालनमा ल्याएको स्पष्ट पारे ।खरीबाेट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।