प्रवास र स्वदेशका गरिखाने देशभक्त युवाहरुलाई गोलबन्ध गर्दै घनश्याम चम्लागाइको संयोजकत्वमा देशमा शान्ती, निकास, विकास र विचार मूल नारा सहित २०७१ साल फाल्गुन ४ गते सामाजिक संजाल फेसबुकबाट नै हामीले जनताको वास्तविक नयाँ शक्ती नेपाल स्थापित गरिसकेका छौं। साथै नयाशक्ती नेपाल स्थापना गर्ने क्रममा नै खाडीमा बस्न बाध्य युवाहरुको सहयोगमा नयाँ शक्ती नेपालले थुप्रै सामाजिक कार्यहरु पनि सम्पन्न गरिसकेका छ। सायद यहि कार्य Ngo, Ingo या पहुँचवाला संगठनले गरेका भए टेलिभिजन र पत्रीकाको भित्ताहरु रंगिदै देशैभर अतिरन्जित व्याख्या गरिन्थ्यो होला। तर नयाशक्ती नेपालले चुपचाप आफुले सकेको सामाजिक कार्य गरिरह्यो, गर्दै छ। यो नयाशक्ती नेपालभित्र न त कुनै हाई प्रोफाईलवालाहरु छन न त एकपटक देश लुटिसकेका, जनता चुसीसकेका पुराना अनुहार छन। यसर्थ हामी नै विशुद्ध नयाँ अनुहार, नयाँ विचार र नयाँ प्रकृयाकासाथ स्थापित भएको वास्तवमा जनताको अबको नयाँ शक्ती, नयाँ शक्ती नेपाल (घनश्याम) हौं ।
भनिन्छ, सत्य तीतो हुन्छ,र तीतो बोलिदिदा विद्वानहरुको मार्ग खुल्छ रे, मुर्खहरुमा क्रोध जन्मिन्छ रे, दृष्टीकोण अ-आफ्नै।
जब नयाँ संविधान २०७२ जारी भयो ततपश्चात देशमा च्याऊ उम्रे झै नयाशक्ती निर्माणका निर्माताहरु देखा पर्न थाले। प्राय ती नयाँ शक्ती निर्माताहरु विगतमा कुनै न कुनै रुपमा चर्चित ब्यक्तिहरु मध्यमा नै पर्छन, जस्तै राजनितिक बृतवाट. बाबुराम भट्टराई, स्वास्थ्य क्षेत्रबाट डा. उपेन्द्र देवकोटा, संचार जगतबाट रबिन्द्र मिश्र लगायत थुप्रै क्षेत्रमा नाम,दाम, बदनाम कमाएका ब्यक्तित्वहरु नयाँ शक्ती निर्माण गर्न अभ्यास गरिरहेको आम नेपाली जनताले देखिरहेकोछ, पाईरहेकोछ। आम सचेत जनताको आँखाबाट उहाहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक, नकारात्मक दुवै हुन सक्छ। यद्यपि उहाहरु तीनै जना यो राष्ट्रमा राम्रा भनिएका मध्यमा औशतमा कुनै समय जनताले आशा र भरोसा गरिएका ब्यक्तित्वहरु भने चाहिँ पक्कै हो तर आज त्यो स्थिती पनि रहेन।
डा.बाबुराम भट्टराई
