0 COMMENTS

Gyanendraकाठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भइसकेको बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीका नाममा शुभकामना मन्तव्य जारी गर्दै ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

‘स्वदेशको माटोमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भइसकेको छ,’ ज्ञानेन्द्रको शुभकामना मन्तव्यमा विज्ञप्तिमा भनिएको छ ।

साथै उनले मुलुकलाई हिन्दूराष्ट्र बनाएकोमा पनि घुमाउरो पाराले असन्तुष्टि जनाएका छन् । ‘स्वदेश हेरेर मात्र विदेश हेरौँ, स्वदेश चिनेरमात्र विदेश चिनौँ, स्वदेश मानेरमात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौँ यहि मेरो शुभकामना,’ विज्ञप्तिमा ज्ञानेन्द्रले भनेका छन् ।

पूर्वराजाको शुभकामनाको पूर्णपाठ:

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना ।

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,

२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपुगेका छौँ । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश-विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु ।

विक्रम सम्वत्ले मिति, तिथि र नेपाली संस्कृतिलाई जाडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौँ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दैछ । यसका लागि दक्षिण एसियाको भू-राजनीतिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहाँ थियौं, अहिले कुन स्थितिमा छौँ, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के-कस्तो महत्व र मान्यता छ अनि क-कसको कस्तो अर्गेल्याइँछ ? भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् ।

राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ति नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको छ ।

त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।

आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेरमात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यही मेरो शुभकामना ।

श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।