0 COMMENTS

Sakti-Basnetकाठमाडौं, २३ वैशाख । ‘पञ्चायतकालमा बनारसमा बिपीलाई भेटेर फर्किंदा हामीलाई सीमामै प्रहरीले पक्राउ गर्थ्यो, त्यतिबेलाको गुप्तचरी धेरै बलियो थियो,’ बुधबारको राज्यव्यवस्था समितिको बैठकमा कांग्रेस सांसद आनन्द ढुंगानाले भने, ‘तर, अहिले हतियार नै बोकेर हिँड्दा पनि कसैले चाल पाउँदैनन्, किन यस्तो कमजोर भयो हाम्रो देशको गुप्तचरी ?’

ढुंगाना मात्र होइन, धेरै सांसदहरूले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग कमजोर भएको भन्दै आलोचना गरे । विभाग राजनीतिक भर्तीकेन्द्र बनेको र देशको गुप्तचरी कमजोर हुँदै गएको सांसदहरूको भनाइ थियो ।

तीन दिनभित्र सुधार ल्याउने गृहमन्त्रीको दाबी

बैठकमा बोलाइएका गृहमन्त्री शक्ति बस्नेत स्वयंले पनि गुप्तचरले राम्रो काम गर्न नसकेको स्विकारे । तर, तीन तीनभित्र गुप्तचरलाई प्रभावकारी बनाउने एउटा योजना सुनाउन लागेपछि सांसदहरूको चासो बढ्यो ।

‘तपाईंहरू एउटा दबाब नदिनुस्, म तीन दिनभित्र गुप्तचरमा सुधार ल्याउँछु,’ मन्त्री बस्नेतले भने, ‘जुन जिल्लाको कर्मचारी हो, सोही जिल्लामा गुप्तचरका कर्मचारीलाई नराख्ने निर्णय गरियो भने मात्र पनि धेरै सुधार हुन्छ, तर तपाईंहरूले भोलिदेखि प्रेसर गर्न पाउनुहुन्न ।’

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू आफ्नै गृहजिल्लामा बसेर काम गर्ने, तर विभागको भन्दा अन्य काममा लाग्ने प्रवृत्तिले गुप्तचरी बलियो हुन नसकेको संकेत गर्दै उनले थपे, ‘यो निकै सानो कुरा हो, तर निकै ठूलो कुरा पनि हो ।’ तर, राजनीतिक दबाबले आफूले त्यस्तै विकृति रोक्न नसकेको उनको भनाइ थियो ।

‘राष्ट्रिय अनुसन्धान बिग्रिएर गुप्तचरी यस्तो भएको हो कि राजनीति बिग्रिएको हो, यसको गम्भीर ढंगले समीक्षा गर्नुपर्छ,’ अनुसन्धान विभागमा राजनीतिक दलको चलखेलप्रति संकेत गर्दै मन्त्री बस्नेतले व्यंग्य गरे । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।