0 COMMENTS

Alaichi-सोलुखुम्बु, १० वैशाख । गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् ।

विगतका वर्षहरुमा कात्तिक÷मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय व्यापारीलाई अलैँची जिम्मा लगाएका छन् ।

खेतबारी सबैतिर अलैँची खेती गरेका त्यहाँका कृषक बिक्री नहुँदा दैनिक गुजारा चलाउन समस्या भएको र चर्को ब्याजदरमा ऋण खोज्नुपरेको बताउँछन् । असोज महिनामा अलैँची टिप्दै गर्दा कृषकमा धेरै हौसला थियो । अलैँची कृषक भरत बस्नेत भन्नुहुन्छ – “गत वर्षको भन्दा बढी उत्पादन भयो, टिप्दै गर्दा प्रतिमन (४० किलो ) को रु एक लाख मूल्य पाउने चर्चा थियो, तर दसैँ पर्वको रौनकसँगै हाम्रो खुसी घट्दै गयो ।”

दसैँको केहीअघिसम्म गाउँमा प्रतिकिलो रु दुई हजार ३०० मा किनबेच हुन थालेको थियो । तर पछि बजारमा अलैँचीको मूल्य घटेको चर्चा भएपछि व्यापारीले कृषकबाट अलैँची खरिद गर्न छाडे । अहिले अलैँची कृषकको झुपडीमै थन्किएको कृषक रामबहादुर खड्का बताउनुहुन्छ ।

स्थानीय व्यापारी गोवद्र्धन बस्नेत अहिले चौलाखर्क र गोली गाविसमा गत वर्षको मूल्यअनुसार करिब रु सात करोड बराबरको अलैँची थन्किएको छ । अलैँची बेचेर घर बनाउने योजना बनाएका त्यहाँका कृषक बिक्री हुन नसकेपछि मारमा परेका छन् ।

भूकम्पका कारण झन्डै ९५ प्रतिशत घर भत्किएका गोली र चौलाखर्कमा मुस्किलले ३० वटा जति यहाँ घर निर्माण गरिएका स्थानीयवासी उदक बस्नेत बताउनुहुन्छ । अन्यले अलैँची बिक्री तथा सरकारले पुनःनिर्माणअन्तर्गत अनुदान दिने रकमको पर्खाइमा छन् ।

चौलाखर्क गाविसका सामाजिक परिचालक चुलबहादुर कार्की सरकारले पुनःनिर्माणका लागि सहयोग गर्ने भनिए पनि अहिलेसम्म कुनै कार्यक्रम नआएको बताउनुहुन्छ । “भूकम्पको भन्दा अलैँची बिक्री हुन नसकेको पीडाले बढी मारमा परेका छौँ” उहाँले भन्नुभयो ।

एक दशकदेखि चौलाखर्क र गोलीका कृषक अलैँची खेतीमा लागेका छन् । धान, मकै उत्पादन हुने खेतबारीमा उनीहरुले अलैँची रोपेका छन् । तर अहिले अलैँची बिक्री नहुँदा चामल किन्ने पैसा समेत नभएको उनीहरुको भनाइ छ । गत असोजमै बिक्री गर्न सुकाएर बोरामा पोको पारेको अलैँची झुपडीमै थन्किएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।