चैत ९ सल्यान । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन ।
देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे ।
प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशमा अस्थिरता कायम गरेर देशको प्रगति नहुने भएकाले यसको निकासका लागि पनि सहकार्य आवश्यक भएको बताए । उनले भने- “राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।
नेता नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल रहेको दाबी गर्दै चीन भ्रमण पनि उपलब्धिपूर्ण हुने दाबी गरे । उनले भने-“देशमा लामो समयसम्म रहेको नाकाबन्दी प्रधानमन्त्री भारत भ्रमणपछि खुलेको छ, उहाँको चीन भ्रमण पनि देशका लागि छिमेकीसँगको सम्बन्ध र उन्नतिका लागि उपलब्धिपूर्ण हुने छ ।
सरकारमा रहेको ठूलो दल एमाओवादीले मन्त्री फिर्ता बोलाउँदै छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता नेपालले भने-
यो सरकारले नै स्थानीय निकाय र संसद्को निर्वाचन गराउँछ, मैले पनि २२ दललाई मिलाएकै हो अहिलेको सरकारसँग पनि मिलाएर लैजान सक्ने क्षमता छ ।
सरकारमा त सङ्घीयता विरोधी, राजावादी, गणतन्त्रवादी मिलेर खिचडी भएको छ गणतन्त्रको कार्यान्वयनमा समस्या हुदैन भन्ने प्रश्नको जवाफमा नेता नेपालले सबैलाई मिलाएर लैजान सक्नु नै ठूलो कुरा भएकाले यसमा शङ्का नगर्न उनले आग्रह गरे ।