काठमाडौं, २१ वैशाख । मोस्ट वान्टेड सूचीमा रहेकै बेला डन गणेश लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन् । अपहरण मुद्दामा फरार रहेका लामा भूमिगतरुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्धको मुद्दा मिलाउन सक्रिय छन् ।
गत ११ चैतमा उनी गोप्यरुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन् । अदालतमा उपस्थित नहुँदा मुद्दा मिलाउन गाह्रो हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन् । लेनदेन विवादमा ललितपुरका एक जग्गा दलाललाई घरमा बन्धन बनाई जबर्जस्ती कागज गरेको घटनामा लामा फरार भएका छन् ।
कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्नसक्ने डरले उनी विदेशमा भागेका थिए । तर पछिल्लो समय उनी विजयकुमार गच्छेदारको आडका कारण काठमाडौंमा धाउन थालेका हुन् । कुमार घैंटेको इन्काउन्टरपछि अधिकांश समय भने उनी दुबईमा भागेका थिए ।
लामा मात्र होइन सबै डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् । चलखेलकै कारण उनीहरुविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दाको पेशी पटक पटक सर्दै आएको छ । अदालतमा मुद्दाको सबै प्रक्रिया पूरा भइसके पनि उनीहरुको पेशी दुई महिनायता सरेको सर्यै छ । दृष्टि साप्ताहिकमा खबर छ ।