डा. भट्टराईले दस बर्षे जनयुद्ध नेतृत्व गर्दै गर्दा प्राय सम्पुर्ण नेपालीले ठूलो आशा र भरोसा राखेकै हुन, यहि आशा र भरोसा कै कारण १७००० नेपालिले जीवन गुमाए, हजारौंले विधुवा, टुहुरा र निसन्तान बन्न पर्यो। हजारौं जनताका छोराछोरीले जिवनको महत्वपुर्ण समयमा बन्दुक बोक्न बाध्य भए आज तीनै युवाहरु खाडीमा पराईको गुलामी बन्न बाध्य छन। जनताले भरोसा संगै उहाँलाई प्रधानमन्त्री पनि बनाएकै हो, तर जनताको आशा र भरोसामाथी बिश्वासघात गर्नु भा कै हो। बरु उहाँ नमुछिए पनि उहाको नजदिकिहरु आर्थिक बेइमानमा मुछिएकै हो र त आज डा.साब सम्भ्रान्त नव धनाढ्यहरुको लाईनमा उभिनु भएको सत्य जनताको नजरबाट लुकेको पनि छैन। यदी उहाँ साँच्चै नेपाल र नेपालीप्रती जिम्मेवार हुनुहुन्छ भने आज यो देशलाई यो कठिन मोडमा उभ्याएर अलपत्र पारेर पुन: देशभित्रका असन्तुष्ट, भ्रष्ट्र, अवसरवादीहरु र डेट एक्स्पायर्डहरुलाई जम्मा पारेर मार्क्स, माओलाई धोका दिदै नयाशक्तिको नाटक मन्चन गर्नु हुदैन थियो। बरु आफ्नो मूलघरलाई सुदृढीकरण गर्दै पार्टी भित्रैबाट नयाशक्ति, नयापनको वैकल्पिक विकास गर्न सक्नु पर्थ्यो।
डा. उपेन्द्र देवकोटा
डा. देवकोटा अब्बल दर्जाको प्रशिद्ध चिकित्सक हुदा नै उहाँको उचित प्रशिद्धी र महत्व छ, यद्यपि देवकोटा जस्तो बौद्धिक ब्यक्तित्वले साँच्चै देशको चिन्ता गरिएको हो भने यो नकारात्मक भने निश्चय नै होइन।यद्यपि उहाँको प्रशिद्धी जनतामाझ पर्याप्त हुदाहुदै पनि उहाँ पनि समग्र जनताको नजरमा असल शासक, नेतृत्व हुन सक्छ भन्ने ग्यारेन्टी चाहिँ पक्कै छैन। देशमा जनताले उहालाई मुल्याङ्कन गर्ने एउटै मात्र आधार उहाको दक्षता र पेशा नै हो।तर पेशा कै कारण डा. देवकोटाप्रती पनि जनताको प्रशस्तै नकारात्मक टिप्पणी र भावना छ भन्ने सत्यलाई उहाँले भुल्नु हुदैन। किनभने एउटा गरीब नेपाली जीवन मृत्युको दोसाँधमा पुग्दा डा.साब कहाँ पुग्छ, उपचार हुन्छ, निको पनि हुन्छ, जब त्यो गरीब नेपाली जीवन लिएर घर पुग्छ, तब साहुले उसको घरबास खाईदिन्छ, अनि त्यो गरीब नेपाली भन्न थाल्छ, हरे! म मरेकै बेस हुन्थ्यो, म मरेको भए कम से कम मेरो सन्ततीले घरबास विहिन त हुनु पर्दैनथीयाे। हुन त उहाको पनि ब्यवसाय हो, तर ब्यवसायमा पनि जीवन बचाउने नाममा ब्रम्हलुट छ भन्ने जनताले बुझेर या नबुझेर यो आरोप त लगाएकै छन।
रबिन्द्र मिश्र
एउटा चर्चित, सफल, प्रशिद्ध, सचेत पत्रकारले देश र जनताको बिषयमा चासो राख्नु, देखाउनु यो अत्यन्त सकारात्मक पक्ष हो। यद्यपि उहाँ जुन तरिकाले नयाशक्ती निर्माणमा लाग्नु भएको छ यसरी यो सम्भव छैन। कागजमा, मिडिया र सामाजिक सन्जालको वालमा सिद्धान्त, प्रकृया लेखेर, भनेर, सम्भ्रान्त हाई प्रोफाईलवालाहरुलाई तारे होटलमा जम्मा गर्दैमा नयाशक्ती बन्दैन यो त केवल कुरा रोपेर कुरा फलाएर नगदमा परिणत गर्ने उत्तम कला मात्र हुन सक्छ।
यहाहरुले सकारात्मक या नकारात्मक जुन भावले हेरे पनि यो एउटा सानो ऐना मात्र देखाउने प्रयाश गरिइएको हो। तथापी उपरोक्त तीनै जना ब्यक्तित्व जनताको दृष्टीमा हाई प्रोफाईल मात्र नभएर केही त्यान्द्रो मात्र भए पनि आशाको केन्द्र पनि हो भन्दा अझै फरक नपर्ला तर नयाँ शक्ती नै भन्न सकिन्न, यो त गुमेको राजनितिक बिरासत फिर्ता गर्न या राजनितिक महत्वकांक्षा पूरा गर्ने एउटा बहाना मात्र हो भन्न सकिन्छ। किनभने नयाँ शक्ती बन्न त नयाँ विचार, नया प्रकृया र सम्भव भए अनुहार पनि नयाँ हुनु जरुरी छ। जुन सर्तहरु प्रवासी र स्वदेशि युवाहरुद्वारा स्थापित नयाँशक्ती नेपाल(घनश्याम)ले पूरा गरेको छ। किनभने यसको प्रकृया फरक छ। नयाशक्ती नेपाललाई आउने सहयोग प्रवासी युवाको पसीना हो, जसको हिसाब किताब दातालाई बुझाउनु पर्छ। तर तपाइको सहयोगको श्रोत भ्रष्ट, कालोबजारी या विदेसिको हुन सक्छ, जसको तपाईले कसैलाई हिसाब बुझाउनु पर्दैन। यसको भेला छलफल या तायारी गर्दा अभियन्ताहरुले घरको पिठो खाएर पाटीमा, चौतारोमा, या सडकमा गर्छन तर तपाईको भेला, गोष्ठी, सेमिनार तारे होटल या महँगो रेस्टुराँमा हुन्छ। यसको वरिपरि पुर्णत गरिखाने देशभक्त सचेत युवाहरु छन तर तपाईको वरिपरि खाएर गर्नेहरु हाई प्रोफाईल, भ्रष्ट, कालाबजारी या स्वार्थ लिप्त बिदेसीहरु घुम्छन। सांच्चै तपाईं देश र जनताप्रती इमान्दार हुनुहुन्छ या साँच्चै नयाशक्ति चाहनु हुन्छ भने हामीलाई सहयोग गर्नुहोस। किनभने तपाईले तारे होटलमा गोष्ठी भेला गर्दा लाग्ने ५०००० ले हामी ५० जना असक्तहरुको मुहार उज्यालो बनाउन सक्छौ। तपाईको वरिपरि घुम्ने चुन्द्रे,मुन्द्रेले भट्टिमा खाने १००००ले हामी १० जना विपन्न बिद्यार्थिलाई कपि कलम पुर्याउन सक्छौं।
हामी यसमा पनि स्पष्ट छौ, कि हामिले यो अभियान नेता बन्न, शासक बनेर देश लुट्न चलाएको होइन। हामी नेता होइनौं, हामी अभियन्ता हौं। हामी यो देशमा शान्ती, निकास र विकास दिन सक्ने सक्षम, असल नेतृत्व स्थापित गर्न चाहन्छौं, त्यो असल नेतृत्व हिमालको खोंचबाट, पहाडको कन्दराबाट, मधेसको फाँटबाट, शहरको सम्पन्नताबाट वा आम जनताको माझबाट जो पनि हुन सक्दछ। तपाईहरुले साँच्चै देश र जनाताको लागि नै गर्न खोज्नु भए कै हो भने आउनुस हातेमालो गरौं, होइन भने धनतेज, बलतेज, बुद्धितेजको सहारा लिएर नेपाली जनतामा भ्रम नछरौं।