0 COMMENTS

काठमाडौं, वैशाख २७ – जलविद्युत् लगानी तथा विकास कम्पनीले साधारण सेयर जारी गरेको चार महिनापछि प्रमाणपत्र वितरण सुरु गरेको छ ।

जलविद्युत् क्षेत्रमा लगानी जुटाउनका लागि स्थापना गरिएको कम्पनीले गत पुस २९ गते सेयर बाँडफाँड गरेको थियो । प्रमाणपत्र छपाइलगायत अन्य प्राविधिक काम मिलाउनका लागि लामो समय लागेका कारण सेयर प्रमाणपत्र वितरणमा समस्या रहँदै आएको थियो । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गरी जुन स्थानबाट सेयर आवेदन गरिएको हो सोही स्थानबाट प्रमाणपत्र लिन आग्रह गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले कम्पनीको सेयरमा उत्साहपूर्वक सहभागी भएका सबै सेयरधनीले आफूले आवेदन गरेकै स्थानबाट सेयर प्रमाणपत्र लिन आग्रह गर्नुभयो ।

‘केही ढिलो भए पनि हामीले प्रमाणपत्र वितरण सुरु गरेका छौँ, आशा गर्छौं सबै सेयरधनीले विगतमा जस्तै कम्पनीलाई विश्वास गर्नुहुनेछ’ उहाँले भन्नुभयो । कम्पनीको सेयरका लागि न्यूनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । यस्तै ९० देखि ५०० कित्तासम्म आवेदन गर्नेलाई ११.४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले वितरण गरिएको थियो ।

कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्कासन गर्दा करिब २२ गुणा बढी अर्थात ४३ अर्ब रुपैयाँ बराबरको आवेदन भएको थियो ।

कम्पनीले हाल विभिन्न ११ वटा जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोलाई पनि अगाडि बढाएको छ । विद्युत् विकास विभागले समयमै अनुमति नदिँदा रेमिट हाइड्रोको काममा केही व्यवधान उत्पन्न हुँदै आएको छ । कम्पनीका अनुसार हालसम्म विभिन्न आयोजनामा रु आठ अर्ब बराबरको लगानी गरिसकिएको छ ।

सेयरधनीले प्रमाणपत्र लिन जाँदा आवेदनका क्रममा दिइएको अर्धकट्टी र नागरिकताको प्रतिलिपि पनि लैजानुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहायक बिक्री प्रबन्धकमा एनएमसी क्यापिटल मर्चेन्ट बैंकिङ र एनएमबी क्यापिटल लिमिटेड रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